शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
pakhuraइजिप्टका २४ वर्षीय मुस्तफा इस्मालका यामानको पाखुरा देख्दा धेरैलाई लाग्न सक्छ– उनले कृतिम तरिकाले पाखुरा बढाएका हुन् । यस्तो आशंका बढ्दै गएपछि भ्रम चिर्न उनले जापानको एक टेलिभिजनमा अल्ट्रासाउन्ड गराए । अल्ट्रासाउन्डले उनको पाखुरामा कुनै प्रकारको कृतिमता नरहेको पुष्टि गर्‍यो । यसबाट मख्ख परेको सम्झिँदै भन्छन्, ‘अनि त्यसपछि मेरो कसिलो पाखुरालाई शंकापूर्वक हेर्ने घटे । ज्यादै गौरव लागेको छ मलाई, पाखुराप्रति ।’
३१ इन्च मोटा उनका पाखुराजत्रो धेरैको कम्मर पनि हुँदैन । ‘पाखुरा ४० इन्चको बनाउने धोको छ,’ उनी भन्छन् । गत वर्ष विश्वकै सबैभन्दा ठूलो पाखुरा भएको व्यक्तिका रूपमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्तासमेत गराइसकेका छन् । आफ्नो बलिष्ठ पाखुरापछाडिको रहस्य खोल्दै उनी भन्छन्, ‘गाईको मासु र कुखुरा मेरा बेस्ट खाना, सागपातमा त्यति ध्यान दिन्नँ ।’
इजिप्टको एलेक्जेन्ड्रिय सहरमा जन्मेहुर्केका उनी सन् २००७ मा अमेरिका गए । ‘इजिप्टमा राम्रो जिमखाना थिएन, त्यसैले खोजीमा अमेरिका पुगेँ,’ उनी सम्झिन्छन् ।
सानोमा आफूलाई साथीहरूले ‘थसुल्लो पल्टिएको मोटे’ भनेको सम्झिँदै उनी सुनाउँछन्, ‘मोटो भन्नेहरू अहिले मलाई भीमसिने भन्न थालेका छन्, ज्यादै रमाइलो लाग्छ ।’
बिहे गरेर उनले अमेरिकाको क्यारोलिनामा घर बसाएका छन् । ‘गिनिज बुकमा नाम लेखाउने म पहिलो इजिप्सेली नागरिक हुँ । मेरा लागि इजिप्टमा परिवारसहित बाहिरकाले समेत उत्सव मनाए । उनीहरूलाई मप्रति गर्व छ । सम्झिँदा पनि खुसीले फुरुंग हुन्छु,’ उनी भन्छन् । बलिष्ठ पाखुरा प्रदर्शन गर्नकै लागि उनले बेलायतसहित दर्जनभन्दा बढी देश घुमिसकेका छन् । ‘म पुगेको हरेक ठाउँका मानिस मेरो पाखुरा छाम्न आउँछन् । तपाईंको पाखुरा देखेर जिम गर्ने हौसला मिल्यो भन्ने पनि छन् । मेरो पाखुराको दर्शनपछि लागुऔषध सेवन बन्द गरेको एलान गर्ने एडिक्टहरू पनि भेटेको छु,’ उनी सुनाउँछन् ।
दुई सय ७५ केजी वजन उठाउन सक्ने उनी भारोत्तोलन खेलाडी भने होइनन् । म्यासाचुसेटको ग्यास स्टेसनमा उनी सातामा ७० घन्टा काम गर्छन्, सहायक व्यवस्थापकको हैसियतमा । फुर्सद हुनासाथ उनी जिमखाना पुगिहाल्छन् । बिहान पाँच बजे उठेर उनी तीन घन्टा जिमखानामा बिताउँछन् । उनको खान्की पनि डरलाग्दो छ । दैनिक तीन केजी मासु, चार केजी कार्बोहाइड्रेट्स र तीन ग्यालेन पानी ।
अहिले उनको शरीर देखेर मरिमेट्ने धेरै छन् । ‘तर, सानोमा मेरो शरीरभरी मासुका लुथ्रा झुन्डिन्थे । साथीभाइका अगाडि भेस्ट खोल्न पनि लाज लाग्थ्यो । आमाले मलाई पौडी खेल्न पठाउनुहुन्थ्यो । भेस्ट लगाएरै म स्विमिङ पुलमा फाल हान्थेँ,’ उनी सम्झिन्छन् ।

तपाईको प्रतिक्रिया