शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बिशेष सम्पादकीय

दिवस नै दिवस भएको नेपालमा अहिलेसम्म मुख्य राष्ट्रिय दिवसको घोषणा हुन सकेको छैन । फागुन ७ मा प्रजातन्त्र दिवस, बैशाख ११ मा लोकतन्त्र दिवस, जेठ १५ मा गणतन्त्र दिवस जस्ता उस्तै प्रकृतिका दिवसको सूची लम्बिदो छ । संबिधान निर्माण भई घोषणा हुने दिनलाई संभवत सरकारले संबिधान दिवस घोषणा गर्ने नै छ । तर नेपालको राष्ट्रिय दिवसचाँही अहिलेसम्म घोषणा हुन नसक्दा मुलुकले अन्तर्राष्ट्रिय प्रचलन र मान्यता बमोजिम आफुलाई उभ्याउन सकेको छैन ।

माथिका सबै दिवसलाई मिलाएर कुनै एक दिनलाई राष्ट्रिय दिवस घोषणा गर्दा नेपाली क्यालेण्डरबाट केही दिन विदा घट्ने हुँदा राज्यलाई बेफाइदा गर्दैन । ऐतिहासिक उपलब्धिका हिसाबले सबै दिवसका आ-आफ़्नै महत्व अवश्य छन् तर पनि राष्ट्रिय हितका लागि सबैलाई मिलाएर एउटै बनाउँदा उपयुक्त हुने देखिन्छ । यतातिर सत्तासिनहरुको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।

उस्तै प्रकृतिको दिवस धेरै भएपछि महत्व घट्नु स्वभाविकै हो । यसो हुँदा औपचारिकता पुरा गर्नका लागि मात्र दिवसहरु मनाईने प्रचलन बढेको पाईन्छ, यसो गरिनु सर्बथा गलत छ । यो संस्कारको अन्त्य हुनुपर्दछ । राज्यको खर्चले मनाईने दिवसहरु औपचारिकतामा मात्र सीमित गरिनुहुँदैन । राष्ट्रका गौरव गर्न लायकका महत्वपूर्ण दिवसमा जनतालाई त्यसबारे सुसूचित गराउने, चेतनशील तुल्याउने, हाम्रा पूर्खाले गरेका योगदानप्रति गर्वानुभूति हुने र आत्मबल बढाउने खालका उपलब्धिमुलक कार्यक्रमहरु आयोजना गरिनु आवश्यक छ । केहि वर्षयता यस्ता दिवसहरु देशभित्र होस् या बाहिर केवल औपचारिकताका लागि मात्र मनाईने गरेको पाईन्छ । आजको दुनियामा महत्वपूर्ण स्रोत र समय खर्चेर मनाईने दिवसलाई परिणाममुखी, सन्देशमुलक र जनताको मन छुने खालको बनाईनुपर्दछ । यस सम्बन्धमा सम्बन्धित निकाय एवं जिम्मेवार अधिकारी गम्भीर हुनैपर्दछ ।

रैतीबाट प्रजा, प्रजाबाट जनता हुँदै सार्बभौमसत्ता सम्पन्न नागरिक भईसकेका नेपालीले प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र दिवस मनाउन लागेको छिट्टै एक दशक पुग्दै गर्दा सिटामोलको अभावमा अझै जाजरकोट दुख्दैछ । सीमानाका नेपाली आज पनि असुरक्षित छन् । राजधानीको मुटुमै एकाबिहानै एसिड आक्रमण हुन्छ, दैनिकजसो बालिका बलात्कारका घटना सुनिन्छन र दिनदिनै हत्या हिंसा बढिरहेका छन् । जबसम्म जनताका आधारभुत कुराहरु शान्ति सुरक्षा, खाना, नाना र छानाको ब्यवस्था हुँदैन तबसम्म प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको कुनै राप र तापले जनतालाई छुँदैन र औपचारिकताका लागि मनाईने दिवसहरु कागजमा मात्र खुम्चिन पुग्छन् ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्ष अर्थात दोस्रो जनआन्दोलनको बलले २३९ वर्ष लामो राजतन्त्रको अन्त्य गरी गणतान्त्रिक नेपालको नक्शा कोरेको स्मरणमा हरेक वर्ष बैशाख ११ लाई लोकतन्त्र दिवसका रुपमा मनाईदैं आईएको हो । यस घडिमा लोकतन्त्र प्राप्तीका लागि सहादत प्राप्त गर्ने ज्ञातअज्ञात महान सहिदहरुप्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दछौं र घाइते, अपाङ्ग र बेपत्ता परिवारमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । ***

तपाईको प्रतिक्रिया