शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज सिंहदरबारमा भेट गरी स्वाधीन अर्थतन्त्र निर्माणका लागि आग्रह गर्यो । मुलुकको अर्थतन्त्र सङ्क्रमणमा रहेको र अहिले स्वदेशी उत्पादन अभिवृद्धिमा भन्दा पनि विदेशी उत्पादन ल्याएर बेच्ने प्रवृत्ति हावी भएकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै सङ्गठनले पूर्वाधार र उत्पादनशील क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गर्यो। 

Puspakamal_dahal_380025590

सङ्गठनका अध्यक्ष श्याम पाठकको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री समक्ष स्वाधीन अर्थतन्त्र निर्माण तथा व्यापार विविधीकरण गर्नुपर्ने मागसहितको १५ बुँदे ज्ञापन बुझाएको हो । बजेटमा व्यवस्था भएको पुँजीगत खर्च समयमै पूर्णरुपमा खर्च गर्ने व्यवस्था गरिनुपर्ने, विदेश पलायन भइरहेको पुँजीलाई राष्ट्रिय औद्योगिकीकरणमा लगानी गर्ने वातावरण बनाइनुपर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन दिइनुपर्ने लगायतका माग सङ्गठनको छ ।

स्वदेशी उद्योगी तथा व्यवसायीलाई प्राथमिकता दिन र जलविद्युत् तथा अन्य उत्पादनशील क्षेत्रमा लगानीमैत्री बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको सङ्गठनका सल्लाहकार कृष्णप्रसाद आचार्यले बताउनुभयो । जवाफमा प्रधानमन्त्री दाहालले मुलुकको समग्र अर्थतन्त्रको विकासका लागि सरकार कटिबद्ध रहेको र व्यवसायीले अघि सारेका जायज माग सरकारले पूरा गर्ने वचन दिनुभएको थियो ।

“सरकारले पूर्णता पाएको छ, अब ‘गेयर चेन्ज’ गर्नेतिर सोच्दैछु, सरकार रफ्तारमा अगाडि बढ्छ,” –प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सविच मनहरि तिमिल्सिनाले भन्नुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय अर्थतन्त्रको विकास सरकारको प्राथमिकता भएको र त्यसका लागि निजी क्षेत्रको सहयोग र साझेदारी आवश्यक रहेको पनि औँल्याउनुभयो ।

सो अवसरमा सङ्गठनले बाढी पहिरोपीडितको सहयोगार्थ रु एक लाख एक हजार प्रधानमन्त्री दैवीप्रकोप राहत कोषलाई प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया