शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मोर्चा सम्मिलित कार्यदल गठन गरिएको छ ।

मोर्चाका माग र सरकारमा सहभागी हुने मस्यौदा तयार गर्न कांग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीनतीन जना सदस्य रहनेगरि कार्यदल बनाइएको र कार्यदलमा रहने नेताको नाम बेलुकासम्ममा टुंगो लगाइने कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

कार्यदलले राजनीतिक प्रतिबद्धता मस्यौदा तयार पार्ने र मधेसी मोर्चाको चित्त बुझेपछि नयाँ सरकारलाई समर्थन गर्ने कांग्रेस नेता रमेश लेखकले बताउनुभयो । नयाँ प्रधानमन्त्रीको चुनावमा मधेसी मोर्चाको समर्थन जुटाउन गरिएको छलफलमा विशेष गरी कांग्रेस र माओवादी गठबन्धनबीच भएको सातबुँदे सहमतिको पहिलो बुँदामा केन्द्रित भएर छलफल भएको नेता निधिले जानकारी दिनुभयो ।

सातबुँदे सहमतिको पहिलो बुँदामा मधेसी समुदायको माग सम्बोधन गर्न संविधान संशोधन गर्न सकिने उल्लेख छ । छलफलका क्रममा मोर्चाले आफ्ना मागबारे प्रस्ट रूपमा लिखित सहमति भएमा मात्र नयाँ प्रधानमन्त्रीको चुनावमा सहयोग गर्ने बताएका छन् । सहमतीय सरकारका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय भोलि आइतबार सकिँदैछ ।

तपाईको प्रतिक्रिया