शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

Pasupati sharma

लोकगीत सङ्गीतको क्षेत्रमा चर्चित नाम हो, पशुपति शर्मा । समाजमा भएका बिभिन्न घटना र यथार्थ परिस्थीतिलाई ब्यग्यात्मक ढगंबाट जस्ताको तस्तै गीतमा प्रस्तुत गर्न माहिर शर्माका प्राय सबै गीत दर्शक श्रोताको मुखमा झुण्डिन्छन् । पछिल्लो समय दर्जनौ तीजका गीत गाउने शर्मालाई तीज गायक समेत भन्न थालिएको छ । यो बर्षमात्र उहाँले दर्जन बढी तिजका गीतमा शब्द तथा स्वर दिईसक्नुभएको छ । तीज नजिकिँदै जाँदा गायक शर्मा विभिन्न देशहरुका कार्यक्रममा सहभागी हुन भ्याइ-नभ्याई छ । केही दिन अघि मात्र अष्ट्रेलियाको कार्यक्रममा सहभागी भएर फर्केका शर्मा जापान र दुबईमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै हुनहुन्छ । यसै सन्दर्भमा सहकर्मी गोबिन्द मरासिनीले चर्चित गायक शर्मासँग गरेको कुराकानी:

तिजको माहोल कत्तिको तातेको छ ?
तीजको माहेल तातिरहेकै छ । हुन त पुरुषले तीजमा गाउन हुन्न पनि भन्ने गरिन्छ । तर महिलासँगै पुरुषहरुको पनि माग बढेकै छ । देश बाहिर र भित्रका बिभिन्न कार्यक्रममै ब्यस्त छु । अब यो बीचमा अस्ति भर्खर अष्टेलिया गएर आए अब केहि दिनमै जापान र दुबईमा हुने कार्यक्रममा सहभागि हुन जाँदै छु । तिजको दिनमै पोखरामा पनि कार्यक्रम छ । जे होस लगातार कार्यक्रममै ब्यस्त छु, आफूले भ्याएसम्म सहभागी भैरहेकै छु ।
जापानमा चाहिँ कहिले र कुन ठाउँमा हो, कार्यक्रम ?
यहि २७ तारिकमा फुकुवामा र ३० तारिकमा ओशाकामा छ । अरुपनि टाइम म्यानेज गर्न खोजिरहनु भएको छ आयोजक साथीहरुले । तर, म तुरुन्तै दुबईको कार्यक्रममा जानुपर्ने भएकाले समय दिन सकिरहेको छैन ।
साङ्गीतिक कार्यक्रममा यसअघि जापान जाँदाका अनुभव र अविस्मरणीय क्षण ?
जापानको कार्यक्रममा सहभागी हुने यो चौथो पटक हो । पहिलो पटक जापान जाँदा धेरै रमाईलो भएको थियो । म लगायत अन्य केहि कलाकार गएका थियौँ । सायदः त्यो बेला ७ सय जना अट्ने हलमा १५ सय दर्शकको भीड नै लागेको थियो । त्यती बेला खुसी लागको थियो, अहिले पनि सम्झन्छु । आयोजक साथीहरुले पनि त्यसअघि यतीका संख्यामा उपस्थित भएको पाईएको थिएन् भन्नुभाथ्यो ।
कलाकारको बिदेशको साङ्गीतिक यात्रा कस्तो रहन्छ ?
नेपाल भित्र लोकसङ्गीतलाई हेर्ने दृष्टिकोण भन्दा बिदेशमा अझ राम्रो छ कि जस्तो लाग्छ मलाई । बिदेशमा लोकगीतसंगितलाई असाध्यै माया गर्नुहुन्छ । यसो भन्दै गर्दा नेपालमा गर्नुहुन्न भन्न खोजेको चाहिँ होइन । त्यही जन्मेर हुर्कने नेपालीले पनि लोकसङ्गीतलाई माया गर्ने पनि देखेको छु ।
पशुपति शर्माका गीत यसरी हिट हुनुका रहस्यहरु ?
केहि फरक बिषयबस्तुलाई आधार बनाएर गीतहरु बनाउने गर्छु । सायद त्यही फरकपनलाई रुचाउनुभएको हो कि जस्तो लाग्छ मलाई । कहिलेकाँही त ग्रहले पनि साथ दिएको हो कि जस्तो पनि लाग्छ ।
हालको राजनीति घटनाक्रमलाई चाहिँ तपाइ कसरी लिनुहुन्छ ?
त्यतापट्टी अलि कम नै छु । हुन त चासो दिन्छु र हामीजस्ता युवाले राजनीतिमा चासो चाहिँ दिनुपर्छ । तर वास्तविक देश र जनताका लागि एउटा काम गर्ने नेता चाहि अहिलेसम्म देखेको छैन ।
गीतमा राजनीतिक बिषयबस्तुले बढी प्रवेश पायो नी ?
ब्यंग्य त गरिरहेकै हुन्छु नी । ‘हामी नेपाली होइनौं स्वाभिमानी लगायतका राजनीतिप्रति ब्यंग्य गर्ने गीतहरु त गरेकै छु नी । राजनीतिप्रती ब्यग्य गर्नु जरुरी छ जस्तो लाग्छ ।
गीत गाउँदा खाली पैसो कमाउने खालको मात्र किन गाईन्छ कलाकारले पनि अन्य बिषयमा सोच्नु पर्ने हईन र ?
मैले पैसा कमाउनै लागि गीत गाए भन्नु अलि सान्दर्भिक हुन्न कि ? मैले प्राय समयसान्दर्भिक र ब्यग्यतात्मक शैलीका गीत बढी लेख्छु र गाउँछु पनि । भरु अलि अघि पैसाको बिकृतीबारे जनचेतना दिनका लागि ‘दुनीया बिगार्न पैसो’ भन्ने गीत चाहिँ गाएको थिए । मैले हरेक गीतमा फरक गर्न खोसजरहेको हुन्छु पछिल्ला तीजका गीतमा पनि त्यस्तै देखिन्छ ।
लोकगीत र तिजका गीतमा छाडापन बढेको हो ?
यो कलाकारले आफै बुझ्ने कुरा हो । लोकगीतमा सेन्सर छैन् । हामीले सङ्गीत बिकास बोर्ड हुनुपर्छ भनेर भनिरहेकै छौ । मानिस आफै अनुशासित बन्ने हो । भोली छोरा, नातीले मेरो बुबा हजुरबुबाले कस्तो गीत गाएछन् भनेर हेर्दा उनीहरुमा कस्तो छाप पर्ला भन्ने तर्फ पनि सचेत हुनुपर्छ । सेन्सर नहुँदा जसले पनि सस्तो लोकप्रियतका लागि जे गरिरहेपनि भएकै छ ।
पशुपतिका गीत पनि बढि छाडा भए भनिन्छ नी ?
मेरा गीतलाई दर्शक श्रोताले कहिल्यै पनि त्यस्तो भनेको आभाष भएको छैन । होला केहि आफन्त र प्रतीस्पर्धीले खुट्टा तान्नका लागि त्यस्तो भनेका हुन सक्छन् ।
राज्यले भूकम्पपीडितलाई केहि नगरिरहेका बेला कलाकारद्वय धुमुर्स सुन्तलीले गरेको कामलाई कसरी लिनुहुन्छ ?
त्यो एकदमै राम्रो काम गरिरहनुभएको छ । शुरुमा अमेरिकको कार्यक्रमबाट १८ लाख उठाउदा म पनि सँगै थिए । हामी सँगै भएर संकलन गरेका हौँ । नेपाल गएर केहि गर्नुपर्छ भनेर मैले पनि अनुरोध गरेको हुँ । उहाँहरु फर्केर निरन्तर लाग्नुभाछ मैले ब्यक्तिगत रुपमा गर्ने सहयोग गरिरहेकै छु । हाम्रो बानी अलि देखासिकी गर्ने छ त्यो गलत हो देखासिकी गर्नु भन्दा गरिरहेकालाई सहयोग र हौसला दिनुपर्छ ।
बिदेशमा गएर गाउनका लागि र कोटा पाउनका लागि बिशेष गरी गायिकालाई निकै गाह्रो छ भनिन्छ नी ?
म सँग जो गायिकाहरु जानुभएको छ । सबै सम्मानजनक किसिमले गइरहनुभएको छ । कुन किसिमले गायिका जानु भएको छ । साच्चिकै बोलाएर जानुभाछ कि अनेक हर्कत गरेर जानुभा छ त्यो गायिकामा भर पर्छ । जो अनुशासित, मर्यादित छ जसले कलाकारिता बुझेको छ, उहाँहरु सम्मानजक हुनुहुन्छ । अनेक हर्कत गरेर जानेको त के छ मलाई थाहा भएन ।
तपाई लोकगायक हो की तिज गायक । तीज गायक भन्छन् त धेरैले ?
लोकगीत अन्तर्गतकै धेरै प्रकारमध्ये तीज गीत हो । मैले रोईला, सालैजो, तीज, दशै, तिहार सबै गीत गाएको छु । तिजका गीत अलि बढी नै गाउने भएकाले त्यसो भन्नुभएको हो कि ? मैले सबै गीत उत्तिकै गाएको छु तसर्थ तीज गायक मात्र भन्न मिल्दैन ।
तिज बिशेषत महिलाको हो, पुरुषले बढी गाउन थाले अझ पशुपतिले त झन दर्जनौ गाउँछ भनेर भनिन्छ नी किन हस्तक्षेप ?
म सिर्जना गर्ने ब्यक्ति हुँ । अझ यो पनि ३८ जना गायिकाबाट मैले १३ जना छानेर १३ वटा मात्र गीत बनाए । मैले चाहेर समय दिएको भए त ३८ वटै पनि बनाउन सक्थे तर छनोट गरेर गरेको हुँ । म आफूले चाहेर भन्दा अन्य दिदी बहिनीको आग्रहलाई अस्वीकार गर्न नसकेर धेरै गीत बनाएको हुँ । गीत बनाएपछि दाइ तपाई नै गाईदिनुस, तपाई नै मोडल पनि भनेर आग्रह गर्नुहुन्छ त्यसैले पछिल्लो समय मोडलमा पनि जमेको छु ।
अन्त्यमा, देश विदेशमा रहेर तपाईलाई माया गर्ने दर्शक श्रोतालाई भन्नै पर्ने केही ?
सबैले माया गरिरहनुभएको छ धेरैधेरै धन्यवाद । जापान र अन्य देशहरुबाट पनि प्रबासमा रहेर माया गरेर हौसला दिनुभएको छ । आजका दिनसम्म जुन हौसाला, आर्शिबाद र माया दिईरहनुभएको छ सधै यसरी नै पाउने अपेक्षा राख्दछु ।

तपाईको प्रतिक्रिया