शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

darjanauटोकियो – टोकियोका अगुवा नेपालीहरुले शुक्रबार साँझ नेपालका दर्जनौ जिम्मेवार न्यायमूर्तिहरुसंग अन्तर्क्रिया गरेका छन् ।

सर्बोच्च अदालतका वरिष्ठ न्यायधिश गोपाल पराजुलीको नेतृत्वमा दुई हप्ते प्रशिक्षण कार्यक्रममा भाग लिन जापान आएको १६ सदस्यीय न्यायधिश तथा न्यायिक क्षेत्रका उच्च प्रशासकहरुको टोलीसंग उनीहरुले भेटघाट तथा अन्तर्क्रिया गरेका हुन् ।
’मुलुक निर्माणमा न्यायपालिकाको भूमिका’ बिषयक अन्तर्क्रियामा प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ न्यायधिश पराजुलीले न्याय भनेकै बिकासका लागि समाजले आविष्कार गरेको सत्यताको खोजी गर्ने बिधि भएको बताउनुभयो । ’अदालतले सँधै नागरिकको प्राकृतिक अधिकारको रक्षा गर्दै समाजमा बिधिको शासन लागु गराउन क्रियाशील भईरहेको हुन्छ’ – उहाँले अगाडि भन्नुभयो – समाजमा न्यायलाई मर्न नदिई अदालतले सँधै बिकासको सहयोगी भूमिका निर्बाह गरिरहेको हुन्छ ।’उहाँले जीवन र जगतलाई बुझ्ने क्रममा नेपालीहरु भूगोलका जुनसुकै सिमारेखाहरुमा पुगे पनि त्यहाँ उनीहरुले हासिल गरेका उद्यमशिलता र विद्वताले मुलुकको बिकासमा ठूलो सहयोग पुगिरहेको बिचार ब्यक्त गर्नुभयो । न्यायधिश पराजुलीलाई अब हुनेवला सर्बोच्च अदालतको प्रधान न्यायधिशका रुपमा पनि हेर्ने गरिएको छ ।

अन्तर्क्रिया कार्यक्रमको प्रारम्भमा टोलीको स्वागत गर्दै कार्यक्रम संयोजक ब्यवसायी महेशकुमार श्रेष्ठले नेपालको तिब्र बिकासमा न्यायपालिकाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बिचार ब्यक्त गर्नुभयो । काठमाडौंका सडक बिस्तारमा न्यायपालिकाले खेलेको सहयोगी भूमिकाको उदाहरण दिंदैं उहाँले मुलुकको निर्माणमा न्यायिक क्षेत्र सकारात्मक बन्न सके बिकासको गतिले छलाङ मार्न सक्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले नेपालको संबिधान २०७२ को धारा २९१ मा बिदेशमा बसेका नेपालीहरुका हक, अधिकारलाई कुण्ठित गरिएकोप्रति नेपालका जिम्मेवार न्यायमूर्तिहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधीहरु, जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, पत्रकार तथा सर्बसाधारण नेपालीहरुको सहभागिता रहेको थियो । सर्बोच्च अदालतका वरिष्ठ न्यायधिश पराजुलीको नेतृत्वमा जापान आएको टोलीमा पुनराबेदन अदालतका न्यायधिशद्वय प्रेमराज कार्की र महम्मद साबिर हुसेन, धनुषा जिल्ला अदालतका न्यायधिश ऋषि अधिकारी, सिन्धुपाल्चोक जिल्ला अदालतका न्यायधिश चिन्तामणि बराल, मकवानपुर जिल्ला अदालतका न्यायधिश कृष्णराम कोईराला, रौतहट जिल्ला अदालतका न्यायधिश डा. श्रीप्रकाश उप्रेती, दाङ जिल्ला अदालतका न्यायधिश चुरामन खड्का, काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायधिश मेदिनीप्रसाद पौडेल, न्यायपरिषदका सहसचिव निर्मला पौडेल, राष्ट्रिय न्यायिक प्रतिष्ठानका उपनिर्देशक पारस पौडेल, बैदेशिक रोजगार न्यायधिकरणका सदस्य लेखनाथ पौडेल, सर्बोच्च अदालतका उपसचिवद्वय बिदुर काफ्ले र सुमनकुमार न्यौपाने, सर्बोच्च अदालतका शाखा अधिकृत श्रद्धा रिजाल पौडेल लगायतका हुनुहुन्थ्यो । प्रशिक्षण अवधिभर उक्त टोलीको दोभासेकारुपमा सहयोगी भूमिकामा भने नेपाली भाषाका जानकार जापानी नागरिक हारुहितो नोजु रहनुभएको थियो ।

पत्रकार भूषण घिमिरेले सहजीकरण गर्नुभएको उक्त अन्तर्क्रिया कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीले सहकार्य गरेको थियो भने सो कम्पनीका अध्यक्ष महेशकुमार श्रेष्ठले संयोजन गर्नुभएको थियो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जापान इन्टर्नेशनल कोअपरेशन एजेन्सी-जाइका) को सहयोगमा ओसाकामा भएको न्यायिक प्रशासनको ब्यवस्थापन सम्बन्धि दुई हप्ते प्रशिक्षणमा भाग लिन न्यायधिशहरुको टोली जापान आएको हो । जाइकाले नियमितरुपमा नेपालका न्यायधिशहरुलाई जापान बोलाई यसप्रकारको प्रशिक्षण दिदैं आईरहेको छ । जापानमा न्यायिक प्रणालीको ब्यवस्थापन सम्बन्धि यस प्रकारका प्रशिक्षणबाट सिकेका कुराहरुलाई नेपालका जिम्मेवार न्यायमूर्तिहरुले के कति ब्यवहारमा उतारेका छन् र उतार्ने हुन् त्यो भने हेर्न बाँकी छ । बेला बेलामा भईरहने यस्ता महत्वपूर्ण प्रशिक्षण र सेमिनारबाट नेपालले के कति उपलब्धि हासिल गर्न सक्यो यसको पनि समय समयमा समीक्षा हुनु जरुरी देखिन्छ ।***

तपाईको प्रतिक्रिया