बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
khilarajकाठमाडौं- कार्यकारी प्रमुखका रुपमा अन्तरिम चुनावी परिषद् अध्यक्ष खिलराज रेग्मीले पदबहाली गरेका छन् ।
सिंहदरवारमा पदबहाली गरेपछि प्रधान न्यायाधीशसमेत रहेका खिलराज रेग्मीले मुख्य काम निश्पक्ष चुनाव गर्ने रहेको बताएका छन् । उनले जतिसक्दो छिटो निर्वाचन गर्ने जिम्मेवारी लिएको बताए। ‘यो सरकारको प्राथमिकता शान्ति सुरक्षा व्यवस्था कायम गर्दै दलहरुको सहयोगमा चुनाव गराउनु हो,’ उनले भने, ‘राजनीतिक दलले हामीलाई विश्वास गरेकोमा आभार व्यक्त गर्दछौं।’
उनले राज्यले संविधान सभाबाट नयाँ संविधान पाउने जनताको अधिकारलाई यो सरकारले पूर्णता दिलाउने समेत बताए। रेग्मीले चुनावका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले शान्ति र संविधानका लागि चुनाव अपरिहार्य भएको बताउँदै भने, ‘आन्दोलनमा रहनुभएका सबैलाई सहमतिमा आएर चुनावमा लाग्न आग्रह गर्छु ।’
उनले निर्वाचन आयोगसँग छलफल गरी तुरुन्तै चुनावको मिति घोषणा गर्नेसमेत बताए । रिक्त संवैधानिक पदमा पनि तत्कालै नियुक्ति गरिने रेग्मीको भनाइ थियो।
तपाईको प्रतिक्रिया