बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

Prachandaसंसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा संसद्का ५ सय ७३ सदस्यले मतदान गरेकोमा ३६३ मत ल्याएर उनी दोस्रोपटक मुलुकका कार्यकारी प्रमुख बनेका हुन् । यसअघि २०६५ साल साउनको अन्तिम साता पनि उनी प्रधानमन्त्री निर्वाचित भएका थिए । दोस्रो पटक भएको सत्तारोहणसंगै प्रचण्डका सामु अवसर र चुनौतीका ठूला ठूला चाङ छन् । अत्यन्त संबेदनशील र असामान्य अवस्थामा सरकारको नेतृत्व सम्हाल्न पुगेका प्रचण्डको सामु संबिधानको सफल कार्यान्वयन गराउने, त्यसका लागि संबिधानमा आवश्यक संशोधन गर्ने, खाली आकाशमुनिका भूकम्प पीडितहरुको आँशु पुछ्ने लगायतका कामहरुलाई प्राथमिकताका साथ अगाडि बढाउने चुनौतीहरु छन् । त्यो भन्दा पनि सबैभन्दा ठूलो चुनौती भनेको ओली सरकारलाई ढाल्नुको औचित्य साबित गरेर देखाउनु हुने छ । अर्कोतिर संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेससंग मिलेर बनेको सरकार भएकोले सत्ता समीकरणमा थोरै मात्र तलमाथि हुँदासाथ सरकार नै धरापमा पर्न सक्ने खतरा प्रचण्डले सँधै मोलिरहनुपर्ने छ ।

यसैगरी नयाँ संबिधानमा प्रावधान गरिएको संघीयता कार्यान्वयनको मुख्य आधार मानिएको तीन तहको निर्वाचन, निर्वाचनपूर्वको राजनीतिक सहमति र पूर्वाधारका रूपमा आवश्यक कानुन र प्रशासनिक संरचना निर्माण गर्नु पनि प्रचण्ड सरकारको अर्को महत्वपूर्ण कार्यभार हुने छ । हरेक हिसाबले समय अत्यन्त कम तर जिम्मेवारी र चुनौतीको सगरमाथाका बिच सत्ताको बागडोर सम्हाल्न पुगेका प्रचण्डको सरकार संभावित दुर्घटनाबाट बच्दै चुनौतीहरुको सामना गर्न सकेन भने यसपछि हुने राजनैतिक अस्थिरताको भागीदार जति प्रचण्ड सरकार नै हुने छ । त्यसकारण पनि प्रचण्डको सत्तारोहण यात्रा सहज छैन यतिबेला ।

सबबिदितै छ कि, खुकुरीको धारमा उभिएको प्रचण्ड सरकारसामु संगीन चुनौतीहरु अवश्य छन् तर अर्कोतिर रंगिन अवसरहरु पनि उत्तिकै छन् । उपयोग र कार्यसम्पादन कसरी अगाडि बढ्छन् भन्ने मात्र हो । उनी र उनको पार्टीमाथि जबर्जस्ती लाग्दै आएको आरोपहरुलाई लोकप्रिय कामहरु मार्फत गलत साबित गर्न सके उनका लागि यो कार्यकाल उपयुक्त अवसर हुने छ भने टुक्रिदैं जोदिंदै गरेको उनको पार्टी माथिको बिश्वसनीयतालाई राम्रा कामहरु देखाएर नयाँ उचाईमा पुर्‍याई अब हुने निर्बाचनमा जनमत आफ्नो पक्षमा पार्न पनि उनको लागि यो उपयुक्त अवसर हुने छ ।

उनको पहिलो कार्यकाल शान्तिप्रक्रिया र आन्तरिक तथा बाहृय राजनीतिक किचलोका बिच गुज्रेकोले प्रचण्डले केही गर्छन् भनेर जनताले राखेको आशा पूरा नभएको सन्दर्भमा उनलाई जनताको सेवा गरेर देखाउने यो अन्तिम अवसर पनि हुने छ । यदि यसपटक पनि उनी असफल भए भने उनको राजनीतिक जीवन नै धरापमा पर्न सक्ने अर्को ठूलो खतरा पनि उत्तिकै छ ।

भूमिगत हुँदा होस् या सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा बिगत दुई दशकदेखि लगभग प्रचण्डकै वरिपरि घुमिरहेको नेपालको राजनीति अब कता जान्छ भन्ने प्रश्नको जबाफ आजको मितिमा पनि प्रचण्डकै वरिपरि देखिन्छ । नेपाली राजनीतिका एक चतुर खेलाडि मानिने प्रचण्डको यो दोस्रो कार्यकाल उनका लागि साँच्चिकै अग्नीपरीक्षा हुने छ । यस परिक्षामा उत्तीर्ण हुन सके भने उनको हाइट अझ अग्लिएर जाने छ र साँच्चिकै राजनेता कहलिने छन् । तर असफल साबित भए भने उनको राजनीतिमा प्रश्नवाचक चीन्ह लाग्ने निश्चित छ । यो ऐतिहासिक घडिमा सत्तारोहणको उन्माद र गलत झुण्डहरुबाट टाढै रहेर समयले सुम्पेको जिम्मेवारीलाई पुरा गर्न सकेमा मात्र मुलुक र मुलुकबासीको हितमा हुने छ ।***

तपाईको प्रतिक्रिया