बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – गत वर्ष भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहारका विषयमा सुरक्षा निकायको छानविन प्रतिवेदनमा किटानी छ, ’उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने बचन, निर्देशन दिने प्रतिवादी धनीराम चौधरी, रेसम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुनुपर्ने अनुसन्धान तथा छानविन समितिको ठहरका साथ यो प्रतिवेदन पेस गरेका छौँ ।’

यो खबर आजको अन्नपूर्णमा दैनिकमा खबर छ । प्रतिवेदनले दोषी किटान गरी कैलाली जिल्ला अदालतमा मुद्दा चलाइएका यिनै अभियुक्त रेसम चौधरीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका बेला ताज प्यालेस होटलमा कुराकानी गर्नुभएको थियो । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले उच्च सुरक्षा घेरा पार गर्दै प्रधानमन्त्री दाहाललाई मञ्चमा भेटेर हात मिलाउँदै कुराकानी गर्नुभएको थियो । प्रतिवेदनले चौधरीलगायतका व्यक्तिले साम्प्रदायिक दंगा भड्काउने खालका अभिव्यक्ति दिई सर्वसाधारणलाई उक्साई हिंसात्मक उत्तेजना फैलाउने कार्य गरेका कारण कैलालीको जनजिवन नाजुक बन्दै गई थरुहट कार्यकर्ता हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयले भने चौधरीसँग ताज प्यालेस होटलमा भएको भेटघाटलाई ’आकस्मिक’ भन्दै प्रतिरक्षा गरेको छ । चौधरी गुप्त भेषमा एक्कासि प्रधानमन्त्रीसँग मञ्चमा देखिएका थिए । स्रोतका अनुसार उनीविरुद्ध अदालतमा दायर कर्तव्य ज्यान र हातहतियार डकैंती मुद्दा फिर्ता लिइदिन नयाँ दिल्लीमा कुराकानी भएको थियो । एक वर्ष अघि कैलालीमा सुरक्षाकर्मीसहित नौजनाको ज्यान जाने गरी भएको नरसंहार घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतबाट पक्राउ वारेन्ट जारी भएको छ । उनी यतिबेला प्रहरीको सर्बा्धिक खोजी सूचीमा छन् ।

मुद्दा चलेदेखि नै फरार उनको सुरक्षा निकायबाट व्यापक खोजी भइरहेको छ । थारुहट, थारुवान संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले भाला, तरबार, हसिया, खुकुरी, बन्चरो, दाउ, गुलेली, बोतल, ढुंगामुढालगायतका घातक घरेलु हातहतियार प्रहार गरी डिउटीमा खटिएका अञ्चल प्रहरी कार्यालय सेतीका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र डेढ वर्षको बालक टेकबाहदुर साउदको हत्या भएको प्रतिवेदनले औंल्याएको छ । बृहद छानविनसहितको उक्त प्रतिवेदन गत वर्षको असोज १ गते सुरक्षा निकायमा बुझाइएको थियो ।

उक्त घटनाका विषयमा छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले व्यापक छानविनपछि ३१ पृष्टको प्रतिवेदन सुरक्षा निकायमा बुझाएको थियो ।

तपाईको प्रतिक्रिया