बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर कामविहीन भएका छन् । समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरु नगरेकाले इन्जिनियरहरू कामविहीन भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भूकम्प प्रभावित ११ जिल्लाका दुई लाख ४४ हजार ६ सय २४ पीडित परिवारसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेको छ । तीमध्ये ३४ हजार नौ सय ४८ पीडित परिवारको खातामा मात्रै पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भएको छ । बर्खा लागेपछि रकम पाएकाले भूकम्पपीडित कसैले पनि घर निर्माण गर्न सकेका छैनन् । प्राधिकरणले भूकम्पपीडितका घर निर्माणमा सघाउने भन्दै भूकम्प प्रभावित ११ जिल्लामा एक महिनाअघि दुई हजार ६ सय इन्जिनियर परिचालन गरेको छ । आफ्नो काम नभएपछि उनीहरू गाविस कार्यालयको सहायकका रूपमा छन् । 11

खातामा रकम पुगेका भूकम्पपीडितले निर्माण नथालेकाले इन्जिनियरहरूले काम गर्न नपाएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अनन्तबहादुर सिलवालले जानकारी दिनुभयो । ‘अनुदान सम्झौता भएर केही पीडितको खातामा रकम पनि आयो । तर, घर बनाउन थालिएको छैन,’ सिलवालले भन्नुभयो , ‘केन्द्रबाट इन्जिनियर आएका छन् । उनीहरू गाउँमा पुगेका पनि छन् । तर, काम गर्न पाएका छैनन् । घर बनाउने काम नै सुरु भएको छैन । यस्तो अवस्थामा उनीहरूले के काम गर्ने ?’ गोरखाका सहायक सिडिओ नेत्रबहादुर शर्माले घर बनाउन खटिएका इन्जिनियर अनुदान सम्झौतामा गाविससचिवलाई सघाएर बसेको बताउनुभयो ।

उँहाले भन्नुभयो,‘इन्जिनियरहरूले अहिले गाविससचिवसँग बसेर अनुदान सम्झौता गर्न सघाउने काममा खटिएको सुनिएको छ ।’ प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई अहिले गाविस सचिवलाई सघाउन भनिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्लामा खटिएका सबै इन्जिनियरलाई गाविससचिवलाई सघाउन भनेका छौँ । सोहीअनुसार उनीहरूले अनुदान सम्झौतामा सघाएका छन् । निर्माणकै काममा भने खटाउन सकिएको छैन ।’

तपाईको प्रतिक्रिया