शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी आठौं पटक अनसन बस्नु भएको छ ।मेडिकल शिक्षालाई सुधारका लागि सरकारसँग भएका सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको भन्दै केसी आइतबार त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनमा बस्नु भएको हो ।

यसअघि सात पटकसम्म अनसन बसेको ठाउँमा अनसन बस्न अस्पताल प्रशासनले नदिएपछि केसी अस्पतालको डी ब्लगको दोश्रो तल्लाको एउटा सानो कोठामा अनसन बस्नु भएको हो । मेडिकल शिक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले हस्तक्षेप गरेको दावी गर्दै डाक्टर केसीले कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पनि गर्नुभएको छ ।

kc

कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राखेकाले आफूलाई सरकार र अख्तियारको निर्देशनमा अस्पतालले अनसन बस्न ठाउँ नदिएको केसीले आरोप लगाउनुभयो । डाक्टर केसीले सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज र्पुयाउने, काठमाडौँ उपत्यकामा आउँदा १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनशायपत्र पाएकाको नवीकरण नगर्ने, आगामी शैक्षिकसत्रदेखि केन्द्रीय परीक्षा लिने व्यवस्था गर्ने र त्यसका लागि हाल परीक्षा लिइरहेकासँग सहकार्य गर्नु पर्ने माग राख्नु भएको छ ।

अधिकतम शुल्क र सिट यो वर्ष नेपाल मेडिकल काउन्सिलले शिक्षा मन्त्रालय र विश्वविद्यालयले गरे झैँ हुने व्यवस्था गर्ने, माथेमा प्रतिवेदन विपरीत हाल काठमाडौँमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्मा रहेको विचाराधीन विधेयक तत्काल फिर्ता हुनुपर्ने र विगतमा भएका सम्झौता पालना गर्नुपर्ने माग राख्नुभएको छ ।

अनसन बस्नुअघि भएको पत्रकार सम्मेलनमा डाक्टर केसीले नागरिकका लागि आफूले यो अनसन गरेको भन्दै आफ्ना माग पूरा नभएसम्म अनसन नतोड्ने बताउनुभएको छ । डाक्टर गोविन्द केसीको पक्ष र विपक्षमा नाराबाजी भएको छ । केही समूहले अस्पतालमा अनसन बस्न नहुने भन्दै केसीको विपक्षमा नाराबाजी गरेका हुन् ।

तपाईको प्रतिक्रिया