शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपालमा सरुवा रोगको प्रकोप कम हुँदै गए पनि अर्बुदरोग, मुटुरोग, मधुमेह, मानसिक रोगजस्ता नसर्ने रोगको भने प्रकोप बढ्दै गएको चिकित्सकले बताएका छन् । यहाँ आज बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले गरेको ‘क्यान्सर नियन्त्रण र नसर्ने रोगको नियन्त्रण र रोकथाम’ विषयको अन्तक्र्रियामा अस्वस्थकर खानपिन, रहनसहन र वातावरणीय प्रभावका कारण यस्ता रोग बढ्दै गएको बताइयो ।

नेपाल नसर्ने रोग एलाइन्सका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले हाल नेपालमा हुने मृत्युको ठूलो कारण यिनै नसर्ने रोग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खाना, पोषण र शारीरिक क्रियाकलापको कमीका कारण यस्ता रोगको खतरा बढ्दै गएको देखिन्छ ।” उहाँले अर्बुद रोग रोकथामका लागि खाना र व्यायामको महत्वबारेमा जनचेतना जगाउन आवश्यक भएको औँल्याउनुभयो ।

क्यान्सर अस्पतालका अध्यक्ष डा प्रकाशराज न्यौपानेले सुर्तीजन्य पदार्थको सेवन, अनियन्त्रित मद्यपान, धेरै नुन र बोसोयुक्त खाना, बासी ढुसी परेको र अखाद्य रङ मिसाएको खाना, कीटनाशक तथा पोलेर डढेको माछामासु आदिको सेवनबाट अर्बुद रोगका बिरामी बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हरियो ताजा सागपात र फलफूल नियमित प्रयोगले अन्य रोगका साथै क्यान्सरबाट सुरक्षित राख्ने भए पनि यसको प्रयोग कमै मानिसले मात्र गर्ने भएकाले नसर्ने रोगको प्रकोपलाई बढाएको छ ।”

उहाँका अनुसार अर्बुद रोग थुप्रै किसिम र प्रकृतिको भए पनि धेरै रोग असन्तुलित खाना, नियमित परिश्रमको कमी, प्रदूषणयुक्त वातावरणको असर तथा मानिसको जीवनशैलीका कारण हुने गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा चीनकाजी पुनले अस्पतालमा भारतका विभिन्न भागबाट आएका ४७८ अर्बुदरोगीको पनि उपचार गरिएको बताउनुभयो ।
हाल अस्पतालमा वर्षमा एक लाखभन्दा बढीले बहिरङ्ग सेवामा उपचार गराएकामध्ये सात हजारमा अर्बुद रोग पाइएको जनाइएको छ ।

अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गले हाल नेपालमा करिब ५० हजार बढी मानिस अर्बुदरोगी छन् ।  उहाँले भन्नुभयो, “हाम्रो अस्पतालको तथ्याङ्क हेर्ने हो भने फोक्सो, पाठेघरको मुख, स्तन, लिम्फ ग्रन्थ्री, पेट, रगत, घाँटी, मस्तिष्क, दिसा गर्ने नली र छालाको अर्बुदरोगी प्रमुख रुपमा आउने गरेका छन् ।” जनचेतनाको कमीका कारण धेरैजसो बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल आउने कारण उनीहरुलाई बचाउन नसकिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया