शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

देशको राजनीतिमा हालका राजनीतिक दलभन्दा केही फरक गर्ने अर्थात् बिशेषत देशलाई आर्थिक समृद्धतर्फ उन्मुख गर्ने सोचका साथ आएको एक पार्टी हो नयाँ शक्ति नेपाल । गत जेठमा पार्टी घोषणा भैसकेपछि हाल यो पार्टी देश तथा प्रवासका विभिन्न ठाउँहरूमा संगठन बिस्तारको कार्यमा सक्रिय छ । आखिर देश कसरी समृद्धि बन्ला त, देशको अस्थब्यस्ता र गरिबी कसरी रोक्न सकिएला सबैको चासोको विषय छ के यी सबै कामहरू नयाँ शक्तिले गर्ला त ? यस्तै विषय र पछिल्लो राजनीतिक अवस्थाका विषयमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग समुद्रपारि डटकमका लागि शिव श्रेष्ठ र गोविन्द मरासिनीले गर्नुभएको कुराकानीको सम्पादित अंश : baburam-final

नयाँ शक्ति नेपालको संगठन विस्तारको काम कसरी अगाडि बढिरहेको छ ?
गत जेठ ३० गते राष्ट्रिय भेला मार्फत नयाँ शक्ति नेपालको घोषणा भएपछि हामीले ३ महिने कार्ययोजना बनाएर संगठन विस्तार अभियानमा लागेका छौँ । दसैँ, तिहारसम्म यो अभियान चल्छ र हाम्रो लक्ष्य भनेको कमसेकम २ लाख सदस्यता वितरण गर्ने र प्रत्येक गाउँपालिका, नगरपालिका र वडासम्म प्रारम्भिक कमिटीहरू निर्माण गर्ने हो । यो लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ । त्यसरी नै विदेशमा रहेका नेपालीहरूको बिचमा पनि पुगेर इकाइहरू गठन गर्ने लक्ष्य छ ।

प्रवासमा चाहिँ संगठन विस्तारको काम कहाँ पुग्यो ?
विभिन्न देशमा नयाँ शक्ति नेपाल पार्टीको शाखाहरूको निर्माण गर्दैछौं। वैदेशिक शाखाहरू छन्, त्यसअन्तर्गत भारत, चीन, जापान, अस्ट्रेलिया, युरोप, अमेरिका लगायत सबै महादेशहरूमा अहिले हाम्रो गतिविधिहरू अगाडि बढिरहेको छ । त्यसको मातहतमा हामीले सम्बन्धित देशको विशेषता अनुसार त्यहाँ नेपालीका विभिन्न सामाजिक संगठनहरू पनि निर्माण गर्ने र त्यसमार्फत गतिविधि गर्ने सोच छ । किनकि प्रत्येक देशका आफ्ना विशेषता हुन्छन्, कतिपय देशमा पार्टी खोल्नका लागि स्वतन्त्रता नहुन सक्छ ती देशहरूमा सामाजिक संगठन मार्फत विचारलाई प्रभावित पार्ने काम हुन्छ । जो विदेशमा रहेर नेपाललाई माया गर्नुुहुन्छ उहाँहरूलाई हामीले ‘५ स’ अर्थात् समृद्धि नै एक नम्बरको कार्यदिशा हो । हाम्रै जीवनकालमा समृद्धि सम्भव छ भन्ने मान्यता अन्तर्गत जुन अभियान चलाएका छौँ । विदेशमा रहने नेपालीको साधन, स्रोत, सीप परिचालन नगरी नेपाल समृद्ध बन्दैन भन्ने हाम्रो मान्यता हो । त्यसैले आगामी महिना म विभिन्न देशहरूमा पनि जाँदै छु।

यसै सिलसिलामा जापान जाँदै हुनुहुन्छ ? जापानमा विशेष के हुन्छ ?
हो, म जापान पनि जाँदै छु । त्यसभन्दा अघि पहिला सेप्टेम्बर १४ देखि १६ सम्म कोरिया जान्छु र १७ देखि १९ सम्म जापान जान्छु । कोरिया र जापान गएर त्यहाँ रहेका नेपालीहरूसँग भेटघाट, अन्तक्रिया गर्ने र उहाँहरूले जुन पुँजी/सिप आर्जन गरिरहनुभएको छ त्यसलाई नेपालको विकासमा कसरी लगाउन सकिन्छ त्यसबारे विचार विमर्श गर्ने, एनआरएनहरू जो विभिन्न देशमा राम्रो हैसियत प्राप्त गरेका छन्, उनीहरूको लगानी नेपालमा कसरी भित्राउन सकिन्छ र एनआरएन मार्फत विदेशी लगानी र प्रविधि कसरी भित्र्याउन सकिन्छ ती विषयमा पनि कुराकानी हुन्छ । र पछिल्लो समय अत्यन्त विकसित देश कोरिया र विश्वकै समृद्ध देश जापान गएर त्यहाँको विकासको मोडलको अध्ययन गर्ने चाहना छ ।

जापान बसाइमा भूकम्पपछिको पूननिर्माणमा पनि जोड्न सक्छौ ?
जापान धेरै भूकम्प गैरहने देशहरू मध्य एक हो, भूकम्प गैसकेपछि जुन ढंगले छिटो छरितो पूननिर्माण र नवनिर्माण गरेर देशलाई अझ विकसित बनाएको अनुभव छ त्यसबारे पनि सिक्ने चाहना छ ।

विदेशमा छरिएर रहेका नेपालीहरूलाई कसरी एकीकृत गरेर देशमा लगानी भित्राउन सकिएला त ? यसमा नयाँ शक्तिको फरक धारणा चाहिँ के ?
मुख्य फरक के छ भने, हामी सुविचारित योजना मार्फत यो काम गर्दैछौं । विगतमा राजनीतिक परिवर्तन मुख्य एजेण्डा हुन्थ्यो । आर्थिक एजेण्डाका कुराहरू गरेपनि त्यो सहायक मात्र हुन्थ्यो । अहिले संविधान जारी भएपछि एउटा लोकतान्त्रिक राजनीतिक परिवर्तनको प्रक्रिया मूल रूपमा सम्पन्न भएको छ । फेरि अबको मुख्य कार्यभार आर्थिक विकास र समृद्धि हुनुपर्छ । हाम्रो मात्र यस्तो पहिलो पार्टी हो, जसले विकास र समृद्धलाई मुख्य केन्द्रमा बनाएको छ हाम्रा निम्ति अन्य कुरा गौण छन् । त्यसका लागि जुन मार्गचित्र हामीले कोरेका छौँ गरिबी र बेरोजगारीलाई अत्यन्तै न्यून स्तरमा झार्छौ १५ वर्षमा हाम्रो प्रतिब्यक्ति आम्दानी ६ गुणा बिस्तार गर्छौ जसले नेपाल मध्यस्तरमा पुग्छ र २५ वर्षसम्ममा नेपालको प्रतिब्यक्ति आम्दानी १२ हजार डलर पुर्‍याउँछौ । जुन कुरा गरेपछि यो असम्भव भन्ने छैन ।

अहिलेको राजनीतिक घटनाक्रम र दलगत स्वार्थले यो आर्थिक समृद्धिलाई असर गर्छ कि गर्दैन ?
पुरानो राजनीतिक प्रवृत्ति र चिन्तनले छेक्छ त्यसैले, त हामीले एउटा छुट्टै नयाँ राजनीतिक बिचारसहितको पार्टी निर्माण गरेका हौँ । काँग्रेस, एमाले माओवादी र मधेसबादी दलहरूले पुरानो व्यवस्थालाई भत्काउनका लागि आन्दोलनकारी शक्तिको रूपमा उदय भएको हो उनीहरूले त्यसमा आफ्नो भूमिका निर्वाह गरे म आफू पनि करिब ४० वर्ष त्यसमा लागे तर अब आन्दोलनकारी भन्दा पनि निर्माणमुखी चरणमा प्रवेश गर्नु जरुरी छ । हामीले यी सबै कुरा गर्न सक्छौ भन्ने विश्वासका साथ अगाडि बढिरहेका छौँ ।

पार्टी संगठनमा अझै विवाद हो ? केही केन्द्रीय सदस्यहरूले नयाँ शक्तिले पनि केही गरेन खाली नयाँ शक्ति मात्र भनेको मात्र रैछ भनेर छाडेर जानुभयो भनिन्छ नि ?
यो गलत हो, दुस्प्रचार हो । पुराना शक्तिहरू जहिले पनि नयाँ शक्तिको उदय हुँदा तरंगित हुन्छन् । षडयन्त्र, जालजेल, दुसप्रचार गर्ने उनीहरूको स्वभावै हो यी सबै अत्तालिएका मानिसहरूले भ्रम छरेका हुन् जुन स्वभाविक पनि हो । तर हामी हाम्रो मिशनमा दृढ छौँ । सही विचार र विज्ञानलाई स्थापित गर्ने अलिकति समय भने लाग्न सक्छ । sam_6081

चैत्रमा हुने भनिएको स्थानीय निकायको चुनावमा तपाईँहरूको सहभागिता रहन्छ कि रहन्न ?
संविधान सभाबाट संविधान जारी भयो त्यसमा केही मुद्दाहरू अहिले पनि बाँकी छन् खासगरी संघीयता र सिमाङ्कनको विषय पूर्ण भइनसकेकाले त्यसमा असन्तुष्टि कायमै छ । संविधान संशोधन गरेर ती मुद्धाहरूको हल गर्नुपर्छ । त्यसपछि स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्छ भनेर यसैको तयारीमा हामी छौँ र आउँदो एक डेढ वर्षमा यी ३ वटै तहको निर्वाचन भैसक्नुपर्छ त्यसको निम्ति हामी पूर्ण तयारीमा लागिरहेका छौँ । हामीलाई विश्वास छ जनताले त्यसको नेतृत्व गर्ने अवसर दिनेछन् ।

पछिल्लो समय मधेशवादी दलहरूलाई सहमतिमा ल्याउनका लागि संविधान संशोधनको कुरा पनि आइरहेको छ यसलाई कसरी लिनुभएको छ ?
मैले त संविधान निर्माण गर्ने महत्त्वपूर्ण समिति सबैधानिक राजनीतिक संवाद समितिको सभापतिको हैसियतले त्यतिबेला नै काँग्रेस, एमाले लगायतका दलहरूलाई धेरै जोड गरेर भनेको थिए । संविधान सभाको समिति र अन्तरिम संविधान बमोजिम बनेको आयोगले जुन मापदण्ड निर्धारण गरेको छ त्यसमा आधारित भएर संघीय संरचना गरिनुपर्छ । मैले धेरै जोड गर्दा पनि नमानेर जबरजस्ती आफ्नो कुरा लाद्ने कोसिस गरे त्यसैको परिणाम स्वरूप मधेसमा आन्दोलन जारी रह्यो ५० जनाको ज्यान पनि गयो त्यसैले यी मुद्धाहरूलाई हल गरेर संविधान संशोधन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । त्यसको आधार भनेको संविधान सभाको राज्य पुनसंरचना समिति र राज्य पुनसंरचना आयोगले सर्बसम्मत ढंगले निर्धारण गरेका आधारहरू छन् ती भनेका पहिचानका ५ आधार र सामथ्र्यका ४ आधार त्यसमा टेकेर नै संघीयता, सिमाङ्कन, नामाङ्कन संरचना गरिनुपर्छ । यसरी नै समाधान हुन्छ भन्ने हाम्रो ठम्याइ हो ।

अहिलेको सरकारलाई यहाँले कसरी हेर्नुभएको छ ?
यी सरकारहरू त खाली पुरानै खेलका लागि हुन् जसरी ४७ सालपछि सरकार बनाउने र गिराउने खेल जारी रह्यो जसले पुरै व्यवस्था बदनाम हुन पुग्यो अब त्यसैको पुनरावृत्ति हुनु दुःखद् छ । सामान्य रूपमा सुधारिएको संसदीय व्यवस्थाले मात्र नेपालमा काम गर्दैन, त्यसले राजनीतिक स्थिरता दिदैन, त्यसैले हामी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ त्यसले मात्र देशमा राजनीतिक स्थिरता दिन्छ भन्ने हाम्रो धारणा हो । सरकार बनाउने र गिराउने खेलले देशमा राजनीतिक स्थिरता आउँदैन, स्थिरता नभएसम्म विकास र समृद्धि हुँदैन । त्यसैले संविधान संशोधनमा राज्यको शासकीय स्वरूप परिवर्तन हुनुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो जस्तो देशमा १०/२० वर्ष राजनीतिक स्थिरता भएन भने देशको विकास गर्न गाह्रो हुन्छ । एउटा कछुवाको गतिमा गएर देशको विकास हुन्न हामी त भ्याकुते उफ्राईको गतिमा जानुपर्छ । त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्र त्यो स्थिरता दिन सक्छ ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे तपाईँको सुझाव ?
पटक–पटक फेरिरहने म्यादी सरकारले दीर्घकालीन कामहरू गर्न सक्दैन । नेपालको जुन भूराजनीतिक जटिलता छ यी दुवै छिमेकीसँग सन्तुलित समबन्ध राखेर नेपाल समृद्धि र विकासमा अघि बढ्नुपर्छ । दुई देशको बिचमा गतिशील पुलको भूमिका निर्वाह गर्नुपर्छ । त्यै अनुसार अगाडि बढुन् भन्ने सुझाव हो ।

माओवादी केन्द्रसँग एकताको सम्भावना छ कि छैन ?
होइन, होइन अब त बाटो नै फेरि सकियो अब हामी नयाँ युगमा प्रवेश गरिसक्यौं । त्यसैले माओवादीसँग मात्र होइन, काँग्रेस एमाले मधेशबादी लगायत सबै पुराना शक्तिले विभिन्न व्यवस्था फेर्न जुन भूमिका निर्वाह गरे त्यसमा हामी धन्यवाद दिन्छौ र प्रशंसा पनि गर्छौँ तर अबको हाम्रो लक्ष्य नै फेरियो ।

तपाईँका एजेण्डामा उहाँहरूलाई ल्याउन सकिन्छ होला नि त ?
त्यसैले त धुब्रीकरण आयो नि ! विभिन्न पार्टीबाट नयाँ शक्तिको बिचार र सोच ठिक लागेर आइरहनुभएको पनि छ, उहाँहरू पनि रुपान्तरित भएर आउनुभयो हामी स्वागत गर्छौँ ।

अन्त्यमा, तपाईँलाई आम नेपालीले अबको कति वर्षमा पुनः देशको प्रधानमन्त्री भएको देख्न पाउलान् ?
हाम्रो ७ वर्षीय, १५ वर्षीय, २५ वर्षीय जुन गुरुयोजना छ विकास र समृद्धिको त्यसको कार्यान्वयनको निम्ति हामीलाई नेतृत्व गर्ने अवसर दिनुहोस भनेर हामी जनताका माझ जान्छौं र पहिलो पार्टी भएर नै नेतृत्व गर्ने हाम्रो लक्ष्य छ ।

तपाईको प्रतिक्रिया