शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

4टोकियो – किक बक्सिङ खेलको माध्यमबाट जापानमा नेपाललाई चिनाउँदै आएका नेपाली मुक्केबाज मोहन महर्जन ’ड्रागन’ आउँदो महिना जीवनकै महत्वपूर्ण खेलमा भिड्ने भएका छन् ।

मोहनले मंगलबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आगामी सेप्टेम्वर ३० तारिख अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण प्रतियोगितामा भिड्न लागेको जानकारी दिए ।

१० वर्षे किक बक्सिङ खेल जीवनको सर्बाधिक महत्वपूर्ण प्रतियोगितामा उनी ३२ वर्षिय जापानी खेलाडि साइतोसंग भिड्ने भएका हुन् ।

६७ केजी तौल समुहको के-वन प्रतियोगितालाई उनले खेलजीवनकै सर्बाधिक महत्वपूर्ण भनेका छन् । उक्त खेलमा विजयको झण्डा फहराउन आफु आतुर रहेको र यसका लागि जापानबासी नेपालीहरुको उत्साहजनक साथ र समर्थनको आवश्यक रहेको बताए । बिगत १० वर्षदेखि जापानमा किक बक्सिङ खेल्दै आएका ३९ वर्षिय महर्जनले बिभिन्न चरणका थुप्रै टुर्नामेन्टहरुमा साहसिक खेल प्रदर्शन गरी बिजय हासिल गर्दै आएका छन् । ’मेरो लाइफकै सबैभन्दा चुनौतीपूर्ण र अर्थपूर्ण दुवै रहेको उच्च महत्वको गेम खेल्दै छु’- उनले भने – ’नेपालीहरुको न्यानो माया र सपोर्ट पाए मेरो जित सुनिश्चीत छ । सेप्टेम्बर ३० तारिख कोउरा कोयनस्थित टोकियो दोममा उपस्थित भई हौसला प्रदान गरिदिनु हुन नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अपिल गर्दछु ।’

मंगलबार साँझ टोकियोको शिन ओकुबोमा आयोजित पत्रकार सम्मेलनमा जापानी तथा नेपाली सञ्चारकर्मीहरुमाझ बोल्दै मोहनले आउँदो टुर्नामेन्टमा आफ्ना प्रतिस्पर्धीलाई परास्त गरेरै देखाईदिने दावी गरे । सो अवसरमा मोहन लगायत किक बक्सिङका अन्य खेलाडिहरुले पनि पत्रकारहरुका जिज्ञासा मेटाएका थिए ।***

 

तपाईको प्रतिक्रिया