बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – सरकारले वितरण गर्ने निःशुल्क औषधिकै अभाव देखिन थालेको छ । झन्झटिलो खरिद प्रक्रियाकै कारण अभाव हुन थालेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।

झाडापखाला र आउँको समस्या धेरै देखिने वर्षाको यो बेला झन् औषधिकै अभाव देखिएको छ । महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीका अनुसार झाडापखाला र आउँ परेका बिरामीलाई दिइने मेट्रोनिडाजोल ट्याबलेटको अभाव भएको छ । मेट्रोनिडाजोलको भने अभाव हुँदा झाडापखालाको महामारी देखिए उपचारमा नै समस्या आउन सक्छ ।

यो औषधिसहित अभाव देखिएका अरु केही औषधि खरिदका लागि ठेक्का दिइएको तिंकरीले बताउनुभयो । तर ठेक्का दिएको दुई तीन महिना पछि मात्रै औषधि नेपाल आइपुग्ने भएकाले तत्काल अभाव टर्ने सम्भावना भने छैन ।

खरिद प्रक्रियाको झन्झटका कारणले गर्दा नै सरकारले ७० प्रकारका औषधि निःशुल्क दिने भने पनि त्यस अनुसारको काम अझै हुन सकेको छैन । अहिले ४० प्रकारका निःशुल्क औषधिको खरिदमा पनि समस्या भइरहेको विभागका कर्मचारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया