शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

dev-gurung

देब गुरुङ माओवादी केन्द्रका प्रभावशाली नेता मानिनुहुन्छ । पूर्वमन्त्री समेत रहनुभएका गुरुङ एमाओवादी छाडेर बैद्य समूहमा जानु भएको थियो । तर, केहि समयअघि भएको माओवादी घटकहरुबीचको एकीकरणमा उहाँ फेरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रमा फर्कनु भयो । एकीकरण पश्चात माओवादी केन्द्रले अहिले प्रवास संगठनको विस्तारलाई पनि प्राथमिकता दिइरहेको छ । यसै सन्दर्भमा जापान आउन लाग्नु भएका माओवादी केन्द्रका नेता  देब गुरुङसँग नेपाल व्यूरोको तर्फबाट शिव श्रेष्ठगोविन्द मरासिनीले गर्नुभएको कुराकानीः

तपाईको पार्टीको नेतृत्वमा रहेको सरकारका एजेण्डाहरु के छन् ?
पहिलो त शान्ति प्रक्रिया सम्बन्धी बिषयहरु टुंग्याउनुपर्ने नै हो । ८/१० बर्षसम्म पनि यी मुद्धाहरु समाधान नभईरहेका बेला यी मुद्धाहरु समाधान गर्नुपर्छ भन्ने बिषय हो । अर्को चाँहि भूकम्पपीडितको पूर्ननिर्माणको कार्य जुन रफ्तारमा हुनुपर्ने हो त्यो रफ्तारमा हुन नसकिरहेका बेला त्यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता हो । तेस्रो कुरा भनेको नेपालमा संविधान त बन्यो तर सबैको सहमति जुटाउने सन्दर्भमा केहि जटिलता थिए कतिपय समुदाय र पार्टीमा सहमति जुटाउन नसकिरहेका बेला त्यस बिषयमा सहमति जुटाउने पनि प्रमुख कुरा हो । सहमति जुटन सकेको खण्डमा कार्यान्वयनलाई अगाडी बढाउन सहज हुन्छ भन्ने हाम्रो ठम्याइ हो । यी बाहेक ७४ माघसम्म तीन तहको निर्वाचन सम्पन्न गर्ने सबैधानिक कठिनाइ पनि रहेकाले त्यो महत्वपूर्ण छ त्यसमा पनि सरकार गम्भीर छ ।

काँग्रेस र माओवादीबीचको गठबन्धनमा कतिको सहज भएको छ । सहमतीय सरकारको सम्भावना छ र ?
हामीले पहल गरे अनुसार त सहमतीय सरकार नै हो र अहिलेको मुलुकको आवश्यकता भनेको पनि राष्ट्रिय सहमतिकै सरकार हो । राष्ट्रिय सहमति ओली सरकारले जुटाउन नसकिरहेका बेला र काँग्रेसले पनि २ वटा ठूला पार्टी सरकारमा बस्न नहुने भनिसकेपछि एमाले नेतृत्वको सरकारमा सहमति जुट्न सकेन । राष्ट्रिय सहमतिको पटक–पटक प्रयास भईरहेको हो र एमाले पनि सिद्धान्ततः सहमतिको विपक्षमा होइन । तर, पनि सहमति हुन नसकेपछि बहुमतीय सरकारमा जाने निर्णय अनुरुप नै सरकार गठन भएको हो र ओली सरकारले सहमति विपरित गरिसकेपछि हामी बहुमतीय सरकारमा गएका हौं । तर पछिल्लो समय काँग्रेस पनि राष्ट्रिय सहमतिय सरकारको पक्षमा रहेकाले एमालेलाई कुनै आपत्ति रहेन भने यहाँनेर राष्ट्रिय सहमतिको सम्भावना देखिन्छ । मधेशी दलको सन्दर्भमा ओली सरकारले वार्तालाई प्राथमिकता त परै जाओस केहि पनि नभईरहेकाले नयाँ ढंगले बाटो खोल्दा पछिल्लो समय परिणाममुखी नभएपनि छलफलको क्रम सकारात्मक देखिएको छ । अहिलेको अवस्थामा काँग्रेस र मधेशी दलको बिचार हेर्दा राष्ट्रिय सहमतिको लागि सकारात्मक हो एमालेको अवस्थामा भने भर्खरै सरकार छाडेकाले केहि समय हेरौं भन्ने आशय हो । काँग्रेस पनि लचकतामा आएकाले सहमतीय सरकार गठनको सम्भावना बढेको हो भन्न सकिन्छ ।

dev-gurunggg

९ महिनापछि शेरबहादुर देउवाको तेतृत्वमा सरकार बन्दैछ त्यसमा मधेशी र एमालेसहितको सहमतीय सरकार बन्ने सम्भावना छ कि छैन ?
मधेशी मोर्चाले उठाएका मागहरु सम्बोधन हुन बाँकी नै रहेको अबस्था हो । सो समस्या हल भयो भने उहाँहरु सरकारमा रहनुहुन्छ । एमाले पनि सहमतीय सरकारकै पक्षमा हो त्यसैले छलफलमा जाँदा लाग्छ प्रचण्डजी कै नेतृत्वको सरकारमा पनि यो सम्भावना केही रहन्छ । यदि यो नभएपनि नेपाली काँग्रेसको नेतृत्वमा चाहिँ पक्कै सम्भव रहन्छ । शान्ति प्रक्रिया, पूर्ननिर्माण, तीन तहको चुनाव सम्पन्न गर्नुपर्ने लगायतका कुराहरुका लागि राष्ट्रिय सहमती आबश्यक छ, यी कार्यभार पूरा गर्नका लागि राष्ट्रिय सहमति खोज्नै पर्ने हुन्छ ।

मधेशीका माग सम्बोधन गर्ने सरकारले के गर्दैछ ? मधेशीहरु फेरि चेपुवा मै परे नि, हैन ?
उहाँहरुसँग कुराकानी र छलफल जुन गतिमा हुनुपर्ने हो सायदः त्यो गतिमा भने नभएको हुनसक्छ, यद्यपी छलफलको क्रम जारी नै छ । तर, हाम्रो नजरमा सहमति हुनै नसक्ने एजेण्डाहरु भने छैनन् । खाली सिमाङकनको बिषयमा अलि अड्किएको हो । सिमाकंनका बिषयमा पनि हामीले भन्दै आईरहेका छौं मधेशी नेताहरुले उठान गरेका बिषयमा पनि जान सकिन्छ । पूर्वी तराईको खासगरी २ नम्बर प्रदेशमा मोरङ र सुनसरीलाई जोडेर मिलाउन सकिन्छ, त्यस्तै पश्चिममा पनि कैलालीको थारु बाहुल्यलाई जोडेर मिलाउन सकिन्छ भन्ने हो । अब पूर्वमा तीनवटै जिल्ला, पश्चिममा २ वटै जिल्ला सोलो–डोलो ५ वटै जिल्ला भन्ने कुरा पनि भएन । त्यसमा चाहिँ मिटिङ प्वाईन्ट खोज्ने कुरा हो । पश्चिममा थारु समुदायलाई बिखण्डित नगर्ने, पूर्वमा पनि मधेशीको बाहुल्यता भएको ठाउँलाई जोड्र्ने हो भने सायदः समाधान निस्कन सक्छ भन्ने लाग्छ ।

स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन आउँदैछ । तपाईंहरु सरकारको नेतृत्वमा हुनुहुन्छ । निर्वाचन पछिको परिणामको अपेक्षा क ?
मल्टीपार्टी पद्धतीमा हरेक दलका आ–आफ्ना राजनीतिक उद्देश्य र लक्ष्यहरु हुन्छन् । मुख्य त अहिलेको सरकारको एजेण्डा भनेको नै कसरी निर्वाचन सम्पन्न गर्ने भन्ने नै हो । निर्वाचन सम्पन्न गर्नका लागि मुल ४ राजनीतिक शक्तिसहित अन्य दलहरुसँग पनि सहमति खोज्नु जरुरी छ र सहमति भयो भनेपछि निर्वाचन गर्न कुनै समस्याको बिषय छैन । सैद्धान्तिक रुपले निर्वाचन गर्नुपर्छ भन्नेमा कसैको २ मत छैन । खाली संबिधानसँग जोडिएका कुरामा कसरी सहमति जुटाउने भन्ने मात्र हो । निर्वाचनमा दलहरुबीच प्रतिस्पर्धाको कुरा हो आआफ्ना विचार नीति कार्यक्रम र घोषणापत्रका आधारमा स्वतन्त्र ढंगले प्रतिस्पर्धा गर्ने क्रममा मल्टीपार्टी पद्धतीमा जो पनि अगाडी हाउन सक्छ ।

प्रचण्डको नेतृत्वलाई छाडेर जानु भएको तपाईं फेरि यतै फर्कनु भयो । किन हो ?
यो फर्कने र नर्फकने भन्दा पनि विचार र लाइनको तहमा हेरिने कुरा हो । कम्युनिष्ट पार्टी भनेको विपरितहरुको एकत्व हो । समाजमा बिद्यमान जो अवस्थाहरु रहेका हुन्छन्, त्यो अवस्था कम्युनिष्ट आन्दोलन र सर्वहारा आन्दोलन भित्र पनि प्रतिबिम्ब हुनुपर्छ । त्यसकारण विचार र बहस भईरहन्छ । विचार मिल्दाको अवस्थामा एउटै पार्टी बनेर अगाडी बढ्छ नमिल्दाको अवस्थामा अलग हुन्छ । तसर्थ निरपक्ष रुपले अलग हुनै नसक्ने र सबै एकै ठाउँमा जोडिने भन्ने पनि होइन । पछिल्लो समय विचार, लाइन र कार्यदिशाका हिसावले माओवादीबीच एकीकरण भएको हो । माओवादी घटकबीच सहमति, सहकार्य र एकताको बिषयमा कुनै बिभेद नभएकाले एकीकरण भएको बिषय हो ।

विभाजित बनेका सबैबीच वाम एकताको सम्भावना छ कि छैन ?
नयाँ शक्तिका बाबुरामजीले त वाम आन्दोलन नै छाडिसक्नु भयो । वाम आन्दोलन नै छाडेपछि एकताको सम्भावना रहने कुरै भएन । माक्र्सवाद, लेनिनवाद र माओवाद सैद्धान्तिक जग नै छाडिसकेपछि उहाँसँग त एकताको कुरै भएन् । विप्लवजीको सन्दर्भमा सामान्य रुपले आइरहेका बिषयहरु हेर्दा त्यस्तो खासै स्पष्ट अडान देखिदैनन । एउटा उतारचढाव मात्र देखिन्छ । त्यस्तो उचारचढाव आन्दोलन भित्र जतापनी रहन सक्छ बाहिर आइरहेका सामान्य कुराबाट हेर्दा एकताको सम्भावना छ । मोहन बैद्य किरणजीको घटकको सन्दर्भमा हेर्दा त उहाँ अन्तिम समयसम्म पनि एकताको प्रयास गर्नु भएकै हो । सबै कुराहरु मिलेकै थियो खाली दस्तावेजीकरण गर्न मात्र थियो । दस्तावेजीकरण गर्ने क्रममा १२/१३ बुँदे प्रस्तावमा पनि यथेष्ट कुरा भएकै हो । आगामी दिनमा एकता सम्भव हुन्छ जस्तो लाग्छ ।

dev-girimgg

तपाईंं जापान जाँदै हुनुहुन्छ भन्ने सुन्यौं । केका लागि हो ?
पार्टी एकीकरण पश्चात जापानमा पनि प्रवास शाखाहरु हुने नै भए र ती शाखाहरुको एकीकरण हुने प्रक्रिया पनि स्वतः भयो । दोस्रो कुरा प्रवास शाखाका साथीहरुले नेतृत्व गरिरहेका कतिपय खुला किसिमका मञ्चहरु (जनप्रगतिशिल मञ्चहरु जस्ता) खोलिरहेको अवस्था हो । विविध ढंगले खोलेर चलिरहेकाले ती मञ्चहरुको बीचमा एकीकरण गर्ने काम पनि हो । यहि बीच कार्यक्रममा सहभागी हुन साथीहरुले आग्रह गरेकाले जान लागेको हो ।

जापानमा संगठनको कार्यक्रममा मात्र सहभागी हुनुहुन्छ कि हाईप्रोफाइसँगको भेटघाट पनि हुन्छ ?
होइन । हामी संगठनकै बिषयमा केन्द्रित हुने कुरा हो । राष्ट्र राष्ट्रबीचको बिषयमा सरकारी तहबाट नै छलफल हुन्छ । तसर्थ हामी खाली नेपालीहरुको बीचमा सामान्य रुपले संगठन गर्ने कामका हिसाबले मात्र जाने हो ।

सम्रगमा प्रवासहरुको संगठन विस्तार कसरी भइरहेको छ ?
खासगरी सिंगो प्रवासलाई पनि देशभित्रकै एउटा प्रदेश जस्तो मानेर त्यो अनुसार सांगठनिक जिम्मेवारी दिएर गरिरहेका छौ । प्रवासको त्यहाँको बिशेषता अनुसार पार्टी संगठनलाई बिस्तार गर्ने कार्य प्रक्रियामै छ ।

माओवादीहरु प्रवासमा गएर संगठन विस्तारमा प्रतिस्पर्धा गर्दै हो ?
यो विचारको प्रश्न हो । विचारका हिसाबले आफ्नो आस्था र विश्वास अनुसार लाग्ने कुरा हो । संगठन गर्ने सबैलाई स्वतन्त्रता छ, विचारलाई कुण्ठित गर्न सकिन्न जो पनि संगठन विस्तारमा जान सक्छ ।

तपाईको प्रतिक्रिया