शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

पर्वत – पर्वत सदरमुकाम कुश्माबजारलाई प्लास्टिकमुक्त नगर घोषणा गरिएको छ । आज बिहान यहा आयोजित एक समारोहबीच कुश्माबजारलाई प्लास्टिकमुक्त नगर घोषणा गरिएको हो ।

plastic-bags_7RmxNqnXrT

प्लास्टिक झोलामा खाद्यवस्तु राख्दा मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले यसको प्रयोग निरुत्साहित गर्नका लागि प्लास्टिकमुक्त नगर घोषणा गरिएको हो ।
विगत १३ महिनादेखि सुरु भएको अभियानअन्तर्गत जिल्लामा प्लास्टिक झोलाको प्रयोगमा कमी आउँदै गएपछि यसलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो ।

सो अबसरमा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले दैनिकजसो प्रयोगमा आउने प्लास्टिक झोलाले मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने, वातावरणमा नकारात्मक असर पार्ने र जलवायु परिवर्तनमा समेत असर पार्ने भएकाले यसको प्रयोगमा रोक लगाउनुपर्ने बताउनुभयो ।

प्लास्टिकले मानिसमा क्यान्सर, स्वासप्रस्वास समस्या देखिने हुदा सचेत वर्गबाट नै यसको प्रयोगमा न्यूनीकरण गर्नुपर्ने बताउदै उहाँले भन्नुभयो – एक रुपैयाँको प्लास्टिक प्रयोग गर्दा लाखौँ रुपैयाँ स्वास्थ्योपचारमा खर्च गर्नुपर्ने बाध्यताबाट अब हामी सबै मुक्त हुनुपर्दछ ।

कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले प्लास्टिकले मानिसमा क्यान्सरजन्य रोग र वातावरणलाई समेत प्रतिकूल असर पार्ने भएकाले जनचेतना जगाउनुपर्ने बताउदै अबदेखि वैकल्पिक झोला प्रयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा अबदेखि प्लास्टिक झोला र प्लास्टिक गिलास प्रयोग नगर्ने प्रतिबद्धता पनि बजारवासीले व्यक्त गर्दै ब्यानरमा हस्ताक्षर समेत गरिएको थियो ।
न्यूनतम २० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला प्रयोगमा आजैबाट प्रतिबन्ध समेत लगाइएको छ ।

तपाईको प्रतिक्रिया