शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

Loknarayan subediहरेक वर्ष अगस्ट १२ का दिन नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरेर मनाउने र औपारिकता निर्वाह गर्ने काम गर्छ । विश्वमा सन् २००० देखि संयुक्त राष्ट्र संघकै आह्वानमा यो दिवस मनाउन थालिएको हो ।यद्यपि नेपालले भने २००४ देखि मात्रै यो अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गर्दै आएको इतिहास रहेको छ ।

हुन त युवा दिवस मनाउनु आफैमा एउटा राम्रो काम हो नै । तर युवाहरूको मुख्य समस्यालाई ओझेलमा पारेर त्यसका केही संवेदनशील पक्षमा मात्र केन्द्रित हुनु कत्तिको उपयुक्त हो भन्ने प्रश्न सर्वत्र उठ्छ र हामीकहाँ पनि उठेको छ, उठाउनु पर्दछ । किनकि आज बिश्वब्यापी रूपमा र विशेष गरेर हाम्रो देशमा ठुलो युवा शक्ति बेराजगारी, अभाव, अशिक्षा, अन्धविश्वास, कुरीति र असुरक्षाले अत्यन्तै आक्रान्त छ । त्यसमाथि भूमण्डलीकरणले थपिएको विकृति र बिसंगतिले गर्दा हाम्रो युवा समुदाय उपभोक्तबादको अत्यन्तै नराम्रो किसिमले सिकार भइरहेको छ । यस्तो स्थितिमा हाम्रो देशबाट आज घोषित रूपमा नै दिनको २००० को संख्यामा युवा शक्ति विदेशतिर पलायन भएर गइरहेको छ भने अघोषित रूपमा अवैध बाटो भएर कति युवाहरू बिदेशिन्छन् त्यसको कुनै लेखाजोखा छैन । यो वास्तवमा अत्यन्तै दयनीय स्थितिको द्योतक हो ।

यद्यपि यही युवा शक्तिले कमाइ गरी पठाएको पैसा (बिप्रेषण) ले हाम्रो राष्ट्रिय आमदानीमा करिब २५ प्रतिशत योगदान गरिरहेको गर्बकासाथ सरकारले उल्लेख गर्ने गरेको छ र नेपालमा विदेशी मुद्रा सञ्चिति र बजेट धान्न तथा अर्थतन्त्रलाई टेवा दिन यसले ठुलो मद्दत पुगिरहेको हाम्रा अर्थमन्त्री र एकथरी अर्थबिद्हरु सगौरब अर्थ लगाउने गर्दछन् । हुन पनि कृषिपछि राष्ट्रिय आयमा ठुलो योगदान गर्ने क्षेत्र नै यही रहेको पनि देखिन्छ । तर विदेशमा जाने हाम्रा ऊर्जाशील युवा यूवतिहरु लुटिने, पिटिने, मारिने, बलात्कृत हुने र लज्जित बनेर र कतिपय बेलामा त लास बनेर फर्किनु परेको अत्यन्तै दारुण र पीडादायक स्थिति व्याप्त छ । न आफ्नो देशमा रोजगारी, शिक्षा, स्वास्थ्यको क्षेत्रको हक अधिकारमा हाम्रो युवा शक्ति सुरक्षित छन् न विदेशमा नै उनीहरू सुरक्षित छन् । अत्यन्तै कष्टप्रद अवस्थाबाट उनीहरू गुज्रिरहनु परेको कटु यथार्थ हाम्रो राष्ट्रका अगाडि ठिंग उपस्थित छ । तर हाम्रो राज्य र सरकार रमिते भएर बसेको छ । देशमा वैज्ञानिक भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरण गर्ने कुनै ठोस, प्रस्ट र व्यवहारिक राष्ट्रिय नीति अख्तियार गर्न सकिरहेको छैन । फलत हाम्रो राष्ट्रिय बजार अभिबृद्धि हुन, राष्ट्रिय औद्योगिक वातावरण सिर्जना हुन र युवा पलायन रोकिन सकिरहेको छैन ।

त्यसमा पनि जुन बिप्रेषण हाम्रा युवा युवतीले स्वदेशमा पठाउँदछन् त्यो उनीहरूको रगत र पसिनाको कमाई कुनै उत्पादनशील क्षेत्रमा लाग्न लगाउन नसकिरहेको अवस्था छ । त्यस सम्बन्धी कुनै योजना, नीति र कार्यक्रम नै देशसँग छैन । त्यसैले त्यस युवा कमाइको सबैभन्दा धेरै अंश भारतबाट विभिन्न बस्तु आयात गर्न र आन्तरिक उपभोगमै समाप्त भएर गएको छ । बिज्ञहरु के भन्दछन् भने नेपाली युवाहरूले कमाएको ब्र्रिषणको केवल १० प्रतिशत मात्रै अंश नेपालको बिद्यूतिकरणमा लगाउने हो भने पाच वर्षभित्र नेपाल झलमल्ल हुने मात्र होइन, नेपालमा औद्योगिकरण, रोजगारी सिर्जना,सिञ्चाइ सुविधा, उत्पादनबृद्धि, बन तथा वातावरण सुरक्षामा ठुलो र अपूर्व सहयोग पुग्न सक्ने थियो । तर राज्य सत्ताको नेतृत्व गर्नेहरु यी सबै रचनात्मक काम गरेर राष्ट्रलाई भित्रैदेखि बलियो र सुदृढ बनाउने र युवा समुदायलाई देशप्रति गौरव गर्ने खालको बातवारण बनाउने भन्दापनि ‘ऋण गरेर घिउ खाने’ मगन्ते प्रवृत्तिको मात्रै भएको र तिनको राष्ट्रिय राष्ट्रिय चरित्र नै संदिग्ध देखिने र रहने गरेकोले यस्तो सकारात्मक विकल्पको विकास पनि हुन सकिरहेको छैन । देशले चौधवटा पञ्च वर्षीय योजना पार गरिसक्दा पनि विश्वका १० वटा गरिब राष्ट्रमा देश दरिन पुग्नुको कारण नै यही भएको छ ।

देशको पछिल्लो जन गणना हेर्दा र केलाउँदा नेपालको जनसङ्ख्यामा ४०.३४ प्रतिशत संख्या १६ वर्ष माथि ४० वर्ष मुनिको युवाहरूको मात्र छ । कुनै पनि देशका अर्थबेत्ता हरू जनसंख्याको यत्रो ठुलो हिस्सा युवाहरूको हुनुलाई अत्यन्तै ठुलो आर्थिक शक्तिको रूपमा लिन्छन् र यस्तो युवा शक्ति भएको देशलाई विकासको तीव्र गति दिनसक्ने सम्भावना भएको देशको श्रेणीमा राख्ने गर्दछन् । आजका विश्वका विकसित, मध्यम विकसित देशहरूको यथार्थले पनि यो कुराको राम्रोसँग पुष्टि गरिरहेको र गरिसकेको पनि छ । तर हामीकहा न देशको अर्थतन्त्रले सही दिशाबोध र गति पाएको छ न देशको युवा शक्तिलाई नै देशको चौतर्फी विकास प्रक्रियामा सामेल गर्ने कुनै दिशा प्रदान गर्न नै सकेको छ । यस्तो स्थितिमा हाम्रा युवाहरूको मानसिक स्थिति के कस्तो होला र हुन्छ कसैले पनि सहजै अनुमान गर्न सक्ने कुरा छ ।

आजको पछिल्लो समयको देशको युवाहरूको स्थितिलाई हेर्ने र केलाउने ज्ञाताहरुले सामाजिक विभेद, बिषमता, बेरोजगारी र कुलतका कारणले नेपाली युवाहरूको मानसिक र शारीरिक स्वास्थ्यको समस्या नराम्रोसँग बढ्दै गएको औंल्याएका छन् । त्यस्तो अवस्थामा एकातिर सरकारले मानसिक स्वास्थ्योपचारका लागि पर्याप्त बजेट प्रदान गर्न सकेको छैन भने अर्कोतिर ऊर्जाशील नेपाली युवाहरूको मानसिक स्वास्थ्य उपचार सम्बन्धी कुनै ठोस र प्रभावकारी राष्ट्रिय नीति नै बने बनाएको देखिदैन । अनि जे जस्तो फितलो र कमजोर नीति यस सम्बन्धमा बनाइएको छ त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । यस्तो अवस्थामा युवा समुदायलाई मानसिक स्वास्थ्यमा कुनै विकृति र बिसंगति आउन नदिने के गर्नु पर्दछ भन्ने कुरा एकदमै प्रस्ट छ । उनीहरूको मानसिक स्वास्थ्यमा किन कमजोरी आयो भन्ने प्रश्नको उत्तर के हुन्छ भने उनीहरू विभेदमा परे पारिएका छन् बेराजगार छन्, कुलत र कुबेशनमा लाग्न बाध्य भएका वा बनाइएका छन् । यी गम्भीर समस्याको ठोस निराकरणका कदम चाल्नतिर आजै र अहिलेदेखि नै अग्रसर हुनु नै वास्तवमा अन्तर्राष्ट्रिय युवा दिवसहरु मनाएको पनि सार्थकता हुन्छ ।

अन्यथा यी दिवसहरु फगत औपचारिकता पूरा गर्ने कर्मकाण्डीय कुरामा सीमित हुन पुग्दछन् । तिनले युवा समाजमा सुनिश्चित र सुन्दर भविष्यको कुनै आशा र विश्वासको सञ्चार गर्न सक्तैनन् । युवाहरूको जोस र जाँगरलाई सही किसिमले राष्ट्र निर्माणमा लगाउने वातावरण पनि बनाउन सक्तैनन् । यो एकदमै अकाट्य र यथार्थ कुरा हो । नीति निर्माता, योजनाकार, राज्य र समाज सिङ्गैले ध्यान दिनु पर्ने कुरा हो यो ।

तपाईको प्रतिक्रिया