शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
रुकुम – यार्चागुम्बुबाट अघिल्लो वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेका हुकाम-४ का दालचन बुढाको ६ जनाको परिवारले यो वर्ष करिब डेढ महिना बुकिपाटनमै बितायो । उनीहरू जेठ २० गते बुकिपाटन पुगेका थिए । त्यहाँबाट साउन ३ गते मात्र फर्किए । यस वर्ष परिवारका सबै सदस्यले टिपेको यार्चागुम्बुबाट १४ लाख रुपैयाँ कमाएको बुढाले खुसी हुँदै सुनाए । ‘यसपालि राम्रै कमाइ भयो,’ उनले भने, ‘अघिल्लो वर्ष यार्चाबाटै कमाएको १० लाख रुपैयाँमा किनेको दाङको तुल्सीपुरको घडेरीमा घर बनाउने विचारमा छु ।’
उनकी ७१ वषर्ीया आमादेखि १५ वषर्ीय छोरा विप्लवसमेत यसपालि बुकिपाटन पुगेका हुन् । ‘यार्चा टिप्न नगए हाम्रो परिवार भोकभोकै हुन्छ ।’ उनले भने ‘गाउँमा अन्न उत्पादन नहुने भएकाले वर्षभरिको गास-वासको जोहो यार्चागुम्बुबाटै हुन्छ ।’ उनले यो बहुमूल्य जडीबुटी टिपेको रकमले ५ वर्षअघि सदरमुकाममा ६ कोठे पक्की घर बनाएका छन् ।
जेठको पहिलो साता बुकिपाटन पुगेका तकसेरा-३ घुम्लिबाङका पहलबहादुर पुन, उनका तीन छोराहरू अंकित, बद्री र जितबहादुर पनि साउन ६ गतेमात्र सदरमुकाम पुगे । काठमाडौँको बालाजुमा छोराहरूसहित रुकुम लांघाली गेस्टहाउस चलाउँदै आएका पुन सात वर्षदेखि नियमित यार्चा टिप्नकै लागि कोटस्थित बुकिपाटन पुग्छन् । ‘जीवनबुटी (यार्चा) टिप्नकै लागि रुकुम आएको हुँ ।’ उनले भने, ‘यसपालि यार्चाको मूल्य बढेकाले राम्रो आम्दानी भयो ।’ सात वर्षदेखि यार्चागुम्बु टिपेकै रकमले होटल व्यवसायमा लगानी गरेको र बालाजुमा तीन आना जग्गा जोडेको पुन बताउँछन् । बर्सेनि दस लाखभन्दा बढी कमाउने पुन र उनका छोराले यस वर्ष १७ लाख कमाएको बताए ।
मैकोटस्थित प्राकृतिक सम्पदा संरक्षण मञ्चका अध्यक्ष लजिम पुनले यस वर्ष यार्चागुम्बुको उत्पादन राम्रो भएको र करिब  ३० करोडभन्दा बढीको व्यापार भएको बताए । ‘करिब ९० किलो यार्चाको कारोबार भएको अनुमान छ,’ उनले भने, ‘यस वर्ष करिब नौ हजारजनाले यार्चागुम्बु संकलन गरेका छन् ।
जिल्लाका हुकाम, तकसेरा, स्यालाखदी, गोतामकोट, सिस्ने, जाङ, रन्मामैकोटलगायतका दुई दर्जन गाविसमा अन्न उत्पादन कम हुन्छ । अधिकांश बेरोजगार रहेकाले उनीहरू वर्षभरिको खर्चको जोहो यार्चागुम्बु बिक्रीबाट गर्छन् । गाउँ नै रित्तो बनाएर दुई दर्जन गाविसका बासिन्दा यार्चा टिपेर भर्खरै मात्र फर्किएका छन् । सिजन व्यवस्थापन समितिका सल्लाहकार नन्दप्रसाद पुनले यार्चाले स्थानीयको जीवनस्तर बदल्ने गरेको बताए । उनले यार्चागुम्बुबाट आएको रकमले स्थानीयले जिल्ला सदरमुकामदेखि राजधानीसम्म घर बनाएको बताए । ‘यार्चाबाटै स्थानीयहरूको आर्थिक उन्नति भइरहेको छ,’ उनले भने, ‘जीवन निर्वाहदेखि राम्रो आर्थिक स्थर बनाउने
बर्सेनि यार्चा टिप्न जाने गरेका छन् ।’ यार्चागुम्बु संकलनस्थलमै २८ लाख प्रतिकिलो बिक्री भएको उनको भनाइ छ ।
यहाँको बुकिपाटनस्थित पुपाल, जंगला र अरबिदामा यार्चागुम्बु पाइन्छ ।
यस वर्ष सिजन व्यवस्थापन समितिले सर्वसाधारणहरूका लागि १ हजार ५ सय र व्यापारीका लागि १५ हजार प्रवेश शुल्क लिएको थियो । ८ हजार २ सय संकलक र १ सय ७६ व्यापारीले यार्चागुम्बु अनुमतिपत्र लिएको सिजन व्यवस्थापन समितिले जनाएको छ । जसबाट मात्रै २ करोड रकम समितिमा संकलन भएको छ ।
 
किलोको २८ लाख
यार्चागुम्बु पाइने रुकुमको मैकोटस्थित बुकिपाटनमै प्रतिकिलो २८ लाखमा बिक्री भएको छ । सिजन व्यवस्थापन समितिका अनुसार यस वर्ष राम्रो उत्पादन भएकाले बुकिपाटनमै न्यूनतम २८ लाखमा यार्चागुम्बु बिक्री भइरहेको हो ।
यस वर्ष पानी र हिमपातले ठूलो असर नगरेकाले यार्चागुम्बुको राम्रो उत्पादन भएको संकलकहरूले जनाएका छन् । सिजन व्यवस्थापन समितिका सल्लाहकार नन्दप्रसाद पुनले अघिल्लो वर्ष प्रतिकिलो २४ लाखमा बिक्री भएको यार्चा यस वर्ष पाटनमै २८ लाखमा बिकेकाले व्यापारीहरू र संकलकहरू उत्साहित भएको बताए । उनले यार्चाको संकलन कार्य नरोकिएकाले मूल्य बढ्न सक्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया