बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
JN Khanalकाठमाडौ- क्यान्सर निदानमा बहुउपयोगी लोठसल्लाको पात संकलनमा सर्वसाधारण र व्यापारीको मात्र नभई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालको पनि पारिवारिक लागानी देखिएको छ । खनालकी पत्नी रविलक्ष्मी चित्रकार संकलनको अनुमति लिन वन मन्त्रालय र वन विभाग धाइरहेकी छन् ।
जानकारहरूका अनुसार खनाल परिवारले गत वर्ष किशोरी महतो र लुना भन्ने व्यक्तिबाट करिब १८ करोड रुपैयाँमा साझेदारीमा हेटौंडा बसामाडीमा रहेको ‘माछापुच्छ्रे हर्बल कम्पनी प्रालि’ किनेको थियो ।
माछापुच्छ्रे लोठसल्लाको पात प्रशोधन गर्ने उच्चस्तरीय कम्पनी हो । माछापुच्छ्रेसँगै बसामाडीमा ‘नेचुरल फ्लावर्स एन्ड हर्बल प्रालि’ नामको प्रशोधन कम्पनी पनि छ । नेपालमा यस्ता प्रशोधन कम्पनी यी दुई मात्रै हुन् । २०४७ सालको अन्तरिम सरकारमा वनमन्त्री रहेका बेला खनाल ‘सालसिड प्रकरणमा’ तानिएका थिए । त्यतिबेलैदेखि वनस्पतिजन्य उद्योगमा उनको रुचि बढ्दै गएको थियो ।
लोठसल्लाको पात प्रशोधन गरी ‘ट्याक्सोल’ नामको रासायनिक पदार्थ उत्पादन गरिन्छ, जुन क्यान्सर निदानमा प्रयोग हुन्छ । जानकारहरूका अनुसार एक मिलिग्राम ट्याक्सोलको करिब ५ हजार ५ सय (६० अमेरिकी डलर) पर्छ । वैज्ञानिकहरूका अनुसार एक जना क्यान्सरको बिरामीलाई २ ग्राम शुद्ध ट्याक्सोल आवश्यक पर्छ । डाबर नेपाललाई लोठसल्लामा काम गर्ने पायोनियर कम्पनी मानिन्छ । यसले काभे्रको बनेपामा लोठसल्लाको नर्सरी स्थापना गरी बिरुवा उत्पादन गरिरहेको छ ।
लोठसल्ला प्रशोधन नगरी विदेश निकासी गर्न ‘साइटिस’ले रोक लगाएकाले त्यस्ता कारखाना नेपालमै खुलेका हुन् । लोठसल्ला साइटिसको अनुसूची २ मा समावेश भएको वनस्पति हो । डाबर नेपाल प्रालि र माछापुच्छ्रेले मुलुकभित्रै प्रशोधन कम्पनी खडा गरी लोठसल्लाको पात संकलन गरेर ट्याक्सोल उत्पादन आरम्भ गरेका हुन् । यहाँ प्रशोधन हुने लोठसल्लामा १० प्रतिशत मात्रै ट्याक्सोलको मात्रा हुन्छ । ट्याक्सोल अमेरिकालगायतका विकसित मुलुकमा निकासी हुने गरेको छ ।
खनालपत्नी चित्रकार आफ्नो कम्पनीका लागि कच्चा पदार्थ (लोठसल्लाको पात) संकलन अनुमति माग्दै तीन महिनादेखि बबरमहलस्थित विभाग धाइरहेकी हुन् । ‘उहाँले कम्पनीका लागि कच्चा पदार्थ चाहियो भन्दै लोठसल्लाको पात संकलन अनुमति माग्नुभएको छ,’ विभागका एक अधिकारीले कान्तिपुरसित भने, ‘संकलन अनुमति दिन रोक लगाइएकाले फाइल अघि बढेको छैन ।’
वन विभागको अनुमति नलिई राष्ट्रिय वनभित्र लोठसल्लाको पात संकलन गर्न पाइँदैन । नेपालका ४६ जिल्लामा लोठसल्ला पाइन्छ । वन मन्त्रालयका प्रवक्ता केपी आचार्यका अनुसार विगतमा मन्त्रीलाई ‘प्रलोभनमा पारेर’ खोटो र लोठसल्लाका व्यापारीले लोठसल्लाको पात र खोटो संकलन अनुमति लिने गरे पनि मातृका यादवको पाला (२०६५ असार ३) देखि त्यो प्रथामा रोक लगाइएको छ । विगतमा डाबर नेपाल र ‘तायल समूह’ले वर्षौंका लागि संकलन अनुमति लिएका थिए । यादवले थपलाई नदिने निर्णय गरेका हुन् ।
‘नीतिको अभाव र प्रतिस्पर्धामा जानुपर्ने भएकाले संकलन अनुमति अहिले रोकिएको छ,’ आचार्यले भने, ‘नीति बनाएर प्रतिस्पर्धा गरी राष्ट्रिय वनभित्र संकलन अनुमति दिइन्छ ।’ मन्त्रालयले खोटो र लोठसल्ला संकलन अनुमतिका लागि छुट्टाछुट्टै नीति बनाए पनि पास भएको छैन । यदुवंश झा वनमन्त्री रहेका बेला पनि लोठसल्ला र खोटो संकलन अनुमति लिन व्यापारीको ओइरो लागेको थियो । तर, सचिव कृष्णचन्द्र पौडेलले प्रतिस्पर्धा गराएर मात्रै अनुमति दिनुपर्ने अडान लिएपछि हचुवामा ‘मन्त्रीको तोकादेशमा’ दिने गरिएका लाइसेन्स रोकिएका थिए ।
जथाभावी संकलन अनुमति दिँदा लोठसल्लाको दिगो व्यवस्थापन हुन नसकेको भन्दै विभागले भर्खरै ‘लोठसल्लाको पात संकलन कार्यविधि’समेत तयार गरेको छ । विगतमा डाबर नेपालले पात संकलन गर्दा लोठसल्ला विनाश भएको थियो । कुन जिल्लामा कति परिमाणमा लोठसल्लाको पात संकलन गर्न सकिन्छ विस्तृत अध्ययन गरी प्रतिस्पर्धामा मात्रै अनुमति दिने मन्त्रालयको नीति छ । राष्ट्रिय (सरकारी) वनबाट लोठसल्ला संकलन गर्न नपाएपछि माछापुच्छ्रे र नेचुरल फ्लावर्सले अहिले निजी/आवादीका जंगलबाट संकलन गरिरहेका छन् ।
माछापुच्छ्रे हर्बल कम्पनीकी सञ्चालक चित्रकारले राष्ट्रिय (सरकारी) वनबाट पात संकलन गर्न नपाएपछि निजी आवादीका जंगलबाट केही परिमाणमा पात संकलन गरिएको कान्तिपुरलाई बताइन् । ‘१०/१२ टन जति पात संकलन भएको छ’ उनले बुधबार कान्तिपुरसित भनिन्, ‘अब प्रशोधन गर्ने प्रक्रियामा छौं ।’ प्रशोधनपछिको ट्याक्सोल विदेश निकासी गरिने उनको भनाइ छ । लोठसल्लाका पात संकलनको अनुमति लिन विभाग धाइइँरहेको बताउँदै उनले त्यससम्बन्धी सरकारको नीति कुरिरहेको जनाइन् । ‘सरकारले कस्तो नीति ल्याउँछ, त्यसअनुसार हामी अघि बढ्छौं,’ उनले भनिन् ।
लोठसल्ला हुर्कने हिमाली र मध्यपहाडी गरी ४६ जिल्लामा यसको नर्सरी सुरु गरिएकोसमेत उनले बताइन् । खेर जाने पातको सदुपयोग र मुलुकमै रोजगारी सिर्जना गर्न साथीहरूसँग मिलेर एक वर्षअघिदेखि कम्पनी चलाएको चित्रकारले बताइन् । किनेको एक वर्ष बिते पनि अहिलेसम्म कम्पनीबाट पात प्रशोधन गर्न नपाएको उनको गुनासो छ ।
व्यस्तताका कारण अध्यक्ष खनालले रेखदेख गर्न नभ्याएकाले साथीहरूसँग मिलेर कम्पनी अघि बढाइरहेको चित्रकारको भनाइ छ । विभाग लगायतका निकायहरूमा समेत उनी साथीहरूलाई लिएर जाने गरेकी छन् । २०६७ चैत ६ मा प्रधानमन्त्री छँदा नेता खनालले बुझाएको सम्पत्ति विवरणमा फुङसेङ चिया उद्योग (३ लाख), युनिफाइड हाइड्रोपावर (११ लाख ४० हजार) र सिक्लेस हाइड्रोपावर -८ लाख ४० हजार) मा लगानी भएको उल्लेख छ ।
के हो लोठसल्ला ?
लोठसल्लालाई कतिपय स्थानमा ढ्याङ्ग्रे सल्ला र तालिसपत्र पनि भनिन्छ । यो २१ सयदेखि ३४ सय मिटर उचाइको जंगलमा पाइन्छ । कुनै स्थानमा ४४ सय मिटरमा समेत लोठसल्ला पाइएको छ । यो प्रजाति चुन भएको माटोमा बढी हुन्छ ।
ढिलो हुर्कने मध्यमखालको यो रूखको प्रजाति १० वर्षमा २.७ देखि ३.३ मिटर उचाइको हुन्छ । २० वर्षमा यसको उचाइ ४.५ मिटरसम्म पुग्छ । खैरो रातो बोक्रा र  फिक्का रातो काठ हुनाले यसलाई रातो काठ पनि भनिन्छ । जेठ असारमा पात झर्ने र चैतदेखि जेठसम्म फूल फुल्छ । यसको स-साना गोलाकार रातो रङको फल असोज कात्तिकमा पाक्छ । जेठ महिनाअगावै लोठसल्लाको पात संकलन गर्नु वैज्ञानिक मानिन्छ ।
आधुनिक औजारको प्रयोग गरी यसको पात संकलन गरिन्छ । पात संकलन गर्न तालिमप्राप्त कर्मचारी (रेन्जर) प्रयोग गर्ने विधि बनाइएको छ । संकलन गरिएका पातलाई सुकाएपछि मात्रै प्रशोधन गरिन्छ । २० सेमिभन्दा बढी व्यास भएका रूखका मात्रै पात संकलन गरिन्छ । पात संकलन गर्दा मुख्य हाँगो काट्न नपाइने र एकपटक काटेपछि ३ वर्षसम्म काट्न नपाइने विधि बनाइएको छ ।

तपाईको प्रतिक्रिया