शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो-‘नेवा:अन्तर्राष्ट्रिय फोरम जापान’को बार्षिक कार्यक्रम अन्तर्गत पर्ने ‘म्ह पुजा’ यो वर्ष पनि आयोजना गर्ने भएको छ । अागामी नोभेम्बर ५ तारिक शनिवार टोकियोको कोतोकु कितासुनास्थित (५ च्योमे दान्ची विल्डिङ नम्बर ३ को पहिलो तल्ला) को हलमा पुजाका साथ नेपाल सम्बत ११३७ पनि मनाउने तयारी गरिएको समाचार छ ।

नेवार जातिको कलासंस्कृतिको जगेर्ना गर्दै विदेशमा रहेका नयाँ पुस्तालाई पनि जातीय संस्कार सिकाउँदै लैजाने उद्देश्यका साथ यस कार्यक्रमको अायोजना गर्न लागिएको संस्थाका महासिचव शिव तण्डुकारले समुद्रपारिलाई बताउनुभयो ।

म्ह पुजामा निरोगी र दीर्घायुको कामना गरी शरीरको पूजा गरिन्छ । सोही दिन नेवार समुदायको नयाँ वर्ष अर्थात ‘न्हूदँया भिंतुना ‘ पर्ने भएकोले शुभकामना अादानप्रदान गरी नाचगानसहित मनाउने चलन छ । जापानमा रहेका नेवारी समुदायमात्र नभइ अन्य नेपालीहरू तथा जापानी नागरिकको पनि सहभागिता रहने यस कार्यक्रम विगतका वर्षहरूमा भन्दा फरक तरिकाले मनाउन गईरहेको तण्डुकारले बताउनुभयो । विगतका वर्षहरूमा गोला प्रथाबाट नाम छनोट गरी सीमित व्यक्तिहरूले मात्र छुट्टै मण्डपमा पुजा गर्न पाउँथे भने यसपटक सहभागी सबैले पाउने गरी तयारी गरिएको छ । तर त्यसको लागि अग्रिम बुकिङ गर्नुपर्ने प्रावधान रहेको छ । बुकिङको लागि अायोजक कमिटीका सदस्यहरूलाई सम्पर्क गर्नुपर्ने र मण्डप बुकिङ गर्ने अन्तिम मिति ३१ अक्टोवर सम्म रहेको जानकारी गराइएको छ ।  यस कार्यक्रमले संस्कृतिको धनी जाती नेवारहरूको रीतिरिवाज र संस्कृति बारे जापानी समुदायलाई पनि जानकार बनाउने कुरामा अायाेजक अाशावादी रहेको देखिन्छ । ***
maha-puja

तपाईको प्रतिक्रिया