शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपालमा छोटै समयमा ठूलठूला राजनीतिक परिवर्तनहरु भएका छन् । सक्रिय जीवन विताइरहेको वर्तमान पुस्ताले ति सबै घटनाक्रम र परिवर्तनहरुका लागि योगदान दिएका छन् र कम्तिमा पनि आरोह अवरोह झेल्दै साक्षी बनेका छन् । ती परिवर्तनहरु पछि मुलुकको कायापलट र व्यक्तिगत जीवनमा सहजताको अपेक्षा गरिदै आएको छ । तर अपेक्षा गरिए अनुसार मात्र नभएर देशको समग्र विकास र जनताको जीवनस्तर उकास्ने काम पटक्कै हुन सकेको छैन । समयको गतिसँगै हुने केही विकासलाई देखाएर यति भयो र उति भयो भन्नुको जवाफ ५० लाख भन्दा बढी विभिन्न नाममा अन्ततोगत्वा रोजगारीका लागि विदेशिनु परिरहेको अवस्थाले दिइरहेको छ । अव गरेको जस आफू लिन खोज्ने र अपजस अरुलाई दिन खोज्ने राजनीतिक प्रवृत्तिको अन्त्य गरी साँचो अर्थमा विकास निर्माणका निम्ति व्यवस्थापन क्षमता सहितको दरिलो कदम चाल्न सक्ने नेतृत्व आवश्यक छ ।

समृध्द नेपाल निर्माणका लागि पूर्वाधार विकासका केही महत्वपूर्ण क्षेत्रमा निजी क्षेत्रलाई साथ लिएर सरकार अघि बढ्नुपर्छ । खासगरी विद्युत उत्पादन, द्रुतगतिका आधुनिक राजमार्गहरु तथा विमानस्थलको निर्माणमा कत्ति पनि ढिला नगरी काम सुरु हुनु आवश्यक छ । १०५ वर्ष अघिदेखि विद्युत उत्पादन गर्न थालेको र जलस्रोतको दोस्रो धनी भनि चिनिएको देश अन्धकारमा छ । विकसित देशहरुले समुद्रमुनी बाटो बनाएर उपयोग गरिरहेका छन् हाम्रो भने सिंगो देशमा एउटा हाइवे पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको छैन । काठमाडौं हेटौंडा सुरुङमार्गको निर्माण सम्बन्धी कार्ययोजना र अवधारणाले एक समय उत्साहको सञ्चार गरेको थियो । तर त्यो पनि विविध कारणहरुले अघि बढ्न सकिरहेको छैन । त्यसको प्रमुख कारण त सरकारी सहयोगको कमि नै हो । यति ठूलो आयोजनालाई एकै पटक निजी क्षेत्रलाई मात्र छोडिदिएर सरकार चाही हेरौं न कसरी बन्दोरहेछ भनेर चुप बस्नुहुँदैन । अहिले फेरि एक पटक यो आयोजना चर्चामा आएको छ । चर्चाको कारण त्यस आयोजनाको जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनीको नयाँ नेतृत्व हो ।

जापानका सफल युवा ब्यवसायी तथा त्यस आयोजनाका प्रमुख लगानीकर्ता भवन भट्ट त्यस कम्पनीको अध्यक्ष भए पछि रोकिएर बसेको आयोजना अघि बढ्ने संकेत देखिएको छ । अगाडिदेखि लगानी गरिरहेकाहरु उत्साहित देखिन्छन् भने नयाँ लगानीकर्ता आउने सम्भावना बढेको छ । सरकारको यथेष्ठ सहयोगी र समन्वयकारी भूमिका भइदियो भने गैरआवासीय नेपाली संघका उपाध्यक्ष समेत रहेका भट्टले लगानी जुटाएर आयोजनालाई गति दिन सक्ने विश्वास जागेको छ । शुरुमा ३५ अर्वको लगानीको अनुमान गरिएको उक्त आयोजनाको लागत बढ्दै जानु स्वभाविक छ । यो मुनाफा सहितको कल्याणकारी काम भएकाले पारदर्शी ढंगले आयोजनाका बारेमा जानकारी गराएर काम अगाडि बढाउने हो भने स्वदेशमा र विदेशमा बस्ने नेपालीहरुले लगानी नगर्ने देखिदैन ।

यस किसिमको एउटा मात्रै आयोजनालाई सफल बनाउन सके नेपालको पूर्वाधार विकासको क्षेत्र आधुनिक चरणमा प्रवेश गर्छ । यस्ता थुप्रै आयोजनाहरु तय हुँदै जान्छन् । रोजगारीका अवसर बढ्छ र देश समृध्दिको मार्गमा अघि बढ्छ । सँधै सकिदैन र हुँदैन मात्र भनेर बस्ने हो भने विकासका र समृध्दिका कुरा गर्नु ब्यर्थ छ । हाम्रो जस्तो पछि परेको देशलाई समृध्दिको मार्गमा हिंडाउन सरकारी र निजी क्षेत्र दुवैले विश्वासका साथ हिम्मत बढाएर काम गर्नुपर्छ । अहिले त्यस निम्ति उपयुक्त बेला छ । नाकाबन्दीले हामीलाई ठूलो पाठ पढाएको छ भने हामी नेपालीमा सबै मिलेर केही गर्नुपर्छ भन्ने भावना पनि बढाइदिएको छ । ***

तपाईको प्रतिक्रिया