शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

सिन्धुपाल्चोक – मेलम्ची एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोेकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् । dhurmus-suntali-1

देश विकासको मूल प्रक्रिया भनेको एकीकृत नमुना बस्ती विस्तार भएकाले ‘क्लिन सिटी’ र ‘ग्रिनसिटी’ को अवधारणाअनुरुप भूकम्पपीडितका साथसाथै अपाङ्गमैत्री तथा बालमैत्री र वातावरण मैत्रीसहितको भूकम्पप्रतिरोधात्मक भवन निर्माणकार्य भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताउनुभयो । गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वय गरी नमुना बस्ती निर्माण कार्य थालनी गरिएको हो । मेलम्ची नगरपालिका–८ स्थित विपन्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्षरुपमा फाइदा पुग्नेगरी ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ वटा भवन, पाँचवटा चिल्डेन पार्क र एउटा खेलकुद मैदान सहितको एकीकृत बस्ती निर्माण कार्यमा कलाकार धुर्मुस र सुन्तली लागिपरेका छन् । निर्माणको लागि जम्मा रु पाँच करोडको बजेट निर्धारण गरेको भए पनि सुरुमा आफ्नो धुर्मुस सुन्तली फाउन्डेसनको अक्षयकोषमा रु एक लाख ७४ हजार हुँदै गर्दा निर्माण कार्य थालेको कट्टेलले बताउनुभयो ।

देश विदेशमा रहनुभएका नेपाली, विदेशी तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा अहिलेसम्म रु पाँच करोड सङ्कलन भइसकेको छ । असार महिनासम्ममा निर्माण कार्यका लागि चाहिने सिमेन्ट, रड, बालुवा, गिट्टीलगायतका अन्य सामग्री गरी रु ५९ लाख खर्च भइसकेको र साउन महिनाको खर्चको विवरण यसै महिनाको अन्तिममा आउने फाउन्डेसनले जानकारी दिएको छ । नमुना बस्ती निर्माणका लगी २०७३ वैशाख १२ गते शिलान्यास गरिएको भए पनि सम्पूर्ण तयारीका साथ बस्ती निर्माण कार्य जेठ ९ गते सुरु भएको र दसैँको घटस्थापनाको दिन हस्तान्तरण हुने गरी निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ । निर्माण कार्यका लागि प्रत्येक ६५ घरधुरीका एक जना तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयम्सेवकका रूपमा रहेका गरी जम्मा १०० जनाले दैनिक श्रम गर्ने गरेका छन् भने शनिवारको दिन २०० सम्म पुग्ने गरेका छन् ।

असार साउनको समयमा निकै वर्षा हुने हुँदा ढुवानी गरेर ल्याउने कच्चा पदार्थ सिमेन्ट लगायतका वस्तु भिजेर डल्लो पर्ने हुँदा प्रयोग बिनै नष्ट हुने गरेको छ । हेलम्बु राजमार्ग अन्तर्गतको सिन्धुखोलाबाट करिब पाँच किलोमिटरमा माथि रहेको उक्त बस्तीमा पुग्नको लागि सडकको अतिनै दयनिय अवस्था रहेको छ जसका कारण कच्चा पदार्थ लैजान प्रयोग हुने सवारीसाधन जानको लागि निकै कठिनाइ पर्ने गरेको छ । उक्त क्षेत्रमा खानेपानीकोे लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब ८०० मिटर गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउनको लागि पाइप बिछ्याउने कार्य भइरहेको छ । Giranchour.00_10_13_18.Still003

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले धुर्मुस एकीकृत नमुनाबस्ती निर्माण कार्य सरकारलाई सघाउने अभियान भएको र राम्रो इच्छाशक्ति भएकाले पनि यस निर्माण कार्यमा दरिलो भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले डाँडाकाँडा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माण कार्यमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने र भुईँचालोले यो ठुलो अवसर दिएको कुरा बताउनुभयोे । समाजका र देश निर्माणका लागि केही गरौँ भन्ने हेतुका साथ कलाकार जोडी धुर्मुस–सुन्तली अहोरात्र खटेर बस्ती निर्माणमा जुटेको र यो देशको लागि धेरै ठुलो उदाहरणीय कार्य बनेको मेलम्ची नगरपालिकाका युवा धीरेन गुरुङले बताउनुभयो ।

कलाकारिता क्षेत्रको विषयमा कुरा गर्दै सीताराम कट्टेलले आफ्नो कलाकारिता क्षेत्रलाई केही समयको लागि विश्राम गरेको र एकीकृत बस्ती निर्माणपछि पहिलेजस्तैे आफ्नो कलाकारिता क्षेत्रमा फर्कने बताउनुभयो ।

तपाईको प्रतिक्रिया