शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
H-n-Bफेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेमा थुप्रै युवायुवतीले जोडी छनोट गर्छन् । पहिल्यैदेखि प्रेममा रहेकाहरू सम्बन्धलाई अझ मजबुत बनाउने प्रण गर्छन् । यस वर्षको फेब्रुअरी १४ मा ज्योति काफ्ले अर्थात् नक्कली डा. बाबुराम भट्टराईले पनि जोडी पाए । आफूभन्दा करिब १२ वर्ष जेठी विपना बस्नेत अर्थात् नक्कली हिसिला यमीसँग नक्कली भट्टराईको जोडी अहिले निकै जमेको छ । तर, यो जोडी काँचको पर्दामा मात्र सीमित छ । ज्योति वास्तविक जिन्दगीमा चाहिँ ‘दिदी’ सम्बोधन गर्छन् विपनालाई । टेलिशृंखला तीतो सत्यमा बाबुराम भट्टराई र हिसिला यमी बनेर अभिनय गरेका उनीहरूको जोडी अहिले दर्शकमाझ निकै रुचाइएको छ । दुई महिनाकै अवधिमा चर्चित बनिसकेका छन् । टेलिशृंखलामा मात्र होइन, विभिन्न महोत्सव एवं कार्यक्रममा पनि उनीहरू जोडी नै बनेर बाबुराम र हिसिलाको क्यारिकेचर गरिरहेका हुन्छन् । वाहवाही बटुलिरहेका छन् । यी भूमिकामा अभिनय गरेपछि दर्शकहरूबाट आएका रोमाञ्चक प्रतिक्रिया अनि प्रसंगका अनुभूति पनि थुप्रै सँगालिसके उनीहरूले । कसरी यी भूमिकामा आफूलाई अब्बल बनाउन सक्यो यो जोडीले ? उनीहरू सुनाउँदै छन् आफ्ना अनुभूति :
 
विपना बस्नेत (हिसिला)
गत शनिबार हिसिला यमीले फोन गर्नुभयो ।
– ‘विपना बस्नेत जी बोल्नुभा’ हो ? म हिसिला यमी बोलेको †’
‘दिदी नमस्कार, आराम हुनुहुन्छ ?’ मैले जवाफ फर्काएँ । हिसिला यमी भनेपछि मलाई डर लागिरहेको थियो– आफ्नो क्यारिकेचर गरेकोमा गाली पो गर्ने हुन् कि ? तर, मैले सोचेविपरीत जवाफ आयो,
– तपाईं ब्युटिसियन हुनुहुँदो रै’छ र पो, मेरो ड्रेसअप ठ्याक्कै मिलाको । अस्ति बाबुरामजीले एउटा म्यागेजिन ल्याएर दिनुभो । भन्नुभो– ‘तिम्रो इन्टरभ्यु छ, लौ हेर ।’ यसो हेरेको फोटो आफ्नै जस्तै लाग्यो । पढ्दै गा’को त होइन रहेछ । तपाईं (विपना बस्नेत) पो हुनुहुँदो रहेछ । अब म पनि नाम फेरेर सपना राखुँ है ?
‘कहाँ दिदी तपाईंले नाम फेरे त म ओझेलमा परिहाल्छु नि’, मैले भनेँ । त्यसपछि उहाँले सुझाव दिनुभयो, ‘आज टिभीमा मेरो अन्तर्वार्ता आउँदै छ । त्यो हेर्नुहोला, तपाईंलाई क्यारिकेचर गर्न अझ सजिलो हुन सक्छ ।’
मलाई गाली खानुपर्ने हो कि भन्ने चिन्ता लागिरहेको थियो तर हिसिलाले मेरो अभिनय मन पराइदिनुभयो । म डेढ दशकदेखि चलचित्रक्षेत्रमा काम गरिरहेकी छु, ब्युटिसियनका रूपमा । सानासाना भूमिकामा अभिनय पनि गर्थें । तर, यति लामो समयसम्म मेरो भूमिकाबारे कतै चर्चा भएको थिएन । अहिले क्षेत्र एउटै भए पनि मेरो भूमिका बदलिएको छ ।
मैले कहिल्यै पनि यसरी फरक भूमिकामा सानो पर्दामा आउँछु भन्ने सोचेकी थिइन । सानो पर्दामा पनि एक एपिसोडपछि भूमिका टुंगिएला भन्ने सोचेकी थिएँ । तर, यही एउटा रोलले सानो पर्दाको दुनियाँसँग लामो साइनो गाँसिने भएको छ मेरो । चलचित्रक्षेत्रमा लागेरै चार दशक उमेर पार गरिसकेपछि हिसिला यमीको अभिनयले मेरो करियरलाई नयाँ टर्निङ प्वाइन्ट दिएको छ ।
ज्योति काफ्ले (बाबुराम)
– ‘सर, हिजोको अभिनय राम्रो थियो । तर, ड्रेस अलि मिलेन । बाबुरामले दौरासुरुवाल कहिल्यै लगाउनुहुन्न ।’ ‘मेरिबास्सै’ मा मैले गरेको डा. बाबुराम भट्टराईको अभिनय प्रसारण भएका दिन भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेको नम्बरबाट म्यासेज आयो ।
‘के गर्ने, नेताहरूले राष्ट्रिय पोसाक फाल्नुभयो । नेपालमा लोडसेडिङले गर्दा नेपाली दर्शकले हेर्न पाउँदैनन् । कम्तीमा विदेशमा बस्ने दर्शकलाई त नेपाली पोसाक चिनाउनका लागि भए पनि लगाउनै पर्‍यो नि,’ मैले जवाफ फर्काएँ ।
त्यसको केही दिनपछि हिसिला यमीले फोन गर्नुभयो– ‘आम्मै, तपाईं त कस्तो मान्छे, ठ्याक्कै बाबुराम देखिने । मलाई त अचम्मै लाग्यो । साँच्ची कसरी गर्नुभयो यस्तो ठ्याक्कै मिल्ने क्यारिकेचर ।’ यमीले मिलेदेखि मेरो क्यारिकेचर गर्ने गुदी नै लैजाउँलाझैँ गरेर फोन गर्नुभएको थियो । ०६६ सालमा मैले टेलिभिजनमा हास्यव्यंग्य कार्यक्रम चलाएर डा. भट्टराईको क्यारिकेचर थालेको थिएँ । त्यतिबेला नेपालमा उहाँको चार्म निकै थियो । उहाँको बौद्धिकताका कारण धेरै जना उहाँका फ्यान थिए । म टेलिभिजनमा हास्य समाचार पढ्थेँ । त्यही क्रममा एकदिन डा. भट्टराईको ड्रेसअप गरेँ । कपासको जुँगा बनाएँ । कपालमा हल्का ह्वाइट कलर लगाएँ, अनि डा. भट्टराईको लबजमा समाचार पढेँ । त्यो समाचार धेरैले रुचाए । त्यो क्यारिकेचर देखेपछि केदार घिमिरे ‘माग्नेबूढा’ ले ‘मेरिबास्सै’ मा अभिनयका लागि अफर गरे । टेलिसिरियलमा डा. भट्टराइको भूमिका भने निकैपछि मात्रै गरेँ । पहिले तराईबासी जमिन्दारको भूमिका खेलेँ । ‘मेरिबास्सै’ को चौथोचोटिको भूमिकामा मात्र डा. बाबुराम भट्टराईको अभिनय गरेको हुँ ।
केही दिनपछि डा. भट्टराईलाई प्रत्यक्ष भेट्ने मौका पाएँ । मलाई देखेपछि उहाँ मुसुमुसु हाँस्नुभयो । तलदेखि माथिसम्म हेर्नुभयो अनि प्रश्न गर्नुभयो, ‘मेरै क्यारिकेचर किन गर्नुभयो ?’ मेरो जवाफ थियो, ‘जनताले रुचाएका नेता तपाईं हुनुहुन्छ, त्यसैले ।’ त्यसपछि उहाँ चुप लाग्नुभयो । डा. भट्टराईसँग भेटेपछि मलाई उहाँको क्यारिकेचर गर्न अझ सजिलो लाग्दै गयो । यद्यपि, उहाँको क्यारिकेचर गर्दा सञ्चारमाध्यममा प्रकाशन–प्रसारण भएको समाचारलाई मात्रै आधार बनाउनुपर्छ । उहाँहरूका भित्री कुराहरू जानेर जनतामाझ पस्किन पाए अभिनय अझ जीवन्त हुने थियो ।
क्यारिकेचरका क्रममा डा. भट्टराई र उहाँका चिनजानका मानिसको भद्र सल्लाह त मैले पाएको छु नै, कहिलेकाहीँ नमिठो गाली पनि पाएको छु । गत जनवरीमा चितवनको सौराहामा फुड फेस्टिबल भएको थियो । त्यहाँको सांगीतिक कार्यक्रममा मेरो पनि प्रहसन थियो । उद्घोषकले सांस्कृतिक कार्यक्रमका बीचमा साँच्चिकै बाबुराम भट्टराई नै आएजसरी उद्घोष गरे । म डा. भट्टराईको भेषमा गार्डसहित उपस्थित भएर हेल्लो सरकार कार्यक्रममा जवाफ दिँदै थिएँ । एक व्यक्ति स्टेजनजिक आएर मलाई सिधै गाली गर्न थाले, ‘संविधान नलेखी ह्याँ आएर के भाषण छाँटेको ?’ कुकुर, गधालगायत अपाच्य शब्दसहितका गाली बढेपछि एक साथीले उनलाई सम्झाए, ‘यी साँच्चिकै बाबुराम होइनन्, यिनले त क्यारिकेचर मात्रै गरेका हुन् ।’ त्यसपछि ती मान्छे फिल्मी शैलीमा गायब भए ।
पहिलोपटक माडीमा प्रहसनका क्रममा पनि त्यस्तै भएको थियो । सांगीतिक कार्यक्रममा ‘मेरिबास्सै’को टिम नै थियो । मैले डा. भट्टराईको क्यारिकेचर प्रस्तुत गरेको थिएँ । स्थानीय माओवादी कार्यकर्तालाई चित्त बुझेनछ क्यारे, ममाथि आक्रमण गर्न खोजे । जोगिने अवस्था नभएपछि हामीलाई प्रहरीले एस्कर्टिङ गरेर माडीको जंगल कटाउनुपरेको थियो ।
चितवनको एक एफएमबाट मैले क्यारिकेचरयात्रा थालेको थिएँ । योबीचमा मैले धेरै व्यक्तिका क्यारिकेचर गरेँ । डा. भट्टराईको क्यारिकेचर दर्शकले बढ्ता रुचाए । डा. भट्टराई अहिले सत्ताबाहिर छन् । सधैँ डा. भट्टराईको क्यारिकेचर मात्रै गरेर मेरो अभिनयजीवन पूर्ण हुँदैन । त्यसैले छिट्टै नयाँ भूमिकामा आउँदै छु ।
०६६ देखि लामो समय एक्लै बाबुरामको क्यारिकेचर गरेँ । जोडीका रूपमा ‘हिसिला यमी’ थिइनन् । गत दुई महिनायता ‘हिसिला’ पनि पाएको छु । ‘तीतो सत्य’ कार्यक्रमका लागि दीपाश्री र दीपकराज गिरीले भ्यालेन्टाइन डेका दिन हाम्रो जोडी जुराइदिए । दर्शकको मायाले यो जोडी निकै चर्चित पनि भएको छ । त्यसैकारण आगामी दुई साताभित्र आठवटा कार्यक्रममा युगल प्रहसनका लागि हामी बुक भइसकेका छौँ । ***

तपाईको प्रतिक्रिया