बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024
magne-budo०६२/६३ को आन्दोलनपछि थुप्रै मान्छेले थुप्रै संकल्प गरे । नेताहरूले संविधान बनाउने शपथ खाए । थुप्रैले चाहिँ संविधान नबनेसम्म दाह्री वा कपाल नकाट्ने व्रत राखे, संविधानसभामा निर्वाचित जनप्रतिनिधिलाई दबाब दिन । कसैले तोकिएको मितिमै संविधान निर्माणको कामना गर्दै नेपाली झन्डा बोकेर मेचीमहाकाली यात्रा गरे । नेताहरूको शपथ पूरा भएन, दुई वर्षदेखि दाह्री पालेर बसेका कलाकार केदार घिमिरे संविधान नबनेपछि दाह्री काट्न बाध्य भए । तर, उनले नेताहरूप्रति व्यंग्य गर्दै संविधान जारी गर्न तय गरिएको जेठ १४ कै दिन बरखी बारेर नेताहरूको ‘काजक्रिया’ गरेको घोषणा गरे ।
सामान्य व्यापारी सुशीलकुमार शर्माले भने आफ्नो ‘व्रत’ अझै फुकाएका छैनन् । उनको अनुहारभरि गुजमुजिएर बसेको दाह्री यसको प्रमाण हो । उनको संकल्पचाहिँ यस्तो छ– प्रधानमन्त्रीलाई प्रत्यक्ष भेट्न नपाएसम्म दाह्री नकाट्ने । ०६६ सालदेखि दाह्री पाल्न थालेका उनले यसबीच बनेका सबै प्रधानमन्त्रीसँग भेट्ने प्रयास गरे, तर सकेनन् । थुप्रै सरकार फेरिए तर उनी अझै अनवरत छन्, प्रधानमन्त्री भेट्ने लक्ष्यमा । पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराईसम्मलाई भेटेर गुनासो सुनाउने उनको चाहना अझै अपूरै रह्यो । अनि अहिले उनी नियालिरहेका छन्, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसम्म पुग्ने बाटो । ‘रेग्मीसँग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्न नपाएसम्म दाह्री काट्ने छुइनँ,’ शर्मा भन्छन् ।
त्यसो त दाह्री पाल्नु उनको सोख होइन । न त जोगी बनेर हिँड्ने तयारी । दाह्रीले आफ्नो व्यक्तित्व अझ कुरूप पार्दै लगेजस्तो अनुभूति गर्दा रहेछन् । तर, संकल्प तोड्ने कुरा सोच्न पनि नसक्ने बताउँछन् । ‘निवर्तमान प्रधानमन्त्री बाबुरामलाई भेटेर गुनासो राख्न लागि वर्षौं धाएँ, तर मौका पाइनँ’, सुनाउँछन्– ‘अब त चुुनौती झन् बढेजस्तो लाग्न थालेको छ, मेरो अठोट पनि अझै बलियो हुँदै छ, प्रधानमन्त्रीलाई एकचोटि मात्र भए नि नभेटेसम्म त मरे पनि काट्दिनँ दाह्री ।’ दाह्रीकै कारण श्रीमतीसँग दिनदिनै झगडा पर्दो रहेछ उनको । ‘सबैले गाली गरेको देख्दा त म पनि दाह्री काट्न आतुर हुन्छु, तर खोइ कहिले पो प्रमसँग भेट होला ? भेट नभएसम्म त काट्दिनँ, योचाहिँ मेरो अठोटै हो ।’ उनको गुनासोचाहिँ के हो त ? ‘म जानकारी गराउन चाहन्छु, जनताका छोराछोरी आर्थिक अभावमा उपचार नपाएर मृत्युवरण गर्न बाध्य भइरहेका छन् ।’ उनी आफैँ यो प्रवृत्तिको सिकार भएका रहेछन् । उनका छोरा रौनक मस्तिष्करोगका कारण आठै वर्षको उमेरमा दिवंगत भए । प्रधानमन्त्रीसँग त्यही कुरा सुनाउने चाहना रहेछ उनको ।
उच्च वर्गले मात्र प्रधानमन्त्रीलाई भेट्न पाउने पुरानै परम्पराका कारण आफूले त्यो मौका नपाएको उनलाई लाग्दो रहेछ । यसरी हेर्दा मुलुक लोकतन्त्रमा प्रवेश गरे पनि पुरानै शैली कायम रहेको उनी देख्छन् । ‘खर्च जुटाउन नसकेकाले मेरो छोराको मृत्यु भयो । उपचारखर्च निकै महँगो थियो, मैले धान्न सकिनँ । म त प्रतिनिधिपात्र मात्रै हुँ, मजस्तै समस्या भोग्ने अरू पनि थुप्रै नेपाली छन् । जनताका छोराछोरीले पैसाको अभावमा मृत्यु बेहोर्नुपर्दा सरकारको दायित्वचाहिँ टुलुटुलु हेरेर बस्नु मात्रै हो त ?, यी सबै कुरा प्रधानमन्त्रीकै अघि बसेर उनलाई सुनाउन मन छ ।,’ उनी भन्छन् ।
प्रधानमन्त्रीहरूले सहयोग नगरे पनि कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले भने एक वर्षदेखि आफ्नो कान्छो छोरोको अध्ययनखर्चमा सहयोग गर्दै आइरहेको उनले बताए । मृत्यु भएका छोरा रौनकका लागि पनि कलाकारहरू तुलसी घिमिरे, शम्भुजित बास्कोटा, लय संगौला, राजेन्द्र खड्गीलगायतले सहयोग गरेको तर त्यतिले पनि उपचारखर्च नधानेको शर्मा सुनाउँछन् । छोराको उपचारका क्रममा उनले सामना गर्नुपरेका कठिनाइलाई समेटेर साहित्यकार सुविसुधा आचार्यले श्रव्य कथासंग्रह ‘मभित्रको म’ तयार पारिदिएका रहेछन् ।

तपाईको प्रतिक्रिया