बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
-ममता गिरी, एमाले नेतृ
mamata२०४७ सालको आन्दोलन भर्खरै सकिएको थियो । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति थालेर भर्खरै महिला राजनीतिमा सक्रिय हुन थालेकी थिएँ । मेरो परिवार पञ्च कांग्रेस । म भने नेकपा (एमाले) को कार्यकर्ता । छोरी राजनीतिमा सक्रिय भएको उहाँहरूलाई पटक्कै चित्त बुझेको थिएन । त्यसमाथि हुर्केकी छोरी बिहे गर्ने बेला आन्दोलनमा रातसाँझ हिँडेको कुन परिवारले रुचाउला † मैले आइए पनि सकिसकेकी थिएँ । मलाई पत्तै नदिई दाजु र आमा मिलेर गाउँकै एक युवकसँग मेरो बिहे पक्का गरेछन् । आफूलाई भने बाल्यकालदेखि नै विवाहप्रति अरुचि थियो । युवा अवस्थामा पनि कहिल्यै बिहे गरेर घरजम गर्नुपर्छ भन्ने सोच नै आएन । चाहनाविपरित बिहे गरिदिन परिवारले केटो तयार गरेपछि मनमा आक्रोश पलायो ।
जबरजस्ती गरिदिन लागेको विवाहको बन्धनबाट उम्किनुपर्छ भन्ने निर्णय गरेँ । घरमा कसैलाई पत्तो नदिइ काठमाडौं हान्निएँ । दिदीको घर काठमाडौंमै थियो । आफ्नो समस्या निर्णयसहित दिदीलाई सुनाएँ । बिहे गर्ने मान्छे नै घरबाट हिँडेपछि घरमा मसँग रिसाए पनि । आफूलाई मन नै नभएपछि केही दिनलाई रिसाए पनि मैले चासो दिइनँ । हुन त हाम्रो समाजमा बिहे नगर्ने महिलालाई सहज रूपमा जिउन समस्या हुन्छ । आफ्ना सहकर्मीबाट पनि हेपाइ सहनुपर्छ । यद्यपि, म आफैँमा दरिलो छु । ४८ वर्षको उमेर हुँदासम्म अविवाहित रहेकामा एकपटक पनि पछुतो भएको छैन । न त विवाह गर्नुपर्छ कि भनेर नै सोचेँ ।
युवा अवस्थामा मानिसहरू विपरीत लिंगीप्रति आकर्षित हुने गर्छन् । मैले पनि युवा अवस्था पार गरिसकेँ । कुनै राम्रो युवक देख्दा ‘वाह’ भन्ने पनि कहिल्यै आएन । बरु नेकपा एमालेको विचार धार जीवनको अभिन्न अंग बनेर आयो । कहिल्यै राजनीति छोडेर अरू कुरा सोच्ने फुर्सद पनि भएन । त्यसैले होला विवाहभन्दा राजनीति महत्त्वपूर्ण भयो, जीवनको ऊर्जाकालमा ।
अविवाहित महिलाहरू जीवनको अन्तिम अवस्थामा चरम निराशाले आक्रान्त हुन्छन् भन्ने टिप्पणी पनि सुनिन्छन् । म भने अधिकांश समय राजनीतिमा नै व्यस्त हुन्छु । अनि फुर्सदका बेला आमासँग भलाकुसारी गरिरहन्छु । विभिन्न पुस्तक पढिरहन्छु । म सकेसम्म आफूलाई एक्लो र फुर्सदमा राख्दिनँ । पढ्न पनि मन लागेन भने बारीमा तरकारी रोप्न थाल्छु । निराशा एक्लोपनाबाट उब्जिन्छ । कि त जीवनमा केही गर्ने संकल्प नभएको मान्छे जीवनदेखि निराश हुँदै जान्छ । मेरो अविवाहित जीवन जिउने निर्णयले ममा चाहिँ निराशा पैदा गर्ने सम्भावना नै देख्दिन म । बरु, विवाह एक बन्धन हो । दम्पतीको बीचमा सम्झौताको एउटा खुड्किलो मात्रै भत्कियो भने हिंसाको कारक पनि बन्न सक्छ विवाह । त्यसैले हिंसा निम्त्याउने जञ्जिरबाट मुक्त छु म । परिवारबाट भने अझै पनि विवाहका लागि अनुरोध गरिरहन्छन् । आमा पनि कहिलेकाहीँ माया हस्तान्तरण गर्ने मान्छे खोइ भनिरहनुहुन्छ । म आमालाई सम्झाउँछु– ‘आमा कमजोर मान्छेले मात्रै माया खोज्दै आफूलाई जञ्जिरमा बाँधिरहन चाहन्छ । तपाईंकी छोरी स्वतन्त्र छे ।  त्यसैले बन्धनलाई मायाको आधार नमान्नुस् ।’ मेरो दृढ जवाफबाट मेरी आमा पनि सन्तुष्ट हुनुहुन्छ । म पनि आफ्नो अविवाहित रहने निर्णयबाट आनन्दित पनि छु ।

तपाईको प्रतिक्रिया