मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

Mahesh Jeeटोकियो – नेपाली जनसम्पर्क समिति जापानको विवादित निर्वाचन स्थगन गर्न माउपार्टी नेपाली काँग्रेसले निर्देशन दिएलगत्तै निर्बाचन संयोजक महेशकुमार श्रेष्ठले राजीनामा दिएका छन् ।

श्रेष्ठले निर्बाचन प्रक्रियाको सम्पूर्ण जिम्मेवारी लिंदै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएका हुन् । एक बिज्ञप्ती जारी गर्दै श्रेष्ठले राजीनामासंगै निर्बाचन सम्बन्धमा थप अन्यौलता सिर्जना नहोस् भन्ने अभिप्रायले यहि अगस्त १९ तारिख गठित उच्चस्तरिय विवाद समाधान समिति भने यथावतै कायम रहने बताएका छन् ।

बिज्ञप्तीमा, स्थगन गर्ने निर्देशनसंगै गत १३ तारिखदेखि हालसम्म भएका निर्बाचन सम्बन्धि सम्पूर्ण प्रक्रिया स्वतः निश्क्रिय हुने जनाईएको छ ।जसअनुसार उम्मेदवारहरुको दर्ता शुल्क फिर्ता गर्न मौजुदा कार्यसमितिलाई अनुरोध गरिएको छ भने निर्वाचनका क्रममा सहयोग गर्ने सबैप्रति धन्यबाद ब्यक्त गरिएको छ ।

जनसम्पर्क समितिको छैठौं अधिवेशनबाट नेतृत्व चयन गर्न आइतवार भएको निर्वाचन चरमविवादित र अन्यौलताका कारण आँशिक मतदान केन्द्रहरुमा मात्र मतदान भएको थियो ।
दुई प्यानलमा बिभाजित उम्मेदवारहरु मध्य लालबहादुर केसी (रोशन) प्यानलले निर्बाचनमा भाग नलिए पछि निर्बाचनमा एकपक्षिय सहभागिता रहेको थियो । कुल ९ क्षेत्र मध्य ५ क्षेत्रमा मात्र मतदान भएको भने नागोयाको मतपेटिका कब्जा गरिएको थियो र बाँकी चार क्षेत्रमा निर्बाचन नै भएको थिएन । जटिल परिस्थितिमा धकेलिएको निर्बाचन सम्बन्धमा ढिलो गरी पार्टी केन्द्रले स्थगन गर्न निर्देशन दिएको थियो ।

निर्वाचन समितिद्वारा जारी गरिएको बिज्ञप्तीको पूर्णपाठ यसप्रकार छ –
प्रेस विज्ञप्ति
यहि २०१६ अगस्त २१ तारिख जनसम्पर्क समिति जापानको निर्वाचन गर्नका लागि निर्वाचन  समितिले आफ्नो अन्तिम तयारी गरिरहेको अवस्थामा अगस्त २० तारिख साँझ ६ बजे नेपाली कांग्रेस केन्द्रिय कार्यालयवाट क्रियाशिल सदस्यको सदस्यता स्थानान्तर सम्वन्धी  पत्र प्राप्त भएको थियो । उक्त पत्रमा नेपाली कांग्रेसको विधानमा स्थानान्तर सम्वन्धि कुनै व्यवस्था नभएकोले सोही अनुसार गर्नु भन्ने पत्रको आशयलाई जनसम्पर्क समितिको विधान अनुसार नै गर्नू भन्ने कानूनी व्याख्या निर्वाचन समितिले गरी जनसम्पर्क समिति जापानको संसोधित विधान २०१६ को दफा ७.१ वमोजिम नेपालका जिल्लाहरुवाट स्थानान्तर भई आउने क्रियाशिल सदस्यहरुलाई जनसम्पर्क समिति जापानको क्रियाशिल सदस्यको रुपमा मान्यता दिई यहि २०१६ अगस्त २१ तारिख निर्वाचन समितिको तालिका अनुसार नै स्थान्तरित क्रियाशील सदस्य सहितको निर्वाचन प्रतिनिधी नामावली  अनुसार निर्वाचन गराइएको थियो ।

यसै वीच अगस्त २२ तारिख नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट अर्को पत्र प्राप्त भयो । उक्त पत्रका अनुसार नेपाली कांग्रेसको विधानमा नै नभएको क्रियाशिल सदस्यहरुलाई स्थानान्तर गरी निर्बाचनमा सहभागी गराइएको कारणबाट निर्वाचनमा व्यवधान आएको देखिएकोले यो निर्वाचन तत्काल स्थगन गरी केन्द्रलाई जानकारी गराउनका स्पष्ट निर्देशन प्राप्त भएकोले निर्बाचन समितिले निर्बाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको उक्त पत्रको निर्देशन अनुसार अगस्त १३ तारिख देखि शुरु गरिएको निर्बाचनका सम्पूर्ण प्रक्रियाहरु स्वत: निस्क्रिय हुने जानकारी गराउन चाहन्छौं ।

यस निर्बाचन प्रक्रियाको संपूर्ण जिम्मेवारी लिंदै आजकै मिति देखि लागू हुने गरी निर्बाचन समितिको संयोजक पदबाट राजिनामा दिएको घोषणा गर्न चाहन्छु । मेरो राजीनामासंगै निर्बाचन सम्बन्धि थप अन्यौलता सिर्जना नहोस् भन्ने अभिप्रायले निर्बाचन समितिले अगस्त १९ तारिख निर्वाचन सम्वन्धि निमावलीको दफा २ को ग अनुसार गठन गरेको उच्च स्तरिय विवाद समाधान समितिलाई कायमै राखिएको जानकारी गराउन चाहन्छौं 

अगस्त १३ तारिख देखिको निर्बाचन सम्बन्धि सम्पूर्ण प्रक्रिया निष्क्रिय भैसकेको अबस्थामा उम्मेदवारहरुको उम्मेदवारी दर्ता शुल्क  स्वत: फिर्ता दिनुपर्ने भएकोले अनुकूल समयमा सम्पूर्ण उम्मेदवारहरुलाई दर्ता शुल्क फिर्ता गर्न कार्यसमितिलाई अनुरोध गर्न चाहान्छु ।

निर्बाचनका हरेक क्रियाकलापमा सकारात्मक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति आभार प्रकट गर्दै निर्वाचनका कारणले पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दछौं ।

भवदिय
महेशकुमार श्रेष्ठ
संयोजक
नेपाली जनसम्पर्क समिति जापान
मिति: २०१६ अगस्त २३

 

जनसम्पर्क समिति जापानको निर्बाचन समितिको स्पष्टीकरण
अगस्त १३ तारिख देखि शुरु भएको निर्बाचन प्रक्रियामा निर्बाचन समितिले गरेका निर्णयका विषयमा उठाईएको विवाद र स्पष्टीकरण:

विवाद नं १ > निर्बाचनको अघिल्लो रात २ बजे फेसबुक मार्फत निर्बाचन गर्ने निर्णय गरियो ।
स्पष्टीकरण: अगस्त २१ तारिखमा निर्बाचन हुने कुरा धेरै अगाडि जनसम्पर्क समितिको कार्यसमितिले निर्णय गरी निर्बाचन समितिलाई सोहि दिन मतदानको व्यबस्था मिलाउनको लागि निर्दशन दिए अनुसार निर्बाचन समितिले अगस्त २१ तारिख निर्बाचन गरिने कार्यतालिका अगस्त १३ तारिख नै सबैलाई जानकारी गराईएको थियो । सोहि कार्यतालिका अनुसार निर्बाचन गर्नका लागि निर्बाचन समितिले अन्तिम तयारी गरिरहेको अबस्थामा निर्बाचनको अघिल्लो दिन साँझ ६ बजे नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट अचानक पत्र आइसके पछि केहि अन्योलता छाएको थियो । निर्बाचन समितिले तत्काल उच्चस्तरिय विवाद समाधान समितिको बैठक डाकी उक्त पत्रको बारेमा रातको १२ बजे सम्म गहन छलफल चलाएको थियो । उक्त छलफलबाट कुनै टुंगोमा पुग्न नसके पछि निर्बाचन समितिले नेपालका कानूनविदहरुसंगको सल्लाहमा निर्बाचनको कार्यतालिकामा कुनै फेरवदल नगर्ने ठहर गर्दै निर्बाचन कार्यतालिका अनुसार नै निर्बाचन गर्ने निर्णय गरेको थियो ।
अगस्त २० तारिखको रात निर्बाचन नहुने हो कि भन्ने गलत हल्ला चलेकोले ढिलै भएपनि मतदाताहरुलाई जानकारी गराउनु उपयुक्त हुन्छ भन्ने निश्चल मनशायले फेसबुकमार्फत जानकारी गराईएको हो । निर्बाचन समितिले अगस्त २१ तारिख निर्बाचन हुदैन भनेर अधिकारिक रुपमा जानकारी गराई नसकेको अबस्थामा ह्ल्लाको भरमा निर्बाचनमा सहभागी नहुनेहरूका लागि निर्बाचन समितिले कुनै जिम्मेबारी लिन नसक्ने जानकारी गराउन चाहन्छौं ।

विवाद नं २> नेपाली कांग्रेस केन्द्रिय समितिले निर्बाचन स्थगन गर्न निर्देशन दिंदा दिदै पनि निर्बाचन समितिले केन्द्रिय समितिको निर्देशन नमानी आफूखुशी निर्बाचन गरायो ।
स्पष्टीकरण: नेपाली कांग्रेसको अगस्त २० को पत्रमा निर्बाचन स्थगन गर्ने कुनै स्पष्ट निर्देशन नभएकोले निर्बाचन समितिले बिभिन्न कानूनविदहरुसंग छलफल गरी निर्बाचन रोक्नु नपर्ने व्याख्याका आधारमा निर्बाचन तालिका अनुसार नै निर्बाचन गराइएको थियो ।
नेपाली कांग्रेसको उक्त पत्रमा “क्रियाशिल सदस्यले आफ्नो सदस्यता नेपालको कुनै गाउँ, नगर वा नगरको वडामा स्थानान्तर गर्न र पार्टीको निर्वाचनमा भाग लिन सक्नेछ तर पार्टीको कुनै तहका निर्वाचन मिति भन्दा ६ महिना अघि स्थानान्तर भएकाले मात्र निर्वाचनमा भाग लिन पाउनेछ” भन्ने स्पष्ट व्यवस्था गरिएता पनि नेपालमा क्रियाशिल सदस्य भई विदेशमा वसोवास गरेका क्रियाशील सदस्यहरुको विधानमा कुनै पनि व्यवस्था नभएकोले सोहि अनुसार अन्तर्राष्ट्रिय स्थानान्तरका सम्वन्धमा गर्न, गराउनका लागि निर्देशन जारी गरिएको थियो ।
उक्त पत्रमा नेपाली कांग्रेसको विधानमा स्थानान्तर सम्वन्धी कुनै व्यवस्था नभएकोले सोही अनुसार गर्नु भन्ने पत्रको आशयलाई जनसम्पर्क समितिको विधान अनुसार नै गर्नू भन्ने कानूनी व्याख्या निर्वाचन समितिले गरी जनसम्पर्क समिति जापानको संसोधित विधान २०१६ को दफा ७.१ वमोजिम नेपालका जिल्लाहरुवाट स्थानान्तर भई आउने क्रियाशिल सदस्यहरुलाई जनसम्पर्क समिति जापानको क्रियाशिल सदस्यको रुपमा मान्यता दिई यहि २०१६ अगस्त २१ तारिख निर्वाचन समितिको तालिका अनुसार नै स्थान्तरित क्रियाशील सदस्य सहितको निर्वाचन प्रतिनिधी नामावली अनुसार निर्वाचन गराइएको थियो ।

अर्कोतर्फ निर्बाचन सम्बन्धि सम्पूर्ण प्रक्रियाहरु (जस्तो : हलको व्यवस्था, मतपत्र, मत पेटिकाको व्यबस्था, क्षेत्रिय निर्बाचन समितिको गठन, उम्मेदबारको प्रतिनिधी चयन आदि) पूरा गरी भोलिपल्ट मतदानको प्रक्रिया मात्र बाँकि रहेको परिस्थितिमा अचानक केन्द्रिय कार्यालयको अस्पष्ट अनि दोहोरो अर्थ लाग्ने पत्रको आधारमा निर्बाचनको अन्तिम प्रक्रिया रोक्नु प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने भएकोले जनसम्पर्क समिति जापानको संशोधित विधान २०१६ को दफा ७.१ वमोजिम नै निर्बाचन प्रक्रियालाई कार्यतालिका अनुसार संचालन गरिएको थियो ।

भवदिय
महेशकुमार श्रेष्ठ
संयोजक
निर्बाचन समिति
मिति २०१६ अगस्त २३ तारिख

तपाईको प्रतिक्रिया