शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

एलेप्पो – सिरियाको एलेप्पो शहर नजिक सहायता सामग्री बोकेको गाडीमा भएको आक्रमणमा रुस जिम्मेवार रहेको अमेरिकाले आरोप लगाएको छ । सोमबार सहायता सामग्री बोकेका संयुक्त राष्ट्रसंघका लरीमा आक्रमण भएको थियो ।

kk

ह्वाइट हाउसले सहायता सामग्री बोकेका लरीमाथिको आक्रमणलाई गम्भीर मानवीय त्रासदी भन्दै यसमा रुस जिम्मेवार रहेको आरोप लगाएको हो । आक्रमणमा दुईवटा रुसी लडाकु विमान जिम्मावार रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । तर रुसले भने आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ ।

रुसी वा सिरियाली कुनै पनि विमानले सहायता सामग्री बोकेको लरीमा आक्रमण नगरेको उसको दाबी छ । हवाई आक्रमणका कारण नभइ जमिनमा रहेको आगोका कारण लरीमा क्षति पुगेको रुसी अधिकारीले बताएका छन् ।

सिरिया आफ्नै मानिसको हत्यारा

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले पाँच वर्षको गृह युद्धको क्रममा अधिकांश सर्वसाधारण नागरिकको हत्या भएको भन्दै सिरिया सरकारको आलोचना गर्नुभयो । उहाँले सिरिया आफ्नै मानिसको हत्यारा रहेको भन्दै निन्दा गर्नुभयो । राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै उहाँले विपक्षीलाई युद्धका लागि सहयोग गर्नेको हातमा पनि रगत लतपतिएको बताउनुभयो । राष्ट्रपति बसर अल असद सरकारले आफ्नो विरोध गर्नेको हत्यामा लागि परेको बताउनुभयो ।

महासभाको उद्घाटन सत्रमा उहाँले सिरियामा युद्ध अन्त्य गर्नका लागि सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभयो । यसैबचि राष्ट्रसंघले लरीमा भएको आक्रमणपछि सिरियामा पठाउने सहायता सामग्री बोकेका गाडीलाई रोकेको छ । सोमबार भएको आक्रमणमा परि सहायता सामग्री बोकेर गइरहेका ३१ मध्ये १८ वटा लरी ध्वस्त भएका थिए । यस्तै कम्तिमा २० जना सर्वसाधारणको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया