शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

SONY DSC

हामी बीचबाट वि. सं. २०७२ ले बिदा लिंदै छ । विदा लिदै गरेको वर्षभरिका तीतामीठा अनुभव र उपलब्धीको समीक्षा गर्दै अहिले हामी नयाँ वर्षको स्वर्णिम सपना बुन्ने संघारमा छौं । यतिबेला हाम्रो मथिङ्गलमा वर्षभरिका घटनाक्रम रिल झैं घुमिरहेका छन् । वर्षको प्रारम्भमै ठूलो जनधनको क्षती हुने गरी विनाशकारी महाभूकम्पको सामना गर्नुपर्‍यो । जसका कारण हजारौं नेपालीहरुले ज्यान गुमाउनु पर्‍यो भने हजारौंलाई घाइते, अपाङ्ग र बेसहारा बनाईदियो । अर्कोतिर युगौदेखिका महत्वपूर्ण भौतिक संरचनाहरु ध्वस्त बनाईदियो । बैशाख १२ को महाभूकम्पका कारण नेपालीहरुको मनमा कहिलै नपुरिने घाउ बनाएर ७२ साल हामीबिच बिदा हुँदै छ ।

यही वर्ष हामीले विगत लामो समयदेखि ब्यग्र प्रतीक्षा गरेको र समग्र नेपाली जनताको केन्द्रीय चाहना बनेको संविधान त पायौं तर संबिधान जारी भएलगत्तै छिमेकी मुलुक भारतको अघोषित नाकाबन्दीको सामना गर्नुपर्‍यो । सबैभन्दा नजिकको एक असल छिमेकी राष्ट्रले देखाएको त्यो अशोभनीय ब्यवहार नेपालीहरुले ६ महिनासम्म सहेर बस्न बाध्य हुनुपर्‍यो । नेपालको राजनीतिमा बैदेशिक नाङ्गो हस्तक्षेपको एउटा ज्वलन्त नमुना यसै वर्षमा नेपालीहरुले प्रत्यक्ष भोग्नुपर्‍यो । जुन घटनाले एकातिर नेपालीहरुमा राष्ट्रिय एकताको भावना जगायो भने अर्कोतिर स्वाधिनताको सवालमा नेपालका नेताहरुको अग्नीपरीक्षा भयो ।

लामो सकसपछि यसै वर्ष संबिधान त जारी भयो तर कार्यान्वयनमा एकपछि अर्को चुनौती देखा पर्न थाल्यो । संबिधानमा आफ्ना हकअधिकार सुनिश्चित नभएको भन्दै मधेशकेन्द्रित दलहरु लामो समयदेखि आन्दोलनमा छन् । यो मुद्दाले छिट्टै निकास पाउने छाँटछन्द देखिदैन । यो क्रम लम्बिदैं जाने हो भने संबिधान बनाउन त वषौं लाग्यो नै कार्यान्वयन गर्न पनि वर्षौ लाग्न सक्ने देखिन्छ, जसले गर्दा भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण र आर्थिक समृद्धिका कुरा धेरै पछाडि धकेलिन पुग्नेछन् । अनाहकमा समयको बर्बादी हामी सबै नेपालीका लागि घाटा हो । त्यसो हुँदा जिम्मेवार राजनीति दलहरुले फेरि पनि सुझबुझपूर्ण ढंगले आपसी सहमतिमा मुलुकलाई जतिसक्दो छिटो संक्रमणकालबाट मुक्त गर्न कुनै पनि कसुर बाँकी राख्नुहुँदैन । दलिय स्वार्थ र राजनैतिक लाभहानीको जाँतोमा मुलुकलाई अनिर्णयको बन्दी बनाईनुहुँदैन ।

ठिक यतिनै बेला नेपाली नयाँ वर्ष २०७३ को आगमन भएको छ । पुरानो वर्षको बिदाई गर्दै नयाँ वर्षको स्वागत गर्ने यो घडीमा वर्षभरि भए-गरेका राम्रा-नराम्रा कामबाट पाठ सिक्दै आउँदो वर्ष थप सार्थक र उपलब्धिमुलक बनाउन सकौं, हामी नेपालीका लागि नयाँ वर्ष २०७३ प्रगति, उन्नती र सफलताको ऐतिहासिक वर्ष साबित हुन सकोस्, नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने हाम्रा पाठक, शुभचिन्तक, लेखक, सहयोगी एवं विज्ञानदाताहरु सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ ।***

तपाईको प्रतिक्रिया