बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौ – शिक्षा मन्त्रालयले भारतका विभिन्न विश्वविद्यालयसित सम्बन्धन लिएर नेपालमा चलेका कलेजलाई ‘ब्याच्लर्स अफ बिजिनेस एडमनिस्ट्रेशन’ (बीबीए) अध्ययनको शैक्षिक अवधी चारवर्षे बनाउन निर्देशन दिएको छ । नेपालका त्रिभुवन (त्रिवि) र काठमाडौं विश्वविद्यलाय (केयु)को बीबीए चार वर्षे भएकाले समकक्षता निर्धारणका लागि यस्तो निर्देशन दिएको हो । मन्त्रालयको निर्देशन अनुसार चार वर्षे नबनाए ती कलेजका विद्यार्थीले विबीएले समकक्षता पाउने छैनन् ।
मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा शाखाका उपसचिव तुलसी थपलियाले नेपालका विश्वविद्यालयसित समकक्षता निर्धारणमा समस्या र बेमेल देखिएपछि यस्तो  निर्देशन दिनु परेको बताए । ‘हामीले कसैलाई तीन वर्षे कार्यक्रम बन्द गर्न भनेका होइनौं’, उनले कान्तिपुरसित भने, ‘समकक्षता निर्धारणमा समस्या आएपछि चारवर्षे बनाउन निर्देशन दिइएको हो । नेपालका विश्वविद्यलायसित समकक्ष बनाउन त्यो जरुरी छ भनेर औल्याएका हौं ।’ त्रिवि र केयुका व्यवस्थापन संकायका डिन तथा थपलिया सम्मिलित समितिले तयार गरेको अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार करिब ८ वटा कलेजलाई औपचारिक रुपमा मन्त्रालयले पत्र काटेर यस्तो निर्देशन दिएको छ । यसमा भारतका विभिन्न विश्वविद्यलायसित सम्बन्धन लिएका कलेज छन् । त्रिविले आफ्नो बीबीए कोर्स ४ वर्षे भएकाले ३ वर्षे कोर्सको समकक्षता त्रिवि बराबर नहुने भन्दै ३ वर्षे बीबीए पढेकालाई बीबीएसको समकक्षता दिने गरेको थियो । नेपालमा बीबीएस ३ वर्षको छ । यस्ता विद्यार्थीलाई एमबीए पढ्न समस्या छ । ‘बीबीए पढेकालाई बीबीएसको समकक्षता दिनुभन्दा सम्बन्धित कलेजलाई आफ्नो शैक्षिक वर्ष बढाउन निर्देशन दिइएको हो’, थपलियाले भने ।
बीबीएमा पोस्ट ग्रयाजुयट डिप्लोमा -पिजी) कक्षा चलाएकाहरुलाई भने चार वर्षेकै मान्यता दिएको मन्त्रालयले जनाएको छ । यसबारे मन्त्रालयले केही वर्ष अघिनै सम्बन्धित कलेजहरुलाई जानकारी गराइसकेको र अहिले औपचारिक पत्राचार गरेर निर्देशन दिएको थपलियाले बताए । समितिका सदस्यसमेत रहेका केयुको व्यवस्थापन संकायका डिन डा सुवास केसीले प्ल्स टुको विद्यालय तहपछि चार वर्षको स्नातक तह पार गरेरमात्रै स्नातकोत्तरमा भर्ना पाउने अन्तराष्ट्रिय प्रावधान अनुसरण गरेर समितिले बीबीए चार वर्षे हुनु पर्ने सिफारिस गरेकेा बताए ।
‘तीन वर्षे बीबीए गरेकाले एमबीएमा भर्ना नपाउन सक्छन्’, उनले कान्तिपुरसित भने, ‘विदेशमा पनि प्लस टुपछि चार वर्ष स्नातक पढ्नु पर्ने मान्यता छ । विद्यार्थीलाई समस्या नपरोस् भनेर हामीले समान तहको शिक्षा सबै कलेजमा चार वर्षको होस् भन्ने चाहेका हौं ।’ उनले तीन वर्षे कोर्स पढाए पनि नेपालको विश्वविद्यालयसित समान हुने गरी थप १ वर्षको कक्षा चलाउने व्यवस्था मिलाउन समितिले सिफारिस गरेको जनाए ।
तीन वषर् बीबीए सञ्चालन गरिरहेका कलेजले भने मन्त्रालयको कदमप्रति असन्तुष्टि जनाएका छन् । तीन वर्षे कोर्सलाई चार वर्षे बनाउन सम्बन्धित विश्वविद्यालयलेमात्रै सक्छ । मन्त्रालयको निर्देशनबाट नेपालमा रहेका त्यस्ता करिब दुई दर्जन कलेज प्रभावित हुने अनुमान छ । कामकाजी र प्रयोगात्मक सिकाइका कारण पछिल्लो केही वर्षदेखि नेपालमा बीबीए आकर्षणमा छ । केयुले बीबीएको अध्यापन सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया