मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

203-bhanuनेपाली भाषा र साहित्यका प्रथम उन्नायक आदि कवि भानुभक्तलाई मानिन्छ । वास्तवमा त्यसबेला जनताको बोलीचालीमा मात्र सीमित रहेको नेपाली भाषामा साहित्य लेखन आरम्भ गरेर उनले साहित्यमा जनबोली र जन भाषाको जग बसाले । भानुभक्त कालको तत्कालिन घोर सामन्ती राणाशाही एकतन्त्री समाजमा चलेको सँस्कृत भाषाको एकाधिकारलाई त्यसरी तोड्नु सामान्य कुरा थिएन । त्यसका निमित्त भानुभक्तले ठूलो संघर्ष गर्नुपरेको थियो । उनी आफु स्वयम ब्राहृमण परिवारको सदस्य भएर पनि उच्च पुरोहित बर्गको भाषाको रुपमा रहेको सँस्कृत भाषालाई छाडेर जनबोली रहेको नेपाली भाषालाई अवलम्बन गर्ने जुन साहसिलो बिद्रोह उनले गरे त्यस ‘अपराध’ बापत उनले डर, त्रास, धम्की ब्यहोर्नुपरेको थियो र धेरै खप्की पनि खानुपरेको थियो । त्यसबेलाका कतिपय सँस्कृत भाषाका कवि र साहित्यकारहरुले भानुभक्तलाई ‘सरस्वतीको पेट चिर्ने गँवार’ भनेर छुद्र गालीगलौज गर्ने र धारे हात लगाएर सराप्ने काम गर्न पनि बाँकी राखेनन् भने कतिपयले ‘भानुभक्त कविराँड’ भन्ने कल्की भिराउन पनि पछि परेनन् । वास्तवमा त्यस समयको श्लेष भाषामा भानुभक्तका बिरुद्ध बहुतै तीखो ब्यंग पनि धेरैले कसे । तर भानुभक्त ती कुनै पनि खालका दबाव, प्रताडना र अपमानबाट कत्ति पनि बिचलित भएनन् । ‘लोकको गरौं हित भनि’ भन्ने उच्च भावना र उदात्त लक्षकासाथ उनी अघि बढिरहे जनताको बोलीचालीमा सीमित भाषामा लेखन गर्ने कार्यमा । वास्तवामा उनी यसरी नेपाली भाषाको संरक्षक र सम्बर्द्धक बनेरै छाडे, त्यस्तो राणाकालिन तिमिर अन्धकारमा पनि । सँस्कृतमा रहेको बाल्मिकी रामायणलाई नेपालीमा काब्यात्मकरुपमा नै अनुबाद गरे उनले ।

यसरी प्रष्ट के देखिन्छ भने तत्कालिन अन्धकारमय सामन्ती आर्थिक-सामाजिक प्रणालीबाट उत्पन्न शोषण र बिकृतिको उकुसमुकुसमा भानुभक्त छटपर्टाईरहेका थिए र त्यसबाट मुक्त हुने बाटो खोजिरहेका थिए । त्यसैको अभिब्यक्तिको रुपमा जनभाषालाई अँगाल्ने र नेपाली जनजीवनका बिबिध पक्षमा साहित्यलाई प्रयुक्त गर्ने काममा भानुभक्त लागेको उनका साहित्यिक कृतिहरुबाट देखिन्छ र बुझ्न सकिन्छ । उनका ‘सासु-बुहारी,’ ‘ओकलाङ्गका जैसी बाहुन,’ ‘गजाधर सोतीका परिवार’का बारेमा चित्रण गरिएका कबिताहरुले उनलाई नेपाली जन जीवनको एउटा पक्षको मर्मज्ञ बनाएको छ । नेपाली समाजलाई शोषण र उत्पिडन गर्ने सामन्ती प्रशासन प्रणालीबाट आफु स्वयम र जनताले देखिभोगिराखेका यथार्थ अनुभवहरुलाई उनले कवितामार्फत जीवन्तरुपमा ब्यक्त गरेका अभिब्यक्तिले आज पनि भ्रष्ट प्रशासनयन्त्रको कानमा सुइरोले घोचेजस्तै घोच्दछ र भ्रष्टाचारीको मनमा ढयाङ्ग्रो ठोक्दछ । ‘बिन्ती डिठ्ठा बिचारीसित म कति गरुँ चुप रहन्छन् नबोली बोल्छन् ता ख्याल गर्‍या झै अनि पछि दिनदिन भन्दछन् भोलि भोली’ जस्ता कविता कृतिद्वारा भ्रष्टाचार ढिलासुस्ती, जनताप्रतिको अनुत्तरदायी तथा लापरबाहीपूर्ण ब्यवहारप्रति भानुक्तले यसरी बज्र बाण प्रहार गर्दै त्यस्ता प्रबृत्तिलाई घृणा गरेका थिए त्यतिबेला ।

आफु कारबासमा बसेको बेला जेलभित्रको अबस्था कति दारुण थियो त्यसको चित्रण गर्दै ‘लामखुट्टे उपियाँ उडुस यी सँगी छन् यिन्कै लहड्मा बसी । लामखुट्टेहरु गाउँछन् यी उपियाँ नाच्छन् म हेर्छु बसी’ जस्ता ब्यङ्गात्मक र बिम्बात्मक कविता लेखेर प्रकारान्तरले नेपाली समाजमा लामखुट्टे र उपियारुपी शासक बर्गको शोषण रहेको कुरा औल्याउन पनि उनी पछि परेका छैनन् । तत्कालिन समयमा शासक बर्गको स्तुतिगान र प्रशस्ती लेख्ने र दरबारको प्रिय पात्र बनेर तथाकथित नाम कमाउन चाकडी गर्ने प्रचलन थियो । नयाँ सँस्करण र नयाँरुपमा आज पनि हाम्रो समाजमा सत्ता र शक्तिको पछि लाग्ने यो प्रचलन निरन्तर जारी रहेको छ । शासक बर्गले साहित्यकार, कलाकार, इतिहासबिद्, पत्रकार, बुद्धिजीवी समाज तथा मानबशास्त्रीहरुलाई आफ्नो प्रभावमा पारेर या किनेर समेत आफ्ना कमजोरीहरुलाई लुकाउन भएभरको आफ्नो प्रशस्ती गान गर्न लगाउने परम्परा नै थियो हिजो र यद्यपि छँदैछ नयाँ नयाँ संस्करणमा। तर भानुभक्त भने त्यस्तो चाकरी प्रथाको खारेजीको पक्षमा थिए भन्ने कुरा उनको दरबारिया उच्च बर्गीय ‘भाषा बिद्रोह’ ले प्रष्ट पार्दछ । लोकको हित गर्ने भनेर लेख्न आरम्भ गर्ने उनको मनशायले पनि यो कुराको पुष्टी गर्दछ । उनले ब्यक्ति स्तुस्ति लेख्दा पनि लेखेनन् ।

यद्यपि उनले तत्कालिन सामाजिक चेतनाका परिप्रेक्षमा ‘रामायण’ र ‘राम गीता’ जस्ता सैद्धान्तिकरुपले तत्कालिन शासक बर्ग राणाशाहीलाई मद्दत पुग्नसक्ने साहित्य पनि नलेखेका होइनन् । अनि बधु शिक्षामा तत्कालिन प्रचलन अनुसार ‘हास्नु हुन्न कदापि नारी जनले बेश्या हुन्या हास्तछन्’ जस्ता आजको आँखाले हेर्दा नारीहरुको अपमान गर्ने खालका कविता पनि लेखेका थिए । तथापि भानुभक्तको बिद्रोहात्मक स्वभावलाई तत्कालिन राणा शासकहरुले राम्ररी बुझेका थिए नै । उनको त्यो स्वभावलाई तह लगाउन पनि खोजेका थिए । तर दाजु राम जस्तो, भाइ भरत जस्तो, पत्नी सीता जस्ती हुनुपर्दछ भन्ने रामायणको सन्देशले सामन्ती दरबारिया राणाशाहीको आपसी अन्तरबिरोधलाई मत्थर पार्न र शासनमा राणा दाजु भाइहरुको रोलक्रम मिलाउन त्यसले निकै मद्दत गर्दथ्यो । त्यसो हुनाले नै त्यो रामायण प्रकाशन र प्रचार गर्न राणाहरुले दिएका थिए भन्ने कुरा बुझ्न सकिन्छ । फलतः जनभाषा नेपाली भाषाले राष्ट्रब्यापी हुने अवसर पायो र अन्ततः त्यसले राष्ट्रिय एकताको भावानलाई बलियो पार्न र अझ बिकसित तुल्याउन पनि केही न केही सहयोग पुर्‍यायो । बस्तुतः नेपाली भाषा सिंगो राष्ट्रको यसरी राष्ट्रिय भाषा बन्ने आधार खडा भयो । त्यसैले भाषा साहित्यको माध्यमबाट राष्ट्रिय एकतालाई सबल बनाउने कामको श्रेय भानुभक्तलाई अवश्य जान्छ । अनि त्यसैले उनलाई एउटा बिशिष्ट भाषा एवं साहित्यसेवी मात्र मानिएको छैन कि राष्ट्रिय एकताको सुत्रलाई अघि सार्ने एक जना सबल सुत्रधार पनि मानिएको छ ।

अहिलेसम्मको नेपाली साहित्यको इतिहासको खोजी र बिश्लेषण गर्नेहरुले जनता र राष्ट्रको हितमा लेख्ने र सामन्तवादप्रति प्रहार गर्ने कामको शुभारम्भ आदि कवि भानुभक्तबाट नै भएको औल्याएका छन् । त्यसमा पनि बिशेषगरी साहित्यका पात्रहरु उच्च खानदानी परिवारका सदस्यहरु हुनुपर्ने, अभिजात्य र कुलिन बर्गका तथा धिरोदत्त हुनपर्ने जुन मान्यता त्यसबेलासम्म थियो त्यसलाई भानुभक्तले चिरेको र तोडेको देखिन्छ । उनका आफ्ना साहित्यिक पात्रहरु पहाडतिर भीरपाखामा घाँस काटेर जीवन गुजारा गर्ने र त्यसबाट उब्रेको पैसाले सार्वजनिक हितको लागि खानेपानीको कुवा खन्ने जस्ता साच्चै नै जनताका प्रतिनिधि पात्रहरु रहेका छन् । भानुले त्यसबेला त्यसरी श्रमगरी खाने पात्रबाट प्रेरणा जुन लिएका छन् समाज बिकासको त्यस चरणमा रहेका बिश्वका समकालिन मुलुकहरुको साहित्यमा समेत त्यस्तो प्रबृत्ति बिरलै पाइने कुरा हो । ‘भरजन्म घाँसतिर मन दिई धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनि भइकन आज यस्तो’ भन्ने भानुभक्तको जुन साहित्यिक प्रस्थान बिन्दु छ त्यसले आरम्भदेखि नै त्यस्ता गरिब, निमुखा, निश्छल जनतालाई ब्यूंझाउने, उठाउने भावना उनमा लुकेको थियो भन्ने कुरा छर्लङ्ग हुन्छ । आम जनसाधारणबाट अभिप्रेरित हुँदै भाषा र साहित्यको माध्यमबाट जनताको सेवा गर्ने दिशामा लाग्न खोज्ने भानुभक्तले तत्कालिन सामाजिक परिवेशमा जति महत्वपूर्ण लेखन गरे त्यसलाई आजको आँखाले हेरेर मूल्याङ्कन र बिश्लेषण गर्नु र यो पुगेन त्यो पुगेन भन्नु बस्तुगत र यथार्थपरक निश्चय नै हुदैन ।
बस्तुतः साहित्य र सँस्कृति कुनै दिब्य शक्तिको देन नभई सामाज बिकासको क्रममा उत्पन्न हुने र त्यसमा परिबर्तन हुँदा साहित्य कला र सँस्कृति पनि परिवर्तन हुँदै जाने मानसिक क्रियाकलाप हो । यो कुरा भानुभक्तको नेपाली भाषाप्रतिको योगदान र साहित्य रचनाले पनि केही न केही प्रष्ट पार्दछ नै । निश्चय पनि साहित्य र सँस्कृति पनि खास आर्थिक-राजनीतिक ब्यवस्थाको प्रतिबिम्ब हुने गर्दछन् । त्यसबाट भानुभक्तीय साहित्य पनि निरपेक्ष छैन र हुने कुरा पनि अवश्य होइन । तर उनको भाषा साहित्यप्रतिको मूल प्रबृत्ति, दिशा र योगदान नै हो जसलाई मूल्यांकनको कसी बनाउदै निष्कर्शमा पुग्ने आधार बनाइनु पर्दछ । जनता र राष्ट्रको सेवा गर्न, भ्रष्टाचार र ढिलासुस्तीको बिरुद्ध उत्रन र देशको गौरब बढाउन भानुभक्तका साहित्यिक प्रकाशले अहिले पनि नेपाली समाजलाई उज्यालो दिन्छ र घच्घच्याउँछ । तत्कालिन सामाजिक परिबेशजन्य उनका कमजोरीहरुलाई छाडेर जनताबाट सिक्ने र जनतालाई सिकाउने मूल प्रबृत्ति नै आदि कवि भानुभक्तबाट साहित्यकर्मीहरुले ग्रहण गर्नुपर्ने र सिक्नुपर्ने आजको मूल शिक्षा हो । यस अर्थमा नेपाली साहित्यका आदि सूर्य भानुलाई शतत नमन गर्नैपर्दछ । असल परम्परालाई अघि बढाउन र कायम राखिराख्नका निमित्त ।***

तपाईको प्रतिक्रिया