बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

ambaarयतिबेला नेपाली साँगीतिक क्षेत्र शोकमा छ । राष्ट्रगानका संगीतकारसमेत रहेका वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनले सांगीतिक क्षेत्र सहित पुरै देश अहिले शोकमा डुबेको हो । सांगीतिक आकाशका उज्वल ताराको अवसानले नेपाली साँगीतिक क्षेत्रमा अपुरणीय क्षती पुगेको छ । यसै सन्दर्भमा गुरुङका सहकर्मी तथा उनलाई नजिकबाट नियालेका ब्यक्ति हुन्, बरिष्ठ संगीतकार राजु सिंह । उनै संगीतकार सिंहसँग अम्बर गुरुङका बिषयमा केन्द्रित रहेर समुद्रपारिका लागि हाम्रा सहकर्मी गोबिन्द मरासिनीले गरेको कुराकानीको सम्पादित अंश :

वरिष्ठ संगीतकार अम्बर गुरुङलाई तपाई कसरी सम्झनुहुन्छ ?
अम्बर गुरुङज्यू, त नेपाली संगीतको मेरुदण्ड नै हुनुहुन्छ । नेपाली संगीत अहिले जहाँ पुगेको छ त्यसमा अम्बर गुरुङको स्थान एक धरोहरको रुपमा सम्झन्छु ।

अम्बर गुरुङलाई नेपाली सांगीतीक आकाशले कसरी सम्झने ?
अब नेपाली सांगीतिक आकाशले अम्बर गुरुङलाई एक ‘युनिभर्सिटी’ को रुपमा लिनुपर्छ । नेपाली संगीतले अम्बर गुरुङबाट धेरै कुरा सिक्नुपर्छ । गीतका लागि अध्ययन चाहिन्छ, संगीतको पनि पढाई गर्नुपर्छ त्यसका लागि गम्भीरतापूर्वक सिक्नुपर्दछ, सस्तो लोकप्रियताका लागि संगीतको मापदण्डलाई मिच्नुहुन्न नयाँ पुस्ता जो संगीतकार बन्नका लागि लामो त्याग र तपस्या दिनुपर्छ सस्तो लोकप्रियताले नेपाली संगीतको धारलाई बचाईराख्दैन संगीतबाट पनि देश, जनता अनि समाजको सेवा गर्न सकिन्छ भन्ने खालको उदाहरणीय ब्यक्तित्व हुनुहुन्थ्यो ।

साँगीतिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानबारे तपाईलाई के-के थाहा छ ?
मलाई के लाग्छ, भन्दा अहिले कतिपयले खाली नाच्ने गीत मात्र चल्छ भन्छन् त्यो चाहि होईन रहेछ भन्ने पुष्टि उहाँले गरेको पाईन्छ । रातो र चन्द्र सूर्य, सयौं थुंगा फुलका लगायत उहाँका जतिपनि गीतहरु छन्, वास्तवमा ती गीतहरु श्रोता, दर्शकको मन, मतिष्कमा बस्नुका साथै मिडियाले पनि समयसार्न्दभिकता हेरेर बजाईरहेका हुन्छन् । त्यसकारणले संगीतमा आफ्नो मौलिकपन हुनुपर्छ, जसरी संगीतबिना साहित्य हुँदैन र साहित्यबिना पनि संगीत हुँदैन र संगीतको सेवा गर्नु भनेको साहित्यको सेवा गर्नु पनि हो त्यसैले संगीतको सेवा गर्नका लागि साधना र साहित्य सबैको सेवा गर्नुपर्छ भन्ने उदाहरणको रुपमा लिन सकिन्छ । त्यसैले अब आउने पुस्ताले पनि उहाँका कुराहरुलाई अनुशरण गरेको खण्डमा सांगीतिक क्षेत्र अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ जुन कुरा उहाँले हामीलाई सिकाएर जानुभएको छ ।

गुरुङको अभावमा नेपाली सांगीतिक क्षेत्रमा कस्तो असर पर्ला ?
नेपाली संगीत क्षेत्रले एक अभिभावक नै गुमाएको महशुस गरेको छु । उहाँले संगीतको क्षेत्रमा जसरी योगदान पुर्‍याउनुभयो । अब सांगीतिक क्षेत्रमा उहाँ जस्तो ब्यक्ति अरु कोहि पनि बन्न सक्दैनन् । उहाँले सांगीतिक क्षेत्रमा यस्तो उचाई बनाउनुभएको छ जसरी सगरमाथाले बिश्वमा एक मात्र भएर जस्तो उचाई बनाएको छ अम्बर गुरुङ पनि एउटै हुनुहुन्छ । उहाँ एक सामान्य संगीतकार नभएर उहाँमा सबै प्रकारको ज्ञान थियो रचना, साहित्यका साथै पढाईमा पनि उत्तिकै चाख राख्नुहुन्थ्यो । अम्बर गुरुङको ठाउँ अब कसैले लिन सक्दैनन् उहाँको जति प्रशंसा गरेपनि कमी नै हुन्छ त्यसैले उहाँ धुब्रतारा हुनुहुन्छ जस्तो मलाई लाग्छ । उहाँले सांगीतिक क्षेत्रमा जुन उचाई बनाएर जानुभएको छ त्यसले नेपालमा मात्र होईन अन्तर्राष्ट्रिय स्तरमै एउटा सम्मान र ठाउँ पाउनुभएको त्ययलाई कायम राख्नका लागि आउँदो पुस्ताले उहाँबाट प्रेरणा लिनुपर्छ ।

साँगीतिक क्षेत्रमा उहाँका मुख्य बिशेषताहरु के के हुन् ?
म उहाँसंग एकदमै नजिक भएको नाताले पनि म उहाँको परिवारसँग पनि एकदमै नजिक थिए । उहाँका गीत रेकर्डिङहरुमा पनि बस्ने सौभाग्य पाएँ मैले अघि पनि भने, उहाँ एक युनिभर्सिटी हो उहाँबाट हामीले धेरै कुरा सिक्न पायौ । उहाँले जुन गीत राम्रो बन्नलाई सबै पक्ष बलियो बन्नुपर्छ र गीतलाई श्रोता दर्शक सामु त्यसरी नै पस्कनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । गीतलाई केवल मनोरञ्जन मात्र होईन गीतको प्रभाव समाज, देश र अन्तर्राष्ट्रिय स्तरसम्म पनि युगयुगसम्म पुग्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँको योगदानको बारे त हामीले चर्चा गर्नै सक्दैनौ । उहाँले संगीत क्षेत्रमा जुन अडान दिनुभयो संगीतलाई ब्यबसायिक नबनाई यसलाई बुझ्नका लागि लामो तपस्या र योगदान गर्नुपर्छ भन्ने सन्देश दिनुभयो । उक्त कुरा संगीतका क्षेत्रका ब्यक्तिले मात्र नभई श्रोता, दर्शक सबैले बुझेको खण्डमा संगीतको क्षेत्र अझै राम्रो होला जस्तो लाग्छ ।

राष्ट्रियगानको सर्जकका रुपमा उहाँको मूल्याङ्कन हामी र हाम्रो राष्ट्रले के कति गर्‍यो र के गर्न सकेन जस्तो लाग्छ ?
सरकारले जुन पछिल्लो समयमा उहाँको उपचारमा हस्पिटलको खर्चका बिषयमा सरकारले निर्णय गर्‍यो यो निकै राम्रो काम हो । सरकारले ढिलै भएपनि उहाँको महत्व बुझेजस्तो लाग्छ । केहि ढिला चाहि पक्कै भएको हो, त्यै पनि सरकारले परम्परा चाहि बसालेको छ । जुन उहाँले सम्मान पाउनु नै आम नेपाली सांगीतिक जगतले नै सम्मान पाउनु हो । यसलाई बचाईराख्न हामी सम्पूर्ण सांगीतिक क्षेत्रका ब्यक्तिहरु एक भएर लाग्नुपर्छ ।

उहाँको निधन भईसकेको अवस्थामा अब सरकारले उहाँप्रती के गरिदियो भने उहाँप्रती सच्चा सम्मान हुन्छ जस्तो लाग्छ ?
उहाँको जति पनि गीतहरु छन्, एउटा फाउण्डेशन खडा गरोस् । उहाँका जति पनि सिर्जना बाहिर आएका छन्, राम्रो संरक्षण गरोस् । र उहाँका जति पनि गीतहरु रेकर्ड हुन बाँकी छन् मैले थाहा पाएसम्म हजारौं गीतहरु अझै पनि रेकर्ड हुन बाँकी छन्, ती गीतहरुलाई खोजेर रेकर्ड गरोस् । त्यसका निम्ती एक कोष खडा गरोस् र उहाँको नाममा एउटा पुरस्कार र सम्मान राखोस् जुन सम्मानले आउँदो पुस्तालाई पुरस्कार पाउँदा गर्ब होस् । उहाँका सिर्जनाहरु जे जति पनि छन् ती सबै संकलन गरेर देशमा मात्र नभई बिदेशमा पनि उहाँको सिर्जनाहरुले आउँदो पुस्ताले सँधै सम्झिरहोस् । उहाँलाई सरकारले संगीतको कुनै एक पद दिएमा सँधै सम्झने वातावरण हुन्थ्यो ।

अब आउने नयाँ पुस्ताले उहाँबाट के सिक्ने त ?
एकदमै राम्रो प्रश्न गर्नु भयो । उहाँबाट सिक्ने भनेको के हो भने, आजमात्र पपुलर भएर हुँदैन संगीतका लागि साधना, र संगीतका लागि साहित्यको नङ र मासुको जस्तै सम्बन्ध हुन्छ त्यसकारणले संगीतकारले खाली गीत मात्र भन्दा संगीतको अध्ययन पनि जरुरी छ र संगीतमा पनि बिभिन्न कलेजहरु छन् तिनीहरुमा अध्ययन गर्नुका साथै कडा मेहनत गर्नुपर्छ भन्ने सिकाउनुभयो । उहाँले हस्पिटलको बेडमा हुँदा पनि म अहिले पनि संगीतको एक बिद्यार्थी हो भनेर भन्नुहुन्थ्यो । हो त्यस्तै गरी आउँदो पुस्ताले पनि साँगीतिक क्षेत्र कति महान छ र त्यसमा अम्बर गुरुङको योगदान बारे सिक्नुपर्छ । अहिलेको पुस्ताले खाली सस्तो लोकप्रियताका लागि संगीतको मापदण्ड मिचेर बिदेशीको सँस्कृति अनुसरण गर्ने कार्यहरुलाई हटाउनुपर्छ भन्ने मान्यता राख्नुपर्छ ।

अन्त्यमा केही ?
मलाई लाग्छ अम्बर गुरुङले जुन संगीतको मापदण्ड तयार गर्नुभएको छ, त्यो एकदमै सह्रानीय छ । हाम्रा अग्रजहरुले बनाएको यो मापदण्डलाई हामी सबै मिलेर साकार बनाऔं र उहाँका सपनाहरु साकार पार्नका लागि हामी आफूले जे जे सक्छौ त्यो गरौं । एउटा राम्रो सर्जकले एउटा पाठक, श्रोता र दर्शक तयार गर्नुपर्छ त्यो गरेको खण्डमा चाँहि अम्बर गुरुङको सपना पुरा हुन्छ ।

तपाईको प्रतिक्रिया