शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्तान र इराक जानका लागि यसअघि लगाइएको प्रतिबन्ध हटाउन लागेको बताउनुभएको छ । उहाँले यसबारेमा सरकारले आगामी संसद बैठकमा निर्णय लिनेसमेत बताउनुभयो ।

suryaman-gurung

सोमबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा मन्त्री गुरुङ्गले अफगानिस्तान र इराक जाने प्रतिबन्ध खुलाउने खुलासा गर्नुभएको हो । ‘दुवै देशमा कामदार पठाउने कुरामा अत्यधिक दबाब आएको छ, सरकारले सम्भवत्ः अबको क्याविनेटबाट यसबारेमा निर्णय गर्छ, प्रधानमन्त्री स्वयमले पनि मलाई प्रस्ताव पेश गर्न भन्नुभएको छ’ उहाँले भन्नुभयो ।

अफगानिस्तान र इराकस्थित अमेरिकी, बेलायतलगायतका दूतावासमा नेपाली कामदार पठाउन काठमाडौं स्थित अमेरिकी र बेलायती राजदूतले प्रधानमन्त्रीलाई भेटेरै दबाब दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उहाँहरुले हाम्रो प्रधानमन्त्रीसँग भेटेर यस्तो दबाब दिनुभएको छ, त्यतिमात्रै होइन नेपाली कामदारहरुको पूर्ण सुरक्षाको प्रत्याभुति गर्छौं भन्नुभएको छ, त्यसैले सरकारले चाँडै प्रतिबन्ध फुकुवा गरेर कामदार पठाउने प्रक्रिया खुलाउँछ ।’

उहाँले रेड जोनबाट ग्रिनजोनसम्म पुर्याउनको लागि उनीहरुले बुलेटप्रुफ साधनको व्यवस्थागर्ने समेत प्रतिबद्धता जनाएको बताउनुभयो । त्यस्तै उहाँले अहिले पनि कतिपय नेपाली कामदारहरुले टिकट काटेर बसेको भन्दै स्वयम नेपालीहरुबाट समेत दबाब आएको स्पष्ट पार्नुभयो ।

उहाँले म्यानपावर व्यवसायमा देखिएको विकृति विसंगतिहरु हटाउनको लागि आफूले सुधारको कार्यक्रमहरु ल्याउन लागेको जनाउनुभयो । ‘यो क्षेत्रलाई सुधार गर्न र सक्षम र सवल बनाउनको लागि म नयाँ सुधारका कार्यक्रमहरु ल्याउन गइरहेको छु’ उहाँले भन्नुभयो ।

मन्त्री गुरुङ्गले फ्रि भिसा फ्रि टिकटको नाममा कसैले मोटो रकम लिएको थाहा पाए त्यसलाई कडा भन्दा कडा कारवाही गर्ने समेत चेतावनी दिनुभयो । ‘फ्रि भिसा, फ्रि टिकट भन्ने अनि १० हजारको रसिद बनाउने, तर भित्रभित्रै २ लाखसम्म लिने गरेको कुरा बाहिर आएको छ, त्यस्तो गरिएको थाहा पाए म कुनै हालतमा छोड्दिन, कडा कारवाही गर्छु’ उहाँले भन्नुभयो, ‘मलाई प्रलोभनमा पार्ने गरि कुनै प्रस्ताव आयो भने वा पैसाको विटो लिएर कोही आए भने म पत्रकारहरलाई खबर गर्छु ।’

तपाईको प्रतिक्रिया