बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

चितवन – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । दुर्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्यार्इं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो ।

त्यस क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी घटनास्थलको अवस्था र खोजी कार्यको बारेमा जानकारी गराउनुभएको थियो । सो क्रममा प्रधानमन्त्री दाहालले मन्त्री लेखकसँग बङ्गलादेशमा पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउने गोताखोर भएको आफूले सुनेको बताउँदै त्यसलाई झिकाउन कूटनीतिक पहल गर्ने बताउनुभयो । अन्य स्रोतसाधनका विषयमा पनि उच्च सुरक्षा निकायसँग तत्काल छलफल गर्ने प्रधानमन्त्रीले बताएको लेखकले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले भैसालोटन ब्यारेज बन्द गरेर त्यो क्षेत्रसम्म खोजी कार्यलाई तीव्रता दिन स्थानीय सुरक्षा निकायलाई निर्देशन दिनुभयो । मन्त्री लेखकले स्थानीयस्तरमा खोजी कार्यका कुनै विशेषज्ञ छन् भने खोज्न आग्रहसमेत गर्नुभयो । मन्त्री लेखकले दुर्घटनास्थलमा भाँचिएको रेलिङ तत्काल मर्मत गर्न निर्देशन दिनुभयो । उहाँले त्रिशूली नदी तटीय क्षेत्रमा अत्यधिक दुर्घटना बढेको भन्दै उच्च जोखिम क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

घटनास्थलको निरीक्षण गर्न आउनुभएका मन्त्री लेखकले त्रिशूली नदी तटीय क्षेत्रलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर भएको भन्दै यस विषयमा मन्त्रिपरिषद्मा पनि छलफल हुने बताउनुभयो । बाटोमा सवारीसाधन बिग्रिएर सडक अवरुद्ध हुने र दुर्घटना बढाउने भन्दै यो क्षेत्रमा एउटा क्रेन राखेर बिग्रिएका सवारी तत्काल हटाउने व्यवस्था गर्न पनि उहाँले निर्देशन दिनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नदीको २५ मिटर गहिराइसम्म गएर खोजी कार्य गरिएको बताउँदै त्योभन्दा पनि गहिराइमा जाने प्रविधि र जनशक्ति आफूहरुसँग नभएको जानकारी दिनुभयो ।

तीनवटा डुङ्गा र एउटा रयापटिङ प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी खोजी कार्यमा जुटिरहेका छन् । मध्याह्न १२ बजेसम्म बेपत्ता तीनजना र गाडी पत्ता लगाउन सकिएको छैन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उहाँका तीन दाजुभाइ आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस– ३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता हुनुभएको थियो । प्रजिअ विनोदप्रकाश सिंहका अनुसार गएराति १ः३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि बिहान ५ः३० बजेबाट पुनः खोजी कार्य जारी राखिएको छ ।
सोही ठाउँबाट केही दिनअघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ । पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ ।

तपाईको प्रतिक्रिया