शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – व्यवस्थापिका–संसदको विकास समितिले बाढी–पहिरो प्रभावितलाई तत्काल राहत, उद्धार र उपचारको  व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार बसेको विकास समितिको बैठकले प्युठान, गुल्मी, दाङ, बर्दिया लगायतका बाढी–पहिरो प्रभावित जिल्लामा तत्कालै राहत पुर्‍याउन र उद्धारका लागि विभिन्न क्षेत्रमा हेलिकप्टर तैनाथ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले बाढी पहिरो प्रभावित क्षेत्रमा बिग्रिएका सडक निर्माण, स्वास्थ्य अवस्था, जोखिम न्यूनिकरणका लागि भइरहेका प्रयास लगायत विषयमा नेपाल मुख्य सचिव, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीसँग पनि छलफल गरेको छ ।

पुल, बाटोघाटो  बिग्रिएमा तत्कालै मर्मतको लागि डोजर स्काभेट, बेलीबृज जस्ता अत्याधुनिक उपकरण र जनशक्तीको जोहो गर्न पनि विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै समितिले बाढी–पहिरोबाट भएको संरचना मर्मत गरी सेवा सुचारु गर्नक प्रत्येक नगरपालिकामा विपद् तथा जलवायु जोखिम सिकाइ केन्द्र स्थापना गरी अबिलम्ब कार्य सुरु गर्न संघीय मामिलातथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

विकास समितिले प्राकृतिक प्रकोपको बेला फिल्डमा जाने कर्मचारीलाई अहिले रहेको ७ दिनको काजमा खटाउने व्यवस्था समयानुकुल परिवर्तन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया