बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा पक्राउ गर्ने क्रममा ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

कृषि अनुसन्धान परिषद् (नार्क) का कोसेबाली अनुसन्धान प्राविधिक अधिकृत विरेन्द्रकुमार यादवलाई शुक्रवार साढे १ बजे पक्राउ गर्ने क्रममा कुटपिट र अमानविय व्यवहार भएको भन्दै प्रत्यक्षदर्शीले आयोगमा उजुरी दिएको आजको कान्तिपुर दैनिकमा खबर छ । बाँके बागेश्वरी २ खजुराका घनश्याम निरौलाले यादवलाई कोसेबाली अनुन्धान कार्यक्रम कार्यालयको उत्तरपट्टि निर्माणाधीन बोरिङ गृह नजिकै कुटपिट गरिरहेको आफूले देखेको बताउनुभएको छ ।

किन कुटपिट गरेका भनी सोधपुछ गर्दा आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट आएकोभन्दै प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङको टोलीले उल्टै हप्काएको उजुरीमा उल्लेख छ । यादवलाई अख्तियारको टोलीले पक्राउ गरिसकेपछि पनि जथाभावी कुटपिट र गालीगलौच गरेका थिए । उहाँको नाकबाट रगत बगेको थियो । सम्झौता बमोजिमको बोरिङको मापदण्ड पूरा नभएका कारण बिल पास नभएको निहुँमा ठेकेदारले फसाएको यादवले बताउनुभयो ।

‘ठेकेदारले फसाएको हो । मैले घुस लिएको होइन’ उनले अख्तियार टोलीलाई भन्नुभयो । अख्तियार टोलीले उनको कुरा नसुनी निरन्तर कुटपिट गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । घुस लेनदेन गरेकै अवस्थामा पक्राउ गरेको भए पनि स्वतन्त्र र निष्पक्ष ढंगबाट अपराधको अनुसन्धान गर्नु गराउनुपर्नेमा अख्तियारको टोलीले कुटपिट गरी सख्त घाइते बनाएको उजुरीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया