शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

लण्डन – गैर आवासीय नेपाली संघ बेलायतले पूर्व गोर्खाहरुबीचको एकता तथा गोर्खा आन्दोलनका बारेमा बृहत छलफलका लागि यही डिसेम्बर २८ तारिखका दिन बेलायतको अल्डरसटमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा पूर्व गोर्खाहरुसंग सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधिहरुले ज्ञानराज राईले हालै गर्नुभएको आमरण अनसन, गोर्खाका मागहरु सम्बन्धि छानबिनका लागि बेलायत सरकारले गठन गरेको संसदीय समिति तथा सो समितिमा पेश गरिनुपर्ने मुख्य दस्तावेजहरुका बारेमा आफ़्ना धारणाहरु राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिंदै एनआरएन युकेका उपाध्यक्ष्य तथा सो कार्यक्रमका संयोजक क्या. रिटायर्टड बालकृष्ण गुरुङले गैर आवासीय नेपाली संघ तथा त्यसको भूमिकाका बारेमा बताएका थिए । उनले सबै तर्फबाट एक सामुहिक अन्तर्क्रियाका लागि अनुरोध आएका कारण यो कार्यक्रमको आयोजना गरिएको पनि बताए ।

gurkha interaction 2कार्यक्रमको शुरुमा सेण्टर फर नेपाल स्टडिज, युकेका प्रतिनिधि डा. चन्द्र लक्सम्बाले भुपू गोर्खाहरुको अभियानका बारेमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । गोर्खा सत्याग्रह समितिका मिडिया डाइरेक्टर तथा युबिजिइएका महासचिव दिपक मास्केले सकिन्छ भने सबै गोर्खा संघहरु मिलेर जाउं र सकिंदैन भने सत्याग्रह समितिले राखेका मागहरुको विरोध गरेर गोर्खाहरुलाई कमजोर नबनाउन आग्रह गरेका थिए । बिजिडब्ल्युएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवानले गोर्खाहरुले आफ़्ना मागहरु राख्दा दह्रो भएर मात्र राख्नुपर्ने र यस आन्दोलनमा नेपाल सरकारका प्रतिनिधिलाई समेत सहभागी गराउनुपर्ने बताए । त्यसैगरी बिगेसोका डा. रामनारायण कन्ङग्वाले गोर्खाहरुको माग समानताको माग भएको उल्लेख गरे । गोर्खा सत्याग्रह समितिका निर्देशक ज्ञानराज राईले आफु आमरण अनसन बस्दा नैतिक समर्थन गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

एनआरएन युकेका पूर्व अध्यक्ष्य मे रिटायर्ड डमर घलेले सबैले कन्जुस्याईं नगरी आफुसंग भएका जानकारी तथा प्रमाणहरु पेश गरिदिन आग्रह गरे र यस्ता कार्यहरुका लागि समयतालिका पनि तोकिनुपर्ने सुझाव दिए । नेसाका केशबहादुर गुरुङले पनि आफुहरुले गोर्खा आन्दोलनलाई सहयोग पुर्‍याउने र एकताबद्ध भएर लाग्नुपर्ने बताए । गोर्खा सत्याग्रह समितिका संयोजक कृष्णबहादुर राईले गोर्खा आन्दोलनालाई निष्कर्षमा पुर्‍याउनै भनेर सत्याग्रह थालिएको र त्यो टुंगोमा पुरयाएरै छाडिने बताए ।

एनआरएन युकेका कार्यबाहक अध्यक्ष महेन्द्र कँडेलले एनआरएन युकेले गोर्खाहरुको आन्दोलन र जायज मागहरुलाई सदैव समर्थन गरिरहेको र गरिरहने बताए ।

सो कार्यक्रममा एनआरएन युकेको हरप्रयासका बाबजुद गेसोका प्रतिनिधिहरुलाई उपस्थित गराउन नसकिएको जानकारी संयोजक बालकृष्ण गुरुङले दिएका थिए । गेसोका प्रतिनिधिहरुलाई कार्यक्रममा निमन्त्रणा दिईएता पनि कोही पनि प्रतिनिधिहरु उपस्थित भएनन् । तर उनीहरुलाई पनि एकै ठाउँमा ल्याउने जमर्केा जारी रहने संयोजक गुरुङले बताए ।

एनआरएनका कार्यबाहक अध्यक्ष महेन्द्र कंडेलको सभापतित्वमा भएको सो अन्तर्क्रिया कार्यक्रमको सञ्चालन एनआरएन युकेका महासचिव योगकुमार फगामीले गरेका थिए । सो कार्यक्रममा एनआरएन युकेका पूर्व अध्यक्षहरु डमर घले, सूर्य गुरुङ, उपाध्यक्षहरु सूर्य नेम्बाङ, हिराधन राई, शान्ति थापा, महासचिव योगकुमार फगामी र राजकुमार त्रिपाठी, सचिव संगीता मरहट्टा, सदस्यहरुमा क्या. हरिबहादुर थापा, राम गलामी, गोपाल गुरुङ, आईसीसी सदस्यहरु लगायतका पदाधिकारीहरु तथा पूर्व गोर्खाहरुसंग सम्बन्धित विविन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । ***

 

 

तपाईको प्रतिक्रिया