शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – राप्रपा नेपालका अध्यक्ष कमल थापाले टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा खुलेर वकालत गर्नुभएको छ ।

बिश्वका २० धनि राष्ट्रहरु मध्यका १३ मुलुकमा राजसंस्था रहेको र बिश्वका उत्कृष्ट लोकतन्त्र भएको मानिएका २० मुलुक मध्य ९ वटा राष्ट्रमा धर्म सापेक्ष रहेको उदाहरण दिदैं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले नेपालजस्तो भूराजनीतिक भएको मुलुकमा पनि यो आवश्यक रहेको दावी गर्नुभयो । kamal-thapa-okप्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले २०६२, ६३ सालको आन्दोलनपछि हिन्दुराष्ट्रमाथि आक्रमण भएको, राजसंस्था र हिन्दुराष्ट्र बारेको एजेण्डालाई जनतामा नलगी जबजर्जस्ती लादिएको आरोप लगाउनुभयो । ‘धर्म निरपेक्षताको नाममा पश्चिमाहरुको डिजाइनमा नेपालमा बौद्धिक आतंक भईरहेको छ, यो अविलम्ब रोकिनुपर्छ’ – अध्यक्ष थापाले अगाडि भन्नुभयो – ‘साराका सारा गाउँ हुँदै सहरसम्मका दशौं लाख नेपालीहरुलाई धर्म परिवर्तन गराईएको छ, यसले मुलुकलाई कतातिर लैजाने हो चिन्ताको बिषय भएको छ ।’

राप्रपा नेपालको जापानमा रहेको भात्तृसंगठन प्रवासी नेपाली संगठन (ओनो) को छैठौं अधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालको आर्थिक बिकासका लागि आफ्नो पार्टी राप्रपा नेपालले खुल्ला बजारमुखी र उदार अर्थतन्त्रको नीति अवलम्बन गरेको बिचार ब्यक्त गर्नुभयो ।

समारोहमा ओनो जापानका संस्थापक कलेन्द्र शाही, बिदेश बिभाग प्रमुख बिजय खड्का, केन्द्रिय सदस्य राजाराम बर्तौला, ओनो अमेरिकाका प्रेमकुमार श्रेष्ठ लगायतका राप्रपा नेपालका नेताहरुले बोल्नुभएको थियो । यसैगरी समारोहमा जनसम्पर्क समितिका डिपी कँडेल, प्रवासी नेपाली मञ्चका कृष्ण खड्का, नेपाली जनप्रगतिशील मञ्चका बाबुराम पौड्याल, नेपाल आदिबासी जनजाति महासंघ जापानका पासाङ शेर्पा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
छैठौं अधिवेशनले चन्द्र उपाध्यायको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ । जसमा उपाध्यक्ष त्रयमा बिकास पौडेल, चेतहादुर शाही र सन्तोष सिलवाल चयन हुनुभएको छ । यसैगरी महासचिवमा खगेन्द्र चापागार्इँ, सचिवमा नविन चन्द, कोषाध्यक्षमा अर्पणराज खरेल चुनिनुभएको छ ।

यसैगरी सदस्यहरुमा शंकरदेव भट्ट, जीवन शाह, देवसुदन गौतम, तेजबहादुर रावत, अखण्डदीप खड्का, धर्मराज सन्ज्याल, बिष्णु भण्डारी, लक्ष्मण सन्ज्याल, गणेश ठकुरी, नारायण न्यौपाने, मधु पौडेल, हरिश्चन्द्र उपाध्याय, लक्ष्मण ढकाल, दिपक केसी र नारायण सापकोटा रहनुभएको छ ।

यसैगरी अधिवेशनले ओनोको संरक्षकमा कलेन्द्रबिक्रम शाही र सहसंरक्षकमा रघुदिप खड्कालाई चयन गरेको छ भने टंक भण्डारी र दिनेश गुरुङलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

यसैगरी ओनो जापानले निहारिका लक्ष्मी शाही प्रमुख रहेको ७ सदस्यीय महिला बिभाग पनि गठन गरेको छ । बिभागको उपप्रमुखमा उमा खड्का, सदस्य सचिवमा निरा शर्मा उपाध्याय रहनुभएको छ भने सदस्यहरुमा शान्ता खरेल, अनु भण्डारी, साधना पौडेल र अर्चना राई रहनुभएको छ । समारोह ओनोका अध्यक्ष रघुदीप खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

टोकियोको शिनओकुबोस्थित सोलमारीको सभाकक्षमा भएको सो समारोहमा प्रमुख अतिथि नेता थापाले बोल्नेक्रममा हिन्दुराष्ट्रको पक्षमा वकालत गरिरहँदा हलबाट आपत्ति जनाईपछि केहीबेर स्थिति निकै तनावपूर्ण बनेको थियो । ***rpp-ok

तपाईको प्रतिक्रिया