शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

1

काठमाडौं – टे«किङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)मा देखिएको विवाद समाधानका लागि भएको छलफलमा कार्यसमितिका महासचिव कर्ण लामा र कोषाध्यक्ष लिलाबल्लभ दाहाल आरोप प्रत्यारोपमा उत्रेका छन् ।
पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘फेस टू फेस’ कार्यक्रममा सहभागिता जनाउँदै टानका आन्तरिक समस्यालाई सञ्चारमाध्यममा ल्याएर नाङ्गो बनाएको भन्दै एक पक्षले आक्रोश पोखे भने अर्को पक्षले कामै गर्न नदिएको भन्दै गुनासो गरे । कार्यक्रममा टानका अध्यक्ष चन्द्र रिजालले वर्तमान कार्यसमितिले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै कार्यसमितिले व्यवसायीको हीतका लागि धेरै राम्रा कार्यक्रमहरु ल्याएपनि कार्यसमितिमा दुई खेमा देखिदा समस्या आएको बताउनु भयो । उहाँले कोषाध्यक्ष लिलाबल्लभ दाहाललाई इंकित गर्दै कोषाध्यक्षले कार्यसमिति मार्फत बहुमतले पारित गरेका कार्यक्रममा समेत फरक मत राखि बजेट निकासामा सहज नबनिदिदा धेरै कार्यक्रमहरु बीचैमा अलपत्र परेको बताउनु भयो । उहाँले कोषाध्यक्षले चेकमा हस्ताक्षेर नगर्दा र हरेक कार्यक्रमहरुमा प्रतिपक्षीको भूमिका निर्वाह गरिदिदा टानले गति लिन नसकेको गुनासो गर्नुभयो । सोही कारण कोषध्यक्ष दाहाललाई स्पष्टीकरण सोध्न समेत बाध्य भएको उहाँको भनाइ छ ।

6
यसैबीच, कोषाध्यक्ष दाहालले भने आफूलाई एक्लो पारी कार्यसमितिले बाघले बाच्छोलाई लखेटेको झैं गरि लेखेटेको भन्दै आफूले पनि बाच्छोको सिंग चलाएको सटिक जवाफ दिनुभयो । उहाँले टानलाई गलत बाटोमा जान नदिन र अनावश्यक डोनेशनहरु रोक्न आफूले सबै चेकमा हस्ताक्षर नगरेको बताउनु भयो । कोषाध्यक्ष दाहालले भनेजस्तो सबै चेकमा हस्ताक्षर गर्दै पठाउँदै गरेको भए तीन महिना अघि नै कर्मचारीले तलब खान नपाउने बताउँदै हाल अब २ लाख मात्र रकम टानको खातामा रहेको जानकारी गराउनु भयो । उता, महासचिव कर्ण लामाले पनि कोषाध्यक्षकै कारण टान गतिहीन बनेको आरोप लगाउनु भयो । उहाँले कोषाध्यक्षले फोनै नउठाउने, महत्वपूर्ण भनेका बैठकहरुमा अनुपस्थित हुने, भित्र अर्कै कुरा गर्ने–बाहिर अर्कै कुरा गर्ने र संस्थालाई समयनै नदिदा यो हालतमा आइपुगेको प्रष्ट पार्नुभयो ।
टानमा लामो समयदेखि विवाद आइरहेपनि समाधानको बाटो नआउँदा जाट–नेपालले ‘फेस टू फेस’ कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक तथा प्रथम उपाध्यक्ष शिव श्रेष्ठले बताउनु भयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटा, टानका पूर्व अध्यक्ष ज्योति अधिकारी, दीपक महत, निवर्तमान अध्यक्ष रमेश धमलालगायतका व्यक्तिहरुले धारणा राखेका थिए । कार्यक्रम देवी पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया