शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – आइतवार टोकियोमा भएको अन्तर्क्रियात्मक पत्रकार भेलामा यहाँ क्रियाशील पत्रकारहरुले डायस्पोरिक पत्रकारिताका विविध पाटाहरुमा केन्द्रित रहेर घनिभूत छलफल गरेका छन् ।

नेपाल पत्रकार महासंघ जापानले आयोजना गरेको सो कार्यक्रममा करिव दुई दर्जनजति पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा डायस्पोरिक पत्रकारिताको महत्व, यसमा सुधार्नुपर्ने पक्षहरु, विद्यमान समस्या र समाधानका उपायहरु लगायतका बिषयमा पत्रकारहरुबीच अनुभव तथा बिचार आदान प्रदान गरिएको थियो ।

छलफल र समापन गरी दुई चरणमा विभक्त सो कार्यक्रममा प्रवासको पत्रकारितालाई मर्यादित बनाउन स्वयम पत्रकारहरु जिम्मेवार हुनुपर्नेमा सबैको जोड रहेको थियो । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रकी सदस्य पवन वर्षा शाहले पत्रकारिता आफैमा चुनौतीपूर्ण काम भएको र त्यसमाथि बिदेशको पत्रकारिता अझ जोखिमयुक्त रहेको विचार ब्यक्त गर्नुभयो । उहाँले अगाडि भन्नुभयो – ’हामी पत्रकारिता नै गर्न भनेर कोही पनि जापान आएका होइनौ यद्यपि यति धेरै साथीहरु स्वतःस्फुर्तरुपमा पत्रकारिता क्षेत्रमा लागिरहनुभएको छ, यो खुशीको कुरो हो, हामी बीचका कमीकमजोरीहरु सुधार्दै प्रवासको पत्रकारितालाई मिलेर थप मर्यादित र बिश्वसनीय बनाउँदै लैजानुपर्दछ ।’
fnj-c
यसैगरी नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले नेपाली समाजको रुपान्तरणमा चाहे घरबासको होस् या प्रवासको पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहने भन्दै त्यसकारण पनि पत्रकारहरु थप जिम्मेवार र सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । ’पत्रकारहरु फरक मान्छे हुन् उनीहरुले समाजलाई दिने सन्देशले अत्यन्त ठूलो अर्थ राख्दछ । मान्छेहरुको धारणामा एकाएक परिवर्तन ल्याईदिन सक्छ त्यसकारण पनि पत्रकारहरुले दिने सूचना सत्यतथ्यमा आधारित हुनुपर्दछ र पोजिटीभ हुनुपर्दछ’ – उहाँले अगाडि भन्नुभयो ।

अन्तर्क्रियात्मक कार्यक्रमको छलफलमा जापानमा क्रियाशील पत्रकारहरुबीच मेलमिलाप, एकता र सहकार्यलाई मजबुत बनाउँदै लैजानुपर्ने, पत्रकारहरुको दक्षता अभिबृद्धि गर्न र अपडेट गर्न समय समयमा छलफल, भेला र प्रशिक्षण जस्ता कार्यक्रमहरु आयोजना गरिनुपर्ने, प्रवासी पत्रकारिताले मुलुकको अर्थतन्त्रमा सघाउ पुग्ने भूमिका निर्बाह गर्नुपर्ने, प्रवासी पत्रकारितामा केही नयाँपनसहित बिकास गर्नुपर्नेमा जोड दिईएको थियो । कार्यक्रममा प्रवासी पत्रकारहरुको सक्रियताले गर्दा नै मुलुकमा ज्ञान, सीप र पूँजी भित्र्याउन सजिलो भएको, बिभिन्न क्षेत्रमा नेपालीहरु स्थापित हुन मद्दत पुगेको, हरेक नेपालीलाई कुनै न कुनैरुपमा सामाजिक अभियानमा जोडिन प्रेरित गरेको, नेपालीहरुका समस्या समाधानमा टेवा पुगेको लगायतका समीक्षा गरिएको थियो ।

कार्यक्रममा पत्रकारहरुबीच देखिएको समन्वयको अभावलाई हल गरिनुपर्ने, समाचार संकलन कार्यमा सहकार्य गर्ने संस्कारको बिकास गरिनुपर्ने, जापानका संघसंस्थाहरुको कार्यक्रममा पत्रकारहरुलाई अनिवार्य प्रेस पासको ब्यवस्था गरिनुपर्ने, समाचार लेखनशैलीमा नयाँ प्रयोग भित्र्याईनुपर्ने, नेपालीहरुका सफलताका कथा वा प्रोत्साहित गर्ने खालका फिचर लेखनलाई प्राथमिकता दिईनुपर्नेमा जोड दिइएको थियो । fnj-bमहासंघका अध्यक्ष मल्ले दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको सो कार्यक्रममा महासंघका सदस्य पूर्ण चलाउनेले स्वागत मन्तब्य राख्नुभएको थियो ।

अन्तर्क्रियात्मक पत्रकार भेला महासंघका उपाध्यक्ष बेलु थापाको सभापतित्वमा भएको थियो भने महासंघका सदस्य एवं कार्यक्रम संयोजक मोहन घले, सहसचिव कुमार मोक्तान र महासंघका सदस्य ऋृतुकुमार दुराले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा चेतन पौड्याल, बिनेश दुरा, प्रेमनारायण न्यौपाने, दिनेश सिलवाल, शान्त पहरी, फुर्बा शेर्पा, अर्जुन लामिछाने, मुक्तिबाबु सुबेदी, श्रवण सत्याल, संगिता कुँवर, उत्तम गौडेल, मोहन घले, राजन गौतम, पूर्ण चलाउने, ऋतुकुमार दुरा, कुमार मोक्तान, खड्ग गुरुङ, पेमानुरी शेर्पा, बिष्णुप्रसाद सुबेदी, गोकर्ण अधिकारी, रविन्द्र गोर्खाली लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो । *** fnj-a

तपाईको प्रतिक्रिया