बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

सुरुङ्गा  – झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ ।

मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताका अनुसार सुरुङ्गा निवासी पाँच वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम भने गोप्य राखिएको छ ।

पेट दुखेर सिकिस्त बिरामी भएपछि बालकलाई दुई दिनअघि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको थियो । “उपचारका क्रममा बालकको पेटको भिडियो एक्स–रे गर्दा ठूलो आन्द्राभित्र सानो आन्द्रा फेला पर्यो” –डा गुप्ताले भन्नुभयो । लाखौँमा एक जनालाई मात्र यस्तो समस्या हुने बताउँदै डा गुप्ताले भन्नुभयो – “समयमा नै यस्तो समस्याको उपचार नगराउने हो भने मानिसको मृत्यु समेत हुन्छ ।”

बालकको पहिलो चरणमा नै समस्या पत्ता लागेकाले उपचार सम्भव रहेको डा गुप्ताको भनाइ छ । मेची अञ्चल अस्पतालमा उपकरण अभावका कारण बालकको उपचार सम्भव नभएपछि थप उपचारका लागि आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डा गुप्ताले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया