मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024
 -दर्शन रौनियार अमेरिकाको डेमोक्रेटिक पार्टीका स्थानीय नेता/उद्यमी
म जन्मँदा इन्द्रचोक अहिलेको जस्तो थिएन । तैपनि, इन्द्रचोकको रमझम व्यस्तता भने त्यतिबेलाको हिसाबले निक्कै नै थियो । सन् १९६८ को नोभेम्बरमा म जन्मिएँ । सानोमै बुबा बित्नुभयो । मेरो रेखदेखदेखि पठनपाठनसम्मको सबै जिम्मा आमा मनोरमाको काँधमा आयो । अझ मामाघरको हजुरआमाले मेरो रेखदेख धेरै गर्नुभयो । स्कुल पुर्‍याउनेदेखि ल्याउनेसम्मको सबै काम उहाँले नै गर्नुहुन्थ्यो । उहाँको आँखा अगाडिबाट एकछिन पनि म हराएको उहाँलाई मन पर्दैनथ्यो भन्दा पनि हुन्छ ।
प्राथमिक शिक्षाकालागि सुरुमा म वसन्तपुरस्थित स्कुलमा भर्ना गरिएँ । तर, धेरै समय त्यहाँ
रहनुपरेन । कीर्तिपुरस्थित ल्याब्रोटोरी स्कुलमा भर्ना गरिएँ । जहाँ मैले कक्षा एकदेखि १० सम्म अध्ययन गरेँ । पढाइमा म सधैँ अब्बल नै रहे । कक्षामा सधैँ पहिलो आउनुपर्छ भन्ने मेरो मान्यता थियो । ०४० सालमा  एसएलसी फस्र्ट डिभिजनमा पास गरेँ । त्यतिबेला मलाई बोर्डको टप टेनमा पर्‍यो भनेर पनि भन्थे । तर, पछि बुझ्दाखेरि १३औँ नम्बरमा रहेको थाहा पाए । नेपाली विषयमा भने मैले सबैलाई टपेको थिए । एसएसली पास भए पनि म अमृत साइन्स कलेजमा भर्ना भए । त्यहाँबाट आइएस्सी गरँे ।
म अहिले जहाँ छु त्यहाँ पुग्नुमा मेरो आमा र हजुरआमाको सबैभन्दा धेरै देन छ । आमा आपैँm पनि कलेज पढाउनुहुन्थ्यो  । हजुरआमाले मेरो सम्पूर्ण रेखदेख गर्नुहुन्थ्यो  । उहाँले ‘शिक्षा कसैले चोर्न नसक्ने एक मात्र सम्पत्ति हो’ भनेर पढ्न हौसाउनुहुन्थ्यो । अर्को कुरा उहाँले ‘सपना सधैँ ठूलो पाल्नुपर्छ, त्यो पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ’ भन्नुहुन्थ्यो । उहाँले पटक–पटक भनेका यी कुराहरू म कहिल्यै बिर्सन्नँ ।
भट्टराईसित टिटी खेल्थँे
मेरो परिवारमा बुवा–आमा कोही पनि राजनीतिमा लागेका थिएनन् । तर, मामा शिव रौनियार भने नेपाली कांग्रेसको अगुवा कार्यकर्ता नै थिए । उहाँ जेल पनि पर्नुभएको थियो । त्यसैले कांग्रेस नेताहरू घरमा आउने जाने क्रम भइरहन्थ्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरू प्राय: आइरहन्थे । उहाँहरूका कुराहरू सुन्ने गरे पनि मलाई भने राजनीतिप्रति कुनै मोह जाग्दैनथ्यो । लामोसमय जेल बसेर आउनुभएका गणेशमानले जेलभित्रका दु:ख सुनाउनुहुन्थ्यो । प्रजातन्त्रकालागि, जनताकालागि लड्नुपर्ने बताउनुहुन्थ्यो । उहाँले ती कुरा भनेको म अहिले पनि झल्झली सम्झिन्छु ।
कृष्णप्रसाद भट्टराई भने अलि फरासिलो मिजासको हुनुहुन्थ्यो । घरमा आएको बेला उहाँ त हामीसँगै टेबुलटेनिससमेत खेल्नुहुन्थ्यो । मेरो मामाले अहिले सुन्धारामा रहेको गोलघर जेलभित्र पुस्तकालयसमेत बनाउनु भएको रहेछ त्यतिबेला । यो पल्ट कांग्रेस उपसभापति रामचन्द्र पौडेलसित भेट हुँदा उहाँले बताउनुभएको हो यो कुरा । ‘म त्यो पुस्तकालयमा गएर पुस्तक पढ्थेँ’ भनेर उहाँले मसित भन्नुभयो ।
घरमा नेताहरूको आउजाउ भइ नै रहन्थ्यो । एसएलसीपछि म अमृत साइन्स कलेजमा भर्ना भएँ । जुन त्यतिबेला नेताहरू जन्माउने कलेजजस्तै थियो । कलेजभरी राजनीतिक वातावरण हुन्थ्यो । मेरा साथीहरू पनि विद्यार्थी राजनीतिमा सक्रिय थिए । तर, घरको मात्रै नभएर कलेजको वातावरणले पनि मलाई राजनीतिप्रति आकर्षित गर्न सकेन । मेरो मामाले भने मलाई ‘राजनीतिशास्त्र पढ, तिमी कुटनीतिज्ञ बन्नुपर्छ’ भन्नुभएको थियो । तर, मैले मानिनँ किनभने मेरो रुचि नै भएन । मेरो ध्यान पूरै पढाइमा मात्रै केन्द्रित हुन्थ्यो । पढेर राम्रो इन्जिनियर बन्नुपर्छ भन्ने दिमागमा ठप्पा लागेजस्तै थियो ।
अमेरिका यात्रा
मैले आइएस्सी सक्नुभन्दा अगाडि नै जसरी पनि इन्जिनियरिङ पढ्नुपर्छ भन्ने मानसिकता बनाइसकेको थिएँ । केही इलेक्ट्रोनिक्स सामान हातमा पर्दा त्यसलाई खोलेर हेर्न मन लाग्थ्यो । ती सामानहरूले कसरी काम गर्दाहुन् भन्ने जान्न उत्सुकता हुन्थ्यो । मैले आइएस्सी सक्काएपछि इन्जिनियरिङ पढ्न अमेरिका जान इच्छा जाग्यो ।
अमेरिका सबै युवाहरूको सपना पनि थियो । तर, मेरो घरको आर्थिकस्थिति राम्रो थिएन । त्यसैले घरका मान्छेहरूले मेरो कुरालाई खासै महत्त्व दिएका थिएनन् । मैले भने घरमा धेरै नै ढिपी गरिरहेको थिएँ । त्यतिबेला अमेरिकाकी एक जना फोटो ग्राफर गेल ब्राइनसित मेरो काठमाडौंमा चिनजान भएको थियो । उनले मलाई अमेरिका पढ्न जान सघाइन् । मैले अमेरिकाका धेरै कलेजहरूमा ट्राइ गरिरहेको थिए । अन्तत: ओरेगोन इन्सिच्युट अफ टेक्नोलोजीले मलाई मौका दियो र १९८८ मा म अमेरिका जाने भएँ ।
अमेरिका पढ्न जाने मौका त पाएँ तर मसित पैसा थिएन । घरमा निक्कै कर गरेपछि पहिलो तीन महिनाको लागि पुग्ने भनेर खर्च त जोहो भएको थियो । अमेरिका पुग्दा मसँग एक सय डलर मात्रै थियो घरबाट ल्याएको । त्यसले मुस्किलले तीन महिना धानिने अवस्था थियो । फेरि नयाँ ठाउँ, नयाँ वातावरण, नयाँ भाषा केहीसमय त निक्कै मानसिक दबाब झेलेर बसेँ म । तर, बिस्तारै त्यहाँको वातावरणमा भिज्दै गएँ । निक्कै मेहनेत गरेर पढ्थेँ । त्यसैले सफल पनि भएँ । सन् १९९२ मा इलेक्ट्रिकल इन्जिनियरिङमा ओरेगोनबाट ग्रयाजुएट गरेँ । त्यतिबेला इन्जिनियरिङसँगै विजनेस म्यानेजमेन्ट पढेकाहरूलाई अमेरिकामा रोजगारीका लागि सजिलो र राम्रो थियो । त्यसैले एमबिए पढने योजना पनि बनाएँ र पोर्टल्यान्ड स्टेट युनिभर्सिटीमा भर्ना भएँ । १९९८ मा एमविए पनि गरेँ ।
भाँडा माझेर काम सुरु गरँे
अमेरिका आएपछि मैले निक्कै दु:ख गर्नुपर्‍यो । पढाईलाई निरन्तरता दिन केही काम गर्न जरुरी थियो । अमेरिका आउने अधिकांश नेपाली विद्यार्थीहरूको बाध्यता पनि हो यो, जुन मैले पनि खेप्नुपर्‍यो । कामको खोजीमा लागँे । भाँडा माझ्ने काम पाइयो । ठूलो पल्टिएर गर्दिनँ भन्ने कुरा थिएन, त्यही सुरु गरँे । मैले अमेरिकामा गएर भाँडा माझेभन्दा मलाई कत्ति पनि संकोच लाग्दैन । धेरै नेपालीहरूले शुरुआती दिनमा अमेरिकामा गर्ने काम त्यही हो ।
हप्तामा ६० देखि ७० घन्टा काम गर्थें । अनि दैनिक ६–७ वटा क्लास लिन्थेँ । राति अबेरसम्म पढ्थेँ । भाँडा माझ्ने कामपछि म रेस्टुरेन्टमा कुक पनि बनेँ । पढाईलाई बिग्रन नदिएर काममा दलिन्थेँ । पछि त्यहाँको फाइनान्स र प्रशासनिक डिपार्टमेन्टमा पनि काम गरेँ । अमेरिकाका सुरुआती दिनहरू निक्कै दु:ख गरेर बिते । पैसाको अभावमा कति दिन त दुई टुक्रा पाउरोटी मात्रै खाएर पनि सुतेका घटना पनि छन् । तैपनि, एकदिन राम्रो इन्जिनियर बन्ने सपना पूरा हुन्छ भन्ने विश्वास थियो । जुन मेरो हजुरआमाले सिकाउनु भएको थियो, सपना सधैँ ठूलो देख्नुपर्छ र त्यसलाई पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ ।
मैले ग्रेजुएट गरेपछि भने कामका लागि विभिन्न कम्पनीहरूमा निवेदन दिएँ । कतिपय कम्पनीका प्रतिनिधिहरू कलेजमै आएर पनि मान्छे खोज्थे । १९९३ मा ओरकाड सफ्टवेयर कम्पनीमा टेस्ट इजिनियरका रूपमा काम पाएँ । बिहान ६ देखि राति १०/११ बजेसम्म काम गर्थें, निक्कै मिहिनेतकासाथ ।  त्यसपछि भने मेरो अमेरिका बसाइ सहज बन्दै गयो । मैले त्यो कम्पनीमा करिब ७ वर्ष काम गरेँ । एमबिएको अध्ययन पनि जारी थियो । एमबिए सक्किएपछि बिभिन्न कम्पनीहरूमा मार्केटिङ, सेल्स, भिजन डेभलप्मेन्ट म्यानेजर भएर काम गरेँ । दश वर्षको अवधिमा ५/७ वटा कम्पनीहरूमा काम गरेँ ।
सन् २००३ मा आएर आपैँmले केही गर्नुपर्छ भन्ने लाग्यो । जसले मेरो अमेरिकन ड्रिमलाई पूरा गर्न सक्थ्यो । त्यो समय कम्प्युटरको फ्लपी विस्थापित हुने तयारीमा थियो । बजारमा जम्प ड्राइभको माग बढ्दो थियो । त्यसैलाई मध्यनजर गरेर तीन जना अमेरिकी साथीहरूसित मिलेर फ्ल्यास भेन्चर्स नामको सफ्टवेयर इलेक्ट्रोनिक्स कम्पनी खोल्यौँ । एक ताइवानी कम्पनीसित मिलेर ट्रेबेका नामको ब्रान्डबाट जम्प ड्राइभ, मेमोरी कार्ड र अन्य इलेक्ट्रिक शैक्षिक सामाग्रीहरूको उत्पादन र वितरण सुरु गर्‍यौँ । अमेरिकाका प्राय: सबै राज्यका स–साना पसलमा समेत पुगेर बजार प्रवद्र्धन गर्‍यौँ । अहिले हाम्रो उत्पादन अमेरिकाका २० राज्यमा फैलिएको छ ।
गोराको भीडमा म एक्लो कालो
मामाको घरमा हुने ठूला नेताहरूसितको भेटघाट र अमृत साइन्स कलेजको वातावरणले समेत आकर्षित गर्न नसकेको राजनीतिको चस्का मलाई ९० को दशकको प्रारम्भतिर लाग्न थाल्यो, जतिबेला ‘गल्फ वार’ चलेको थियो । प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकारलगायतका लोकतान्त्रिक मान्यतामा अमेरिका अघि बढ्थ्यो । मेरो विश्वास पनि त्यही थियो । तर, गल्फ वारमा अमेरिकाको सहभागिता ती सबै कुराहरूको मान्यता विपरीत भयो भन्ने मलाई लाग्यो । त्यही बेलादेखि अमेरिकी राजनीतिमा मेरो रुचि बढ्यो । त्यहाँका पार्टीहरूका गतिविधि र प्रक्रियाहरूका बारेमा बुझ्न थालेँ । र, डेमोक्रेटिक पार्टीमा सक्रिय हुन थालँे । सन् २००६ देखि सक्रिय रूपमा राजनीतिमा होमिएँ ।
डेमोक्रेटिक पार्टीले गर्ने सबै कार्यक्रममा सहभागी हुन्थेँ । उम्मेदवारहरूलाई सघाउँथे । उनीहरूका कुरा सुन्थेँ । सबैभन्दा पहिला पार्टीको वडा कमिटीमा चुनिएँ, राजनीतिमा मेरो उत्साह पनि बढ्दै गयो । यसरी हरेक कार्यक्रममा जाँदा मलाई चिनिन सजिलो भयो । जुनसुकै कार्यक्रममा पनि गोराहरू मात्रै हुन्थे, म एक्लो कालो । अझ गोराहरूको भीडमा एक्लो कालो । त्यसैले मान्छेहरू मलाई छुट्टै र छिट्टै चिन्थे । यसले पनि मलाई फाइदा नै भयो ।
ओबामाले धन्यवाद दिए
सन् २००७ मा अहिलेका अमेरिकी राष्ट्रपति बाराक ओबामा चुनाव लड्ने भएपछि उनको टिमबाट मलाई फोन आयो सघाउन । उनको चुनाव प्रचारमा पनि म निक्कै खटिएँ । चुनाव प्रचारकालागि सिआटल क्षेत्रको त म क्याप्टेन नै थिए । त्यतिबेला सबैले चिने ।
हामीले सिआटलमा ओबामाको प्रचारप्रसार गर्न कार्यालय नै खोलेका थियौँ । जुन उनको प्रचारका लागि खोलिएको पहिलो कार्यालय पनि थियो । चुनाव प्रचारका क्रममा आउँदा ओबामाले मलाई बधाई नै दिए । ‘निक्कै सहयोग गर्नुभएको छ, कार्यालय नै खोल्नुभयो, धन्यवाद छ’ भने । उनीसँगको भेटले मलाई पनि उत्साही बनायो । चुनावमा धेरै मिहिनेत गरियो, ओबामाको होनहार कार्यकर्ता भएर लागियो र उनले चुनाव पनि जिते ।
ओबामाले सियाटलमा आउँदा ‘मेरो कुराहरू यी–यी हुन्’ भनेर लिखित भाषण छाडेर गए । म त्यही लिएर ठाउँठाउँमा पुग्थेँ र मान्छेहरूलाई त्यो सुनाएर ‘कन्भिन्स’ गराउँथँे ।  त्यसले मलाई पनि चुनावमा कसरी क्याम्पेनिङ गर्ने भनेर आइडिया बढ्यो । ओबामा पुग्न नसकेको ठाउँमा उनको लिखित भाषणलाई म गएर पढ्थेँ, मान्छेहरूलाई सुनाउँथे ।
२०१२ मा ओबामा दोस्रो कार्यकालका लागि उम्मेदवार बन्दा भने मैले उनको प्रचारमा खटिन पाइनँ । किनभने,  म आफ्नो प्रचार– प्रसारमा थिएँ । एउटै पार्टी भए पनि दुवै आ–आफ्नो अभियानमा थियौँ । मेरो क्षेत्रमा आउँदा भेट्न निम्तो गर्नुभएको थियो तर जान पाइनँ । त्यतिबेला मेरो ध्यान जम्मा तीन कुरामा थियो । पहिलो भोट, दोस्रो चुनावका लागि चन्दा संकलन र तेस्रो फ्रि मिडिया । नि:शुल्क मिडिया पाइने ठाउँमा भने म जसरी पनि  पुग्थँे । ओबामालाई भेट्न जानु त्यतिबेला मेरालागि समयको बर्बादी मात्रै हुन्थ्यो ।
कंग्रेसम्यानको उम्मेदवार
मेरो क्षेत्रमा विगत १८ वर्षदेखि कंग्रेसम्यानका रूपमा जे. इन्जिलीले प्रतिनिधित्व गरिरहेकी थिइन् । उनले सन् २०१२ मा गभर्नरमा उम्मेदवारी दिने तयारी गरेकी थिइन् । मैले चाहिँ उनको ठाउँमा कंग्रेसम्यानको उम्मेदवारी दिने सोच बनाएको थिएँ । साथीहरूसित, पार्टीका नेताहरूसित सल्लाह पनि गरिरहेको थिए । नभन्दै २७ जुन २०११ मा इन्जिलीले गभर्नरमा उठ्ने घोषणा गरिन्, त्यही दिन मैले कंग्रेसम्यानमा उम्मेदवारी दिने घोषणा गरिदिए । मेरो उम्मेदवारीलाई त्यहाँको मिडियाले पनि राम्रो कभरेज दियो । एक किसिमको तरंग नै ल्यायो ।
सबै क्षेत्रबाट राम्रो सहयोग पनि पाइयो । पहिलो तीन महिनामै राम्रो फन्ड पनि कलेक्सन भयो । आधा दिन चुनावका लागि फन्ड कलेक्सनमा लागिन्थ्यो, आधा दिन प्रचार–प्रसारमा । राति आफूले उठाउने मुद्दा र सामूहिक छलफलका लागि तयारी गर्थें । यति दौडधुप गरियो कि झन्डै १५ किलो त मेरो वेट नै घट्यो । मेरो क्षेत्रमा किसानहरूदेखि माइक्रोसफ्ट र वोइङ कम्पनीसम्म थिए । उनीहरू सबैका मुद्दाहरूलाई समेटनुपर्ने हुन्थ्यो ।
प्राइमरी इलेक्सनमा म जित्ने पक्का जस्तै पनि थियो । तर, चुनावका लागि पैसा भने कम भइरहेको थियो । अन्तिम समयमा मेरो प्रतिद्वन्द्वी उम्मेदवारले ३ मिलियन डलर खर्च गरेर टेलिभिजनमा विज्ञापन गरिन् । ओलम्पिक चलिरहेका बेला त्यो विज्ञापनले उनलाई धेरै माथि पुर्‍यायो र जितिन् । उनका जसरी पैसा खर्च गर्न पाएको भए मैले नै चुनाव जित्थेँ होला ।
प्रस्तुति : खगेन्द्र पन्त

तपाईको प्रतिक्रिया