शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
दुबई   – युएइमा कार्यरत नेपालीहरुले यसपालिको तिहारलाई गएको १ नोभेम्बर शुक्रबारका दिन दुबईको इम्पिरियल सुर्इट होटलमा चर्चित लोक गायक विमलराज क्षेत्री र स्थानीय ख्यातिप्राप्त कलाकारहरुको विविध प्रस्तुतिमा बेजोडको साँस्कृतिक कार्यक्रमका साथ सांगीतिक माहौलमा तिहार मनाएका छन् । सो कार्यक्रम पर्वत सेवा समाज युएईले तिहारको अवसरमा आयोजना गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएइका वरिष्ठ सल्लाहकार बालकृष्ण अधिकारी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता पर्वत सेवा समाज युएइका
अध्यक्ष मणिप्रसाद भुर्तेलले गर्नुभएको थियो । त्यसैगरी बिशेष अतिथिमा नेपालबाट आउनुभएको चर्चित लोकगायक विमलराज क्षेत्री, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी र पत्रकारहरु रहेका थिए ।
प्रमुख अतिथि बालकृष्ण अधिकारी, अध्यक्ष मणिप्रसाद भुर्तेल र कार्यक्रम संयोजक पशुराम पौडेलको संयुक्त दीप प्रज्वजलनबाट थालनी गरिएको कार्यक्रममा पर्वत सेवा समाज युएईका दुबई क्षेत्रीय उपाध्यक्ष कमल लामिछानेले पर्वत जिल्लाका बारेमा प्रकाश पार्दै आफ्नो कार्यप्रतिवेदन सुनाएका थिए ।
दुबै चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणको अनौअपचारिक कार्यक्रम पुरुषोत्तम सुवेदीले संचालन गरेका थिए भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रमलाई युएईमा चर्चित मोडल आशिष पुरुष र शाङ भुटियाले संयुक्तरुपमा संचालन गरेका थिए ।
देउसी भैलोबाट सुरुवात गरिएको सांगीतिक कार्यक्रममा “मैले छुदा छोइन्छ भने त” ज्ञानु आचार्यले गाएको गीत र “मैले माया लाए के बिराए” दीपक गुरुङको नृत्यले हललाई हल्का रुपमा तताउन सुरु गरेको थियो । गायक छविकिरण भट्टराईले गाएको गीत “कहां गयौ तिमी” र “जम्का भेट भयो हाम्रो बजारमा”, दिनेश बालामीको गीत “मलाई प्यारो लाग्छ मेरो देश नेपाल” निकै मार्मिक लाग्दथ्यो । त्यसैगरी “फुलहरु फुलिरहन्छ” गीतमा शितल शान्ति र अनुराग थपलियाको युगल जोडी नृत्यले युगल प्रेमीहरुको धड्कनलाई धड्काएको थियो ।
चर्चित गायक तथा अतिथि कलाकार विमलराज क्षेत्री जब स्टेजमा प्रवेश गरे सिटी र तालीबाट स्वागत गरिएको थियो । आफ्नो गाउंको कथा सुनाउदै सारंगीको धुनमा “पर्वत मेरो जन्मिएको ठाउँ, प्राणभन्दा प्यारो लाग्छ नि जन्मिएको गाउँ” गाएको गीतले पर्वतेवासीहरुलाई एकछिनको लागि साच्चिकै पर्वतको गाउँमा पुर्‍याउन सफल भएको थियो । आफ्नै चर्चित एल्वमका गीतहरु “बल्लै भेट भो”, “जहाँ गए नि आउछौ बाटोमा”, “हासेनी बोलेनी”, “यो मन तेतै छ” “मधु बनैमा”, “सुपारी चाम्रो छ”, “पानी मिठो मुलको” र पञ्चे बाजाका गीतले दर्शकहरुलाई नचाउन समेत भ्याएका थिए ।
स्थानीय कलाकार गोपी किशनले गाएको गीत “हावा चल्यो सरर..”, प्रशान्त ताजपुरियाको गीत “किन गार्‍हो गार्‍हो भो”, सवाकी कार्कीको ही पप गीत, “डाफे झै नाच्ने” गीतमा शितल शान्तिको एकल नृत्य, अभिषेक पुरीको नृत्य पनि सान्दर्भिक लाग्थ्यो ।
कार्यक्रमलाई सहज र पारदशी बनाउनका लागि सोही समाजका केन्द्रीय उपाध्यक्ष राजेन्द्र अधिकारी, कार्यक्रम संयोजक पशुराम पौडेल र अध्यक्ष मणिप्रसाद भुर्तेलको अहम भूमिका रहेको थियो । सो अवसरमा दर्शकहरुलाई मनोरञ्जनात्मक तथा आफ्नो योगदान दिने कलाकारहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।      ***
Tihar program image 5
 tihar program image 8 Tihar program image 1 Tihar program image 2 Tihar program image 3 tihar program image 6 tihar program image 7

तपाईको प्रतिक्रिया