बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

फलेवास – पर्वतमा किसानको गोठदेखि उपभोक्ताको ओठसम्म स्वच्छ दूध पुर्याउने अभियान सुरु भएको छ । उपभोक्तालाई स्वस्थ्य र स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले उक्त अभियान थालिएको हो । जिल्ला पशुसेवा कार्यालय पर्वतको सहयोगमा व्यावसायिक किसानले उत्पादन गरेको दूध स्वच्छ रूपमा सङ्कलन केन्द्रसम्म र सङ्कलन केन्द्रदेखि उपभोक्ताको घरसम्म पुर्याउन लागिएको हो ।

milk_10

उक्त अभियान अन्तर्गत व्यावसायिक किसानलाई ‘मिल्क क्यान’ वितरण गरिएको छ । अभियान ग्रामीण क्षेत्रमा उत्पादित दूध सङ्कलन केन्द्रसम्म र केन्द्रदेखि उपभोक्तासम्म लैजानका लागि ५० वटा मिल्कक्यान वितरण गरिएको छ । दुग्ध व्यवसायीले उत्पादन गरेको दूध सङ्कलन केन्द्रसम्म गुणस्तरीय तथा सुरक्षित रूपमा पुराई उपभोक्तालाई स्वच्छ दूध उपभोगमा सहयोग गर्ने उद्देश्यले ५० वटा मिल्क क्यान वितरण गरिएको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ ।

व्यावसायिक रूपमा गाई तथा भैंसीपालेर दूध उत्पादन गर्दै आएका किसानलाई १० लिटर क्षमताका क्यान वितरण गरिएको हो भने दुग्ध सङ्कलन गर्ने सहकारीलाई भने ठुला क्षमताका क्यान वितरण गरिएको छ । जिल्लाको पातीचौर क्षेत्रमा १०, हुवास क्षेत्रमा १० र सदरमुकाम कुश्माबजार आसपास ३० वटा क्यान किसानलाई वितरण गरिएको छ । यसअघि व्यवसायीले प्लास्टिकका भाँडामा सङ्कलन केन्द्रसम्म दूध पुर्याउने गरेका थिए ।

‘स्टिलको भाँडामा दूध ल्याउदा त्यसको गुणस्तर कायम रहने र ब्याक्टेरियाको सङ्क्रमण न्यून हुन्छ’, वरिष्ठ पशु विकास अधिकृत डा. सुधिर थापाले भन्नुभयो, ‘गोठदेखि ओठसम्म स्वच्छ दूध भन्ने नारा अनुसार किसानलाई मिल्क क्यान वितरण गरिएको हो, यसले दूधको गुणस्तरमा केही परिवर्तन गर्दैन् ।’ पर्वतमा अहिले झन्डै १५० जना किसानले व्यावसायिक रूपमा फर्म सञ्चालन गरेर दूध उत्पादन गर्दै आएका छन् ।

पछिल्लो वर्ष जिल्ला दूध उत्पादनमा समेत आत्मनिर्भर बनेको छ । वर्षायाममा जिल्लामै उत्पादन भएको दूधखपत नभएर मिल्क होलिडे समेत हुने गरेको जिल्ला पशुसेवा कार्यालय पर्वतका पशु विकास अधिकृत विष्णुबहादुर पाण्डेले जानकारी दिनुभयो । सदरमुकाम कुश्मा बजारमा मात्रै दैनिक चार हजार लिटरसम्म दूध खपत हुँदै आएको छ । उक्त दूध पर्वतकै विभिन्न गाईभँैसीपालन पकेट क्षेत्रबाट उपलब्ध हुने गरेको छ ।

दुग्ध व्यवसायी किसानले भने किसान पनि व्यवसायमा इमान्दार नभएका कारण दूधको गुणस्तरमा फरक पर्ने बताए । राज्यले दिएको सेवा मात्र लिन खोज्ने अनि व्यवसाय प्रति इमान्दार नहुँदा उपभोक्ताले मूल्य अनुसारको दूध उपभोग गर्न नपाएको फलेवास दुग्ध सहकारी संस्थाका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । मिल्क होलिडे हुन नदिनका लागि निर्यातको व्यवस्था गर्न किसानले कार्यालयसँग माग गरेका छन् ।

सदरमुकामबाट नजिक पोखराका दुग्ध डेरीसँग समन्वय गरी मिल्क होलिडे हुन नदिन जिल्लास्तरीय दुग्ध व्यवसायी परिचालक सङ्घसमेत गठन गरिएको छ । हिउँदको समयमा भने दूध उत्पादन कम हुने हुँदा उत्पादित दूध जिल्लामै खपत हुने गरेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया