शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – संसदको विधायन समितिमा विचाराधीन ‘लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३’ लाई लिएर नेपाली सेनाले आपत्ति जनाएको छ ।

सेनामा पनि पदाधिकारी बढुवा गर्दा आयोगसँग परामर्श लिनुपर्ने भनी विधेयकमा उल्लेख गरिएको विषयमा जंगी अड्डाले आपत्ति जनाएको आजको कान्तिपुर दैनिकमा खबर आजको कान्तिपुर दैनिकमा खबर छ । विधेयकको परिच्छेद–२ मा आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनअन्तर्गत ‘आयोगले अन्य संगठित सरकारी सेवाको पदमा बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श दिने’ उल्लेख छ । सेनामा पदपूर्ति गर्दा लोकसेवासँग सहकार्य गर्ने कानुनी व्यवस्था भए पनि बढुवा आन्तरिक रूपमै हुँदै आइरहेको थियो । ‘हामीले आयोगलाई रक्षा मन्त्रालयमार्फत प्रतिक्रियासहित पठाइसकेका छौं,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भन्नुभयो ।

सुरक्षा निकाय, अन्य संघीय सरकारी निकाय र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा उही निकायबाट सञ्चालन भइरहेकोमा संघीय संविधान जारी भएपछि लिखित परीक्षा आयोगले सञ्चालन गर्नुपर्ने भएकाले लोकसेवा आयोग ऐन, २०६६ खारेज गर्ने गरी नयाँ विधेयक प्रस्तुत गरिएको हो । सेनाले आपत्ति जनाए पनि आयोगले भने संविधानअनुसार विधेयक निर्माण गरेको छ । संविधानको भाग–२३ को धारा २४३ को उपधारा ३ मा लेखिएको छ, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवा आयोगको परामर्श लिनुपर्नेछ ।’

विधेयकमाथि सेनाले आयोगलाई बुझाएको प्रक्रियालाई आधार मान्ने हो भने उक्त क्रियाकलाप संविधानविपरीत रहेको प्रस्ट हुन्छ । संविधान संशोधनबिना सेनाले लिएको प्रतिक्रियालाई लागु गर्न सकिँदैन ।

तपाईको प्रतिक्रिया