शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

N Thapaटोकियो – नेपाली काँग्रेसको जापानस्थित भात्तृसंस्था नेपाली जनसम्पर्क समितिको अधिवेशन नजिकिदैं गर्दा नेतृत्वका लागि होडबाजी सुरु भएको छ ।

यसैबीच जनसम्पर्क समितिका पूर्व कोषाध्यक्ष तथा हालका केन्द्रिय सदस्य नवराज थापाले आगामी कार्यकालका लागि नेपाली जनसम्पर्क समिति जापानको सभापति पदमा दावी गर्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जापानमा रहेका नेपाली काँग्रेसप्रति आस्थावान नेपालीहरुलाई एकताबद्ध गर्दै अगाडि बढ्ने क्रममा नेपाली जनसम्पर्क समिति जापानको बिभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरेको अनुभवको आधारमा, वरिष्ठताक्रमको आधारमा र रोलक्रमका आधारमा पनि अबको नेतृत्व आफुले पाउनुपर्ने भन्दै थापाले उम्मेदवारीको घोषणा गरेका हुन् ।

युवा व्यवसायी समेत रहेका थापाले एक विज्ञप्ती जारी गर्दै संगठनभित्र विद्यमान गुट, उपगुटको सँस्कारलाई निरुत्साहित गर्दै सहमति, सहकार्य र एकताको पक्षमा उभिने सवल नेतृत्वको आवश्यक परेको भन्दै त्यसको लागि आफु सक्षम भएकोले उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका छन् ।

थापाद्वारा प्रेषित बिज्ञप्तीमा भनिएको छ – नेपालीहरूलाई एकताको मालामा उनेर एक ढिक्का बनाउने उद्देश्यले सन् १९९१ तिर परिकल्पित तथा सन् २००० मा स्थापित नेपाली काँग्रेससंग आस्थावान नेपालीहरुको संस्था नेपाली जनसम्पर्क समिति जापानको छैठौ अधिवेशनको तिब्र तयारी भईरहेको छ । यस संस्थामा सन् २००२ देखि छैंठौ अधिवेशनको संघारसम्म आईपुग्दा अनेकौं आरोह अवरोहहरूमा संलग्न हुँदै बिभिन्न समिति, उपसमितिहरूमा रही मैले कुशलतापूर्वक कार्यसम्पादन गर्दै आएको कुरा सर्बबिदितै छ । २०४६ सालदेखि २०५४ सालसम्म नेका निकट नेपाल शिक्षक संघ दोलखाबाट सुरु भएको राजनैतिक यात्रा सन् २००२ देखि हालसम्म नेपाली जनसम्पर्क समिति जापानका बिभिन्न गतिबिधिहरुमा संलग्न हुँदै आईरहेको छु । यसका साथै देशमा आईपर्ने हरेक प्रकारका आपतविपतमा संस्थागत तथा ब्यक्तिगतरुपमा सहयोग गर्दै आईरहेको र भविष्यमा समेत गरिरहने कुरा प्रतिबद्धता ब्यक्त गर्दछु भने समितिको चौथो अधिवेशनले दिएको कोषाध्यक्षको जिम्मेवारीलाई पनि पारदर्शी तवरले आफ्नो भूमिका निर्बाह गरेको कुरा स्मरण गराउन चाहान्छु ।

विज्ञप्तीमा अगाडि भनिएको छ – नेपाली जनसम्पर्क समिति जापानमा हुने गरेका तिक्तता र सीर्जित गुट, उपगुटलाई निरुत्साहित गरी सहमति, सहकार्य र एकताको मालामा एकजुट बनाउदै नेपाली काँग्रेसका कार्यकर्ता, नेतागण र शुभचिन्तकहरूको संस्थाको रूपमा विकास गर्न यस संगठनमा मेरो नेतृत्वको अपरिहार्यता महशुस गरी मैले सभापतिको उम्मेदवारी दिने घोषणा गरेको छु ।

यहाँहरूको साथ, सहयोग र माया पाएमा अवश्य पनि नेपाली काँग्रेस प्रति आस्थावान तथा शुभेच्छुक साथीहरुको हक, हित र अधिकारका लागि लड्दै नमुनायोग्य संस्थाको रूपमा विकास गर्ने कुराको विश्वास दिलाउन चाहान्छु – बिज्ञप्तीमा भनिएको छ ।

स्मरण रहोस् नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन आगामी अगस्त महिनामा हुन गईरहेको छ । अधिवेशनबाट नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम रहेअनुसार नेतृत्वका लागि दावी सुरु हुन थालेको हो । जसअनुसार हालका महामन्त्री राजेन्द्र जम्मरकट्टेल पनि नेतृत्वका आकाँक्षी देखिएका छन् ।

जब जब जापानका संघसंस्थाहरुको अधिवेशन नजिक आउँछ तब तब नेतृत्वको बिषयले आवश्यकता भन्दा बढि चर्चा पाउने गर्दछ । अधिवेशनमा बिधिबिधान, नीति, कार्यक्रम र कार्ययोजनाका बिषय सघनरुपले उठ्नुपर्नेमा नेतृत्वकै लडाईमा अन्य बिषयहरु ओझेल पर्ने गरेका छन् । यतातिर पनि सम्बन्धित सबैको ध्यान जानुपर्ने जापानको नेपाली कम्यूनिटीमा पेचिलो ढंगलेआवाजहरु उठ्न थालेका छन् । ***

तपाईको प्रतिक्रिया