बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

बग्दाद – इराकको राजधानी सहर बग्दादमा इस्लामिक स्टेट समूहलले गरेको बम विस्फोटमा परी कम्तीमा पनि ३९ जनाको ज्यान गएको समाचार छ ।

मारिनेमा अधिकांश सर्वसाधारण परेका छन् । उनीहरूलाई आईएसका लडाकूले निशाना बनाएको समाचारमा उल्लेख छ । मङ्गलबार अपराह्न सो विस्फोट भएको थियो । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । हत्याको जिम्मेवारी पनि आईएसले नै लिएको जनाइएको छ ।

राजधानीमा आईएसका लडाकूले व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर आत्मघाती हमला गरेको जनाइएको छ । इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ । यसै हप्तामात्र बग्दाद र नजिकको क्षेत्रमा भएको बम हमलाहरूमा परी कम्तीमा पनि १४० जनाको ज्यान गइसकेको छ ।

आत्मघाती हमलाकारी महिला रहेको इराकी प्रहरीले जानकारी दिएको छ । इराकमा पछिल्लो समयमा आईएसले हमला गर्ने गरेको छ । इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ । केही समययतादेखि त्यहाँ हिंसा थप भड्किएको समाचारमा जनाइएको छ ।

गत शनिबार पनि ट्रकबम विस्फोट गराई २४ को हत्या गरिएको समाचारमा जनाइएको थियो । त्यसमा परी अरु ३८ जना गम्भीर रूपमा घाइते भएका छन् । बग्दादको नहरवान क्षेत्रमा रहेको खाद्यान्न बजारमा नागरिक जम्मा भएको समयमा विस्फोटक पदार्थले भरिएको एक ट्रक लगेर ठोक्काइएको थियो ।

त्यस आक्रमणमा परी ठूलो जनधनको क्षति भएको बग्दादको गृहमन्त्रालयले जानकारी दिएको छ । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार नागरिक किनमेलका लागि जम्मा भएको समयमा यसरी विस्फोटक पदार्थसहितको ट्रक लगेर विस्फोट गराइएको थियो ।

सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ ।

तपाईको प्रतिक्रिया