बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौँ – नेपालका राजनीतिक दलहरूले खासै उल्लेखनीय काम गर्न सकेनन् भनेर टिकाटिप्पणी भैरहेका बेला हालसालै मात्र पूर्वप्रधानमन्त्री तथा एमाओवादीका पूर्व नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भयो । khimlal.indd

घोषणा भएसँगै केही दिन चर्चामा रहेको नयाँ शक्ति अहिले भने केही सेलाएजस्तो देखियो । यसैबिच हालसालै मात्र औपचारिक रूपमा नयाँ शक्तिले निर्वाचन आयोगमा दल दर्ता पनि गर्‍यो । ‘अबको निकास आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा’ नारा बोकेको नयाँ शक्तिले कसरी देशको आर्थिक विकास मजबुत बनाउदै छ त ? यसै सन्दर्भ र पछिल्लो राजनीतिक घटनाक्रमबारे नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटासँग समुद्रपारि डट कमका लागि गोविन्द मरासिनीले गरेको कुराकानीको सम्पादित अंश :

नयाँ शक्ति अब पुरानो भयो कि क्या हो ? चहलपहल हरायो त ? के गर्दै हुनुहुन्छ ?
– हामीले नयाँ शक्ति घोषणाको प्रक्रियालाई अलि लामो बनायौ । आजसम्मका निर्माण भएका पार्टीहरू खाली ३/४ जना बसेर डकुमेन्ट तयार गर्ने, निर्णय गर्ने अरूले त्यसैलाई मान्न पर्ने तरिकाले भए त्यो चाँहि परम्परागत शैली हो । तर हामीले परम्परागत तरिकालाई बदल्न पर्छ भनेर ९ महिनाको अवधिमा क्याम्पियन गरेर पार्टीको नीति कस्तो बन्नुपर्छ, संरचना कस्तो बन्नुपर्छ, नेता कार्यकर्ताको आचरण कस्तो हुनुपर्छ भन्ने समेत कुराहरू बिचार पुर्‍याएर मात्र घोषणा गर्‍यौँ । हामीले पार्टी घोषणा गरेर सामूहिक सपथको व्यवस्था पनि गर्‍यौँ । पार्टी घोषणाको बेलासम्म आउँदा पार्टी घोषणाको चरम उत्कर्षमा थियो ।
त्यसपछि हामी पार्टीको आन्तरिक छलफलका कामतिर लाग्यौ त्यसैले पनि चहपहल हराएजस्तो देखिएको हो । आन्तरिक छलफलमा प्राप्त भएका सुझावहरुलाई व्यवस्थापन गर्नेतिर लाग्यौ जसले केही समय हामी त्यतातिर लाग्यौं । पार्टी घोषणा पनि भयो, भेला पनि भयो, आन्तरिक छलफल पनि भयो, तल्लो तहमा कसरी जाने भन्ने बारेको कार्ययोजना पनि बन्यो कार्ययोजना पनि कार्यान्वयन भयो र पार्टी घोषणा पछि दर्ता पनि गर्नुपर्छ भनेर हालसालै मात्र हामीले पार्टी दर्ता पनि गर्‍यौ । अब यी काम भैसकेपछि निरन्तर नयाँ शक्तिको चहलपहल हुन्छ ।

वर्तमान सरकारको मूल्याङ्कन कसरी गरिरहनुभएको छ र सरकार परिवर्तन प्रति तपाईँहरूको धारणा के हो ?
– खासगरी हामीले वैकल्पिक राजनीति गरिरहेकाले हामी कसैको पनि बिनाआधार आलोचना गर्दैनौं । भरसक हामी आलोचनामा समय खर्च गर्दैनौं । अहिलेको सरकार हेर्दा संविधान जारी भयो कार्यान्वयन भएको छैन कार्यान्वयन गराउनलाई चुनौती छ, भूकम्पपछिको पूर्ननिर्माणको योजना थियो त्यो पनि सकेको छैन, अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले पनि यो सरकार सबभन्दा बढी विवादमा परेको छ, महंगी, तस्करी र कालोबजारीका मामलामा पनि यो सरकारले संरक्षण गर्ने माहोल बनाएको छ । त्यैसैले यी सबैै तथ्यहरुले नै यो सरकार असफल भन्ने त प्रस्ट नै छ । तर पनि हामी चाँहि यो सरकार ढाल्ने, सरकार बनाउने, गिराउने यो खेल चाँहि पुरानो खेल हो भन्ने ठान्छौ त्यसो हुनाले हामी त्यो पुरानो खेलमा नलागेको प्रस्ट पार्न चाहान्छु ।

मधेसी मोर्चाको आन्दोलनलाई यहाँहरुले समर्थन गर्नुभो । मोर्चाको आन्दोलनको निकास के हुन सक्छ ?
– एउटा तथ्य बाहिर नआइरहेको के हो भने, यो संविधान जारी हुने बेलामा असन्तुष्टिहरुलाई हामी संशोधन मार्फत टुंग्याउने भनेर जारी भएको थियो । संविधान जारी गर्नुपूर्व नै संविधानप्रति असन्तुष्टि छन् भन्ने प्रस्ट थियो । मधेस असन्तुष्ट छ, जनजातिहरू, महिलाहरू, मुस्लिमहरु असन्तुष्ट छन् भन्ने पहिल्यै थाहा थियो । पहिलो संविधानमा सहमति जुटेका विभिन्न बुँदाहरु समावेश नगरी संविधान जारी गरेकाले नै असन्तुष्टि आएका हुन् । त्यसको निकास चाँहि के हो भने पहिलो संविधान सभाको समितिले जे निर्णय गरेको थियो, जे का आधारमा सङ्घीयता भनेको थियो त्यसका आधारमा सङ्घीयता निर्माण गर्नेर शासकीय स्वरूपका विषयमा पनि सहमति अनुसार गर्नुपर्छ । पहिलो संविधानसभामा निस्केका निष्कर्ष अनुसार संविधान संशोधन गर्ने हो भने निकास निस्कन्छ भन्ने हाम्रो ठहर हो । मोर्चाका जायज मागमा मात्र हाम्रो समर्थन हो । संविधान सबैको स्वीकार्यतामा बन्नुपर्छ भन्ने हाम्रो पनि ठहर हो ।

मुलुक विकासका लागि नयाँ शक्तिका लक्ष्य र योजनाहरू के के छन् ?
– नेपाली राजनीति आर्थिक समृद्विमा प्रवेश गरिसकेको छ त्यसैले यतिबेला राजनीतिक एजेण्डा आर्थिक समृद्धि नै हो भन्ने हामीलाई लाग्छ । आर्थिक समृद्धिको चरणलाई अगाडी बढाउँदा एउटा बेरोजगारी अन्त्य । बेरोजगारी अन्त्य गराउनका लागि देशभित्रको बजेट कार्यान्वयन गर्ने, विदेशी लगानी आकर्षण गरेर ठुलो विकास आयोजना गर्ने, बेरोजगारी अन्त्य गरेर मात्र पुग्दैन सुशासन ल्याउनुपर्छ जसका लागि भ्रष्टाचार मुख्य चुनौती हो । अन्य राजीतिक दलहरूले राजीतिलाई पेसा बनाए सेवा बनाउन सकेनन् राजनीतिलाई सेवा बनाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । त्यसकारण हामी सबैभन्दा पहिला राजनीतिलाई सेवा बनाउनुपर्छ, दोस्रो पार्टीहरूलाई पारदर्शी बनाउनुपर्छ र तेस्रो पार्टीका सबै क्याडरलाई त्यै किसिमको निर्देशन दिन्छौ ।

देशको बेरोजगार समस्यालाई निकारणका लागि नयाँ शक्तिले के गर्दै छ ?
– देशको आर्थिक व्यवस्था विदेशीकै भरमा निर्भर छ । अनुदान र सहयोग पनि पारदर्शी किसिमले भईराखेको छैन भ्रष्टाचार व्याप्त छ । त्यसकारण पहिला सुशासन ल्याउनुपर्‍यो, भएको बजेट सम्पूर्ण खर्च हुने व्यवस्था गर्नुपर्‍यो, विदेशी लगानी आकर्षण गर्नुपर्‍यो, जनताहरुलाई उद्यमशीलतातर्फ प्रेरित गर्नुपर्‍यो, आर्थिक उत्पादनमा जोड दिन पर्‍यो, यसो गरियो भने ठुला ठुला परियोजनाहरु सञ्चालन हुन्छन् जसले रोजगारीको सिर्जना गर्छ । यी सबै कुराहरू गरे लगभग ७ वर्षमा बेरोजगारीको समस्या कम हुँदै जान्छ ।

तपाईँहरूको नारा नै ‘अबको निकास आर्थिक विकास’ भन्ने छ, देश कहिलेसम्म आर्थिक रूपमा सबल होला ?
– ‘अबको विकास आर्थिक निकास’ हाम्रो नारा ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने हाम्रो प्रतिबद्धता । हामीले योजना नै बनाएका छौँ कम्तीमा ७ वर्षमा बेरोजगारी अन्त्य गर्ने, अर्को ७ वर्षमा यो मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउने, त्यसपछि अर्को १० वर्षमा मुलुकलाई विकसित मुलुककै हाराहारीमा पुर्‍याउनुपर्छ भन्ने स्पष्ट खाका छ ।13652738_1156309194432952_1911009249_n

नारा नै आर्थिक विकास भएको पार्टीले पार्टीको खर्चमा पारदर्शी देखाएन भनिन्छ नि ?
– गरेन होइन, यसले चाहिँ पार्टी दर्ता नहुँदै पारदर्शींता गर्न थाल्यो । भेला गर्नुअघि र सकिएपछि पनि आय विवरण प्रस्तुत गर्‍यौँ । हामी सबैभन्दा बढी पारदर्शी भयौँ जुन पार्टी दर्ता हुनुअघि आवश्यक थिएन यसले चाँहि सकारात्मक प्रभाव पार्न थाल्यो, जसले गर्दा अन्य पार्टीहरू पारदर्शी हुन चाहान्न यसले प्रभाव पारेको हो । अर्को जुन विज्ञापनको कुराले महङ्गो भयो भनिएको छ पक्कै पनि त्यो महङ्गो नै हो तर हामीले मिडियाका साथीहरूलाई आग्रह गर्‍यौँ सहयोग माग्यौं उँहाहरुले हामीलाई सहयोग दिएर हामीले पेपर र मसीको खर्च मात्र तिरेर विज्ञापन गर्‍यौँ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई त पहिला पनि देशको अर्थमन्त्री र प्रधानमन्त्री पनि बनिसक्नुभयो त्यो बेला खासै केही भएन भनिन्छ नि, अब सत्तामा पुग्दा केही हुन्छ त ?
– नेपालको राजनीतिमा एउटै मात्र भूतपूर्व प्रधानमन्त्री जसमा आशा देखेका व्यक्ति नै डा. भट्टराई हुनुहुन्छ । एउटै मात्र प्रधानमन्त्री जसले आनो पालामा काठमाडौँमा देखिनेगरी सडक विस्तार अभियानलाई बिना बजेट थाल्नुभो, दोस्रो अर्थमन्त्री रहँदा युवा स्वरोजगार कार्यक्रम यी २ वटा कार्यक्रमले गर्दा उहाँप्रति जनताको विश्वास छ त्यसैले उहाँ नयाँ शक्तिको मात्र होइन राष्ट्रको भलो चाहने नेता हुनुहुन्छ भन्ने जनताले बुझेका छन् ।

आम नेपालीहरूले नयाँ शक्तिको सदस्य किन बन्ने ?
– राजनीति पेसा होइन, सेवा हो भन्ने नारा नयाँ शक्तिले मात्र बोक्यो, आजसम्मका पार्टीहरू भ्रष्टाचारका केन्द्र बने र नयाँ शक्ति पारदर्शी हुँदै भ्रष्टाचार विरुद्धको अभियान चाहने र अर्को चाहिँ बेरोजगारी समस्यालाई निराकरण गर्नका चाहने जो कोही पनि सदस्य बन्न सक्नुहुनेछ ।

तपाईँहरूको पार्टी सत्तामा पुग्न लगभग कति समय लाग्ला त ?
– देश आर्थिक गतिमा अगाडी बढिरहेका बेला र एक मात्र पार्टी नयाँ शक्तिको मुख्य लक्ष्य नै देशलाई समृद्धि बनाउने भएकाले जनताको जीवन बदल्ने र जनताको हितमा काम गर्ने ठहरिएकाले मलाई लाग्छ अब आउँदो चुनावमै नयाँ शक्ति सत्तामा पुग्छ भन्ने हाम्रो बिचार हो ।

विदेशमा सङ्गठन विस्तारका काम कसरी भइरहेको छ ?
– हामीले पार्टी घोषणा गर्ने दिनसम्म विदेशमा २४ वटा मुलुकमा विभागहरु घोषणा गरिसकेका छौँ । त्यति मात्र नभई अन्तर्राष्ट्रिय विभाग बनाएका छौँ । अर्को चाहिँ विदेशमा रहेका नेपालीहरूलाई सङ्गठित गर्नका लागि प्रवास शाखा पनि बनाएका छौँ । त्यसकारण यसलाई व्यवस्थित ढंगले अगाडि बढाउने सोचमा छौँ ।

तपाईँहरूको विदेश नीति चाहिँ कस्तो हुन्छ ?
– आजसम्मका राजनीतिक दलहरूले खासगरी विदेश नीति भनेर मात्र भारत र चीनको बिचमा अवस्थित मुलुक भएको हुनाले एउटाका विरुद्ध अर्कालाई प्रयोग गर्ने र त्यही ढंगलाई कूटनीति भनियो जुन प्रायः असफल भयो जसका कारण नेपाल पछि पनि पर्‍यो । नयाँ शक्तिको उद्देश्य चाहिँ दुवै उदयमान अर्थतन्त्र भएका मुलुकहरुबाट फाइदा लिने किसिमले काम गर्दै खुल्ला र पारदर्शी नीति बनाउने छौँ ।

जापानमा संगठन विस्तारको काम कसरी भइरहेको छ ?
– जापानमा पनि हाम्रो शाखा छ । साथीहरूले निरन्तर खटेर काम गरिरहनुभएको छ । त्यहाँबाट पनि हाम्रो घोषणा सभामा प्रतिनिधि आउनुभएको थियो । समग्रमा भन्नुपर्दा अन्यत्र जस्तै जापानमा बस्ने नेपालीहरुमा पनि नयाँ शक्तिको प्रभाव राम्रो छ ।

एनआरएनलाई नेपालमै लगानी गराउन र विदेशी लगानी भित्राउन तपाईँहरूको पहल कस्तो हुन्छ ?
– विदेशी लगानी भित्राउननु आवश्यक छ । एनआरएन जो आफै नेपालीहरू हुन् विदेशमा गएर आर्जन गरेका छन्, त्यो लगानीलाई आकर्षण बनाएर स्वदेश भित्राउने र जो विदेशी लगानीमा नियमित रूपमा चलेका छन् यी दुवैको लगानी नेपाल भित्राउनन नयाँ शक्ति अग्रसर हुन्छ ।

नयाँ शक्तिमा नायिका करिश्माको प्रस्तुतिले निकै चर्चा पायो ? त्यो चर्चाले पार्टीलाई थप उचाइ दियो कि पार्टीको गरिमा घटायो ?
– नायिका करिश्मा मानन्धरको प्रस्तुति प्रतिको लगाव, आकर्षण, प्रतिबद्धता जुन ढङ्गले भयो त्यसले त नयाँ शक्तिलाई थप उचाइ मै पुर्‍याएको छ नि । जहाँसम्म यहाँले रंगशालाको घोषणा सभाको कुरा गर्नुभो । एउटा राजनीतिक कार्यक्रम सञ्चालन नगरेका जो कोहीलाई पनि त्यस्ता कार्यक्रम चलाउँदा गाह्रो हुनु स्वभाविक हो । केही कमजारी त अवश्य नै थिए तर प्रयास नै ठुलो कुरा हो । उहाँले पछि पनि भन्नुभो, मेरो पहिलो कार्यक्रम हो, केही कमजोरी भएको भए माफी पाउँ भनेर ।

अन्त्यमा केही ?
– नेपाली समाज अहिले आर्थिक समृद्धिको चरणमा प्रवेश गरिसकेको अवस्था छ । यसलाई अन्य दलले आत्मसाथ गर्न नसकिरहेका बेला नयाँ शक्तिले नयाँ सोचका साथ आत्मसाथ गर्दै आएको छ । आगामी दिनमा पनि यसलाई साथ दिँदै जानुहोला पक्कै पनि समृद्धि सम्भव हुनेछ हाम्रै पालामा ।

तपाईको प्रतिक्रिया