जापानमा रेकर्ड भएको साझा सवाल आज प्रसारण हुदैं

समुद्रपारि डट कम  |  2852 Views  |  ३ जुन, २०१२

टोकियो –  जापानमा केही साता अगाडि रेकर्ड गरिएको लोकप्रिय टेलिभिजन कार्यक्रम साझा सवाल आज आइतबार (जुन ३/ जेठ २१ गते) प्रसारण हुदैं छ।

जापानको राजधानी टोकियोमा रेकर्डिङ गरिएको कार्यक्रम आज नेपाली समयअनुसार राति ९ बजे कान्तिपुर टेलिभिजन र बिबिसी नेपाली सेवामा एकसाथ बज्ने प्रस्तोता नारायण श्रेष्ठले जानकारी दिनुभएको हो ।

जापान नेपालीहरुको आकर्षक गन्तव्य भएको र नेपालीहरु १२/१५ लाख रुपैयाँ सम्म तिरेर पनि जापान आउने गरिरहेको सन्दर्भमा जापानमा रहेका नेपालीहरुको अवस्था कस्तो छ भन्ने विषयमा साझा सवालमा बहस भएको थियो।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई, व्यवसायी भवन भट्ट लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, कुक, विद्यार्थी तथा अन्य पेशामा काम गरिरहेका नेपालीहरुको अवस्थाबारे चर्चा गरिएको छ।  जापानमा नै रेकर्ड गरिएका अन्य दुई कार्यक्रम पनि निकट भविष्यमा नै प्रसारण हुने प्रस्तोता श्रेष्ठले जानकारी दिनुभयो।

मुल कार्यक्रम साझा सवाल बाहेक जापानमा रेकर्ड गरिएको जापानका बिभिन्न क्षेत्रका बिशेष ब्यक्तित्वहरुको भलाकुसारीलगायत भूकम्प तथा सुनामी प्रभावित क्षेत्रका सामाग्रीहरु पनि क्रमश: प्रसारण गरिने बताईएको छ ।

बिबिसी नेपाली सेवाको लोकप्रिय टेलिभिजन कार्यक्रम ‘साझा सवाल’ जापानमा रेकर्ड गरिएको पहिलोचोटी हो । नेपाल पत्रकार महासंघ जापान शाखाको सहकार्यमा उक्त साझा सवाल कार्यक्रम जापानमा तयार गरिएको हो ।  ***

 

 

 
 
 
 

प्रतिक्रिया लेख्नुहोस्

(इमेल गोप्य राखिनेछ)

*

नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएका प्रतिक्रिया प्रकाशित गर्न नसकिने जानकारी गराउँदछौँ ।