अनुभूत गर्न नसकिएको परिवर्तन

नेपालको इतिहासमा २००७ सालदेखिको मात्र कुरा गर्ने हो भने पनि बिभिन्न कालखण्डमा एकपछि अर्को गर्दै हालसम्म ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । तर सोहीअनुसार नेपाली जनताले परिवर्तनको अनुभूत भने गर्न पाएका छैनन् । यो साँचो यथार्थ कसैबाट छिपेको छैन । ६५ वर्षदेखिको लामो अपेक्षा पछि संविधानसभाबाट संविधान त जारी भएको छ, तर यसको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको बाटोमा लैजाने र नेपाली जनताको जीवनशैलीमा परिवर्तन ल्याउने चुनौती भने ज्यूँका त्यूँ छन् ।
देश शान्ति प्रक्रियामा प्रवेश गरेको पनि नौ वर्ष बितिसकेको छ । यस अवधिका अधिकांश समय प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएकै थिए । दलहरू प्रतिबद्ध भइदिएको भए यो अवधिमा पनि विकास निर्माणका थुप्रै कामहरु अगाडि बढाउन सकिन्थ्यो र त्यसबाट नेपाली जनताले परिवर्तनको अनुभूति गर्न सक्थे । विडम्वनाको कुरो त्यसो हुन सकिरहेको छैन । जसले गर्दा हरेक क्षेत्रमा निराशा र कुण्ठा बढाएको छ । यसलाई राज्यको बागडोर सम्हालेका जिम्मेवार शक्तिले बेलैमा सम्बोधन गर्न सक्नुपर्दछ ।

राजनैतिक दलहरुबीचको सहकार्यमा चलेको यो नौ वर्षमा राज्य र नेतृत्वले चाहेको भए अहिलेको आवश्यकतालाई पूरा गर्न पुग्ने बिजुली उत्पादन हुन सक्थ्यो । विडम्बनाको कुरो नेतृत्वको ध्यान यतातर्फ भन्दा पनि सत्ताको भागबण्डा र राजनीतिक भविष्य निर्माण गर्ने दलीय स्वार्थमा बित्यो । जसले गर्दा मुलुकको समृद्धिका कुरा त परै जाओस् दाताले दिएको सहयोगबाट भूकम्प पीडित नेपालीहरुको घरबासको समेत पुन:निर्माण हुन सकेको छैन । यसबिचमा नेपाली जनताले देखाएको यो धैर्यता र सहनशिलतालाई राज्यले कमजोरी ठान्नु हुँदैन ।

नेपालको विकास निर्माणका लागि आवश्यक पर्ने क्षमतावान लाखौं जनशक्ति अहिले पनि बाध्यतावश परेर आफ्नो जन्मभूमि छोडेर विदेशमा पसिना बगाउन विवश छ । यो शक्तिलाई देशभित्रै आकर्षित गरी आफूसँग भएको सीप र क्षमता आफ्नै माटोमा पोख्ने वातावरण राजनीतिक नेतृत्वले बनाउनुपर्दछ । तर हाम्रो नेतृत्वले चुनावी राजनीतिभन्दा पर देख्ने हिम्मत देखाएको पाईदैन । त्यसैले त पढे लेखेका हजारौं युवाहरु रोजगारीका लागि वर्षौं सडकमा भौतारिएर केही सीप नलागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दिनहुं बिदा भईरहेका हुन्छन् । के तिनीहरुलाई मुलुकमै फर्काउने योजना राज्यले बनाउन सक्दैन ? देशको राजनैतिक परिवर्तनले बोकेको एजेण्डाअनुरूप काम गर्ने हो भने यो शक्ति मुलुक परिवर्तनका लागि अद्वितीय स्रोत बन्न सक्छ ।
नेपालमा ८३ हजार मेघावाट बिजुली उत्पादन गर्ने जलस्रोत छ भनेर गर्वले छाती फुलाईन्छ । तर दुरदराजका कुरै छोडौं, राजधानीबासी नै लोडसेडिङको मारमा दिनहुँ घण्टौसम्म अध्याँरोमा बस्नुपर्ने अवस्था छ । देशको अहिलेको आवश्यकता पूरा गर्ने बिजुली कसरी निकाल्ने भनेर बेलैमा ध्यान दिएको भए आज यो अवस्था आउने थिएन । यसैगरी कृषिप्रधान देश, त्यसमा पनि ६५ प्रतिशतभन्दा बढी जनता संलग्न रहेको कृषि क्षेत्र भनेर गर्व गरिन्छ, तर देशलाई खाद्यान्नमा आत्मनिर्भर कसरी तुल्याउने भन्ने उपायको खोजीमा राज्यको ध्यान पुगेको देखिदैन । त्यस्तै पर्यटनको क्षेत्रमा अथाह सम्भावनाहरु छन् । यस क्षेत्रको समुचित विकास हुन सकेमा लाखौं योग्य जनशक्ति स्वदेशमै रम्ने अवस्था सिर्जना हुन सक्छ । मुलुकको सबै वर्ग र क्षेत्रलाई समेटेर गरिएको विकासले मात्र नागरिकहरुले साँच्चिकै परिवर्तनको अनुभूति गर्न सक्दछन् । नेपाली जनता त्यस्तो परिवर्तनको ब्यग्र प्रतीक्षामा छन् ।***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित